भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

कलम रोक ? / विजय मल्ल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


युगको भावना मार्न चाहने
ए हत्यारा !
तिमी मलाई भन्छौ, ‘कलम रोक!’
म सोच्छु
यो पहाडलाई, यो नदी नालालाई
यो खेतलाई, यो हरियाली बगैंचालाई
यो सुन्दर सुन्दर –
हावामा नाचिरहने, हावामा उडिरहने
हावामा बोलिरहने
धानको चालालाई
किन मसान बनाउँदैनौ ?
किन मसानको आगोले भस्म गर्दैनौ ?
यदि कोही भोका भोकले चिच्याउँछ भने
त्यसको पेटमा विषको छुरी किन रोप्तैनौ ?
यदि शिशु दूधको मुन्टा खोज्दै
मरेकी आमालाई चुस्तै कहालिन्छ भने
घाँटी अँठयाएर त्यसको प्राण किन छिन्दैनौ ?
तर तिमी मलाई भन्छौ –
कलम रोक ?
ए हत्यारा !
फेरि म सोच्छु ---
त्यो मुखबाएर, हात फैलाएर
भ्रम गर्ने, मौका नपाएर,
भविष्यको सुन्दर सपना देख्न खोज्छ भने
त्यसको आँखाको गेडीलाई
त्रिशूलले किन घोच्दैनौ ?
किन झिक्तैनौ
त्यो नग्न कङ्कालमा
त्यो टेढो थोङ्ने मानवमा
तिम्रो विरोधको आगो झल्कन शक्छ भने
ए बलिष्ट !
एकै घुस्साले त्यसको मिति किन पुग्याउँदैनौ ?
तर तिमी मलाई भन्छौ –
कलम रोक !
ए हत्यारा !
तिम्रो द्रोहमा जहाँ जहाँ रुख उम्रन्छ,
त्यो जङ्गलमा डढेलो किन लाउँदैनौ ?
गरीबको छातीमा असन्तोषको ज्वाला जल्छ भने
‘दानवताको भावना उर्लन्छ भने
तिम्रो ठूला ठूला यन्त्रहरुलाई हत्याउन खोज्छ भने
ए बलवान !
ए पराक्रमी !
सम्पूर्ण संसारलाई नै किन ध्वंस गर्दैनौ ?
सम्पूर्ण विश्वलाई नै किन चकनाचूर पार्दैनौ ?
तै पनि तिमी मलाई भन्छौ –
कलम रोक ?

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)