भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

कवि भावुक हुन्छ / कुन्ता शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कवि अँध्यारो बस्तीमा पुग्छ
कङ्कालजस्ता अर्धनग्न केटाकेटीहरू
ताली बजाउँदै उसको स्वागतमा उभिन्छन्
आकर्षक वेशभूषामा सुसज्जित
हृष्टपुष्ट कवि द्रवित बन्छ
अनि पौष्टिक भोजनको बारेमा प्रकाश पार्छ
कवि सुन्दर कविता बाँच्छ ।
 
कवि नाङ्गा झुपडीहरूमा पुग्छ
चुलो धुवाँएकै हुँदैन
बालकहरूले जाउलो खाएकै हुँदैन
शब्दको चाबुक उठाउँदै
कवि भावुक हुन्छ
सुकुमार शरीर कम्पित गर्दै
ठूलो स्वरले कराउँदै
धारे हात पार्दै
कवि भोकको विरोधमा कविता बाँच्छ।

कवि रोगीहरूको नजिक पुग्छ
चहराइरहेको घाउ र पीडाको
अभिव्यक्तिमा व्यथित बन्छ
शब्दले नै सुम्सुम्याउँछ घाउहरू
कविताकै मल्हम लगाउन खोज्छ
आफनो सुन्दर शिल्पको प्रशंसा नपाउँदा
दुर्गन्धले अति सताउँदा
कवि दिक्क हुन्छ
मानिसहरू अशिक्षित हुनुसँग बैरागिँदै
आफू असमयमा जन्मेकामा पछुताउँदै
कवि घर फर्कन्छ

कवि दिनभरि महिला–मुक्तिको भाषण गर्छ
ताली बटुल्छ, प्रशंसा लुट्छ
घर फर्केपछि
कामको थकानले किक्रिक्क परेकी
सन्तान–यन्त्र झर्केपछि
स्वादिष्ट व्यञ्जनरहित थाल देख्छ
समानताको सन्देश बिर्सन्छ
स्वप्नलोकबाट तलतिर झर्छ
कविपत्नीको जगल्टा छर्छ ।

समस्या एकातिर कुर्लन्छ
निरीह मानिस व्यथित बनेर रून्छ
कवि मौन बस्छ
थकित हुँदै पलेटी कस्छ
कवि व्यवधानरहित बाटो खोज्छ
स्वार्थको सिँढी उभ्याउँछ
विचारलाई अचार बनाउँछ
फुँकार गर्छ अनि
कवि कविता लेख्छ ।

कवि क्रान्तिको कविता लेख्छ
शब्द–शब्दका बारूद ओछ्याउँछ
वाक्यहरूको बम पड्काउँछ
जब परिवर्तनको आँधी चल्छ
घर–घरका ढोकाहरू खुल्छन्
सडक मानिसको समुद्र बन्छ
कवि आत्मरक्षाका लागि तर्सन्छ
कुदेर कोठाभित्र पस्छ
पत्नीलाई आलिङ्गनमा कस्छ
हत्पताउँदै ढोका थुन्छ
कलम झिक्छ
कवि जनताको जयगान लेख्छ
कवि कविता लेख्छ ।

बन्दुक समात्ने हात गल्छ
निरङ्कुशता ढल्छ
सडकमा हर्षको लहर चल्छ
कवि ढोका खोल्छ
बाहिर निस्कन्छ,
भीडमा मिसिन्छ, मुट्ठी कस्छ
सबभन्दा अगाडि बस्छ
उफ्रन्छ, कराउँछ
चर्का–चर्का नारा लाउँछ
कवि साहसको गीत गाउँछघाँटीभरि विजयमाला पाउँछ
कवि कविता लेख्छ