भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

आँसु / गोपालप्रसाद रिमाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

नभन प्रिया ! यिनलाई पिन्चे आँसुकण
यही मेरो युगयुगको सञ्चित धन
होइनन् यी प्रिय ! विवशताका चिह्न
नैराश्यमा आँसु सुक्छन्, म त उत्साही अविच्छिन्न

म मानव, मानवताको छ सीमा ममाथि
त्यै सीमाको बाहिर पर्छ पूर्णताको मेरो भाग
उरमा प्रतिबिम्बित पारी त्यै पूर्णताको अनुहार
म त्यतैतिर छटपटिँदा भयो यिनको प्रपात

तिमी के भन्ल्यौ के गछर्यौ तिमी
गाँसी यी आँसुको हार
तिम्रो झैँ अनुहारलाई
सुहाउँदैन आँसुको श्रृङ्गार :
म भन्दछु मेरै भए पनि
मेरा निम्ति यी होइनन्
देउतासित भेट भएपछि
उनकै पदमा चढिनेछन्-
अनि कुन्नि यी हुन्छन्-हुन्नन्, तर
अहिले यी मेरा जीवन-लक्षण
कमजोरी चिनेको चिह्न
मेरो गतिको स्पन्दन

नरुझई आँसुले पाए
ताप्न जसले सुन्दर घाम
ती देउता हुन् या ढुङ्गा हुन्
तर-
म, मानव हुँ, म जिउँदो छु
आँसु मेरो प्राण।