भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

उनी कविता जीवनको रङ्गले लेख्छिन् / मनु मन्जिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


उनी अक्षर जान्दिनन्
तर सुन्दर कविताहरू लेख्छिन् ।
सबेरै अँध्यारालाई घरबाट खेदिसक्छिन्
घामले मझेरी र आँगन पोतिसक्छिन्
अँगेनामा न्यानो पोखिसक्छिन्
बिहानै घरभरि बिहान छिरिसक्छ
पूजाकोठामा बलेको धूप
आशीर्वादको महक बोकेर चोटाकोठा पुगिसक्छ
म ब्यूँझदा उनी घरभरि जीवन लेखिसक्छिन् ।

साना छोरीहरूको गालाको गुलाफ उनैले लेखेकी हुन्
कलिला ओठमा तोतेबोली उनैले लेखेकी हुन्
घरको उज्यालो उनैले लेखेकी हुन्
यी भरिभराउ नाङ्ला, डाला, भकारी र गोठ
उनैले लेखेका बिम्बहरू हुन्
करेसाबारीको हरियो गीत उनैको हो
गैरीखेतमा धानका बाला बजाएर
हावाले टिपी उड्ने सङ्गीत उनैको हो ।

यौटा मधुर लय हरदम उनीसितै हिँड्छ
उनीसँगै ब्यूँझेर सरगम घर–आँगन फैलन्छ
उनी झरेका टाँकहरू, फाटेका लुगाहरू प्रेमको धागाले सिउँछिन्
फुर्सत रह्यो कि आँखामा फूलझैँ सुहाउने सपनाहरू बुन्छिन्
मनजस्तै उडिरहेका परेवालाई चारो छरेर आँगनमा ओराल्छिन्
उनी नै हुन् जो रहरहरूलाई आशीर्वाद खुवाएर पाल्छिन् ।

मेरो यो सानो संसार लेख्ने उनी नै हुन्
जीवनको रङले कविता लेख्ने उनी नै हुन्
मेरो यो ओज, मेरो अनुहारको आभा लेख्ने पनि उनी नै हुन्
र नबिर्सी हरदिन एक पङ्क्ति म ज्यूँदो रहेको कुरा
गुराँसले सिउँदामा लेख्ने पनि उनी नै हुन् ।