भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

गजल / मोतिराम भट्ट

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


दिनको पचास त के हजार पटक कती समझाउनु ।
म गरीबका घरमा हरे तिमिले यसोरि न आउनू ।।

रिसमा थियौ कि खुशी थियौ मत केही जान्दिन के थियौ ।
कि यसो थियौ कि उसो थियौ मनमा कसोरि बुझाउनू ।।

न त आ भनुँ न त जा भनुँ म यसो भनूँ कि उसो भनूँ ।
तिनीको मिजाज म के भनु कतिसम्म विन्ति चढाउनू ।।

वय सोर्हजको मन साठ्ठीको छ र पो गजब जति प्यारिको ।
मुखको रबाबछ चन्द्रको ननिको छ मिस्सि लगाउनु ।।

मनसुव पुग्नु परै रहोस् दरसन पनि छ कठिनजहाँ ।
अब बाँचन्याछु मता कहाँ तिनीलाई यति सुनाउनु ।।

तिमिबिर्सिहाल त क्यै जनी म त सम्झदो छु अझै पनि ।
मुख भित्र पान चपाउनु अलि हाँसि हाँसि हँसाउनु ।।

मणि हो भनूँ त न झल्कने बिजुली भनूँ त न चम्कने ।
अइना भनूँ त न टल्कन् उपमा कसोरी जुराउनू ।।

तिमी पख भनी भनी कन जानु फेरी नआउनू ।
खपि सक्नु छैन मलाइ ता तिमीले यसोरि छकाउनु ।।

सुन है सबै हरिको हुकुम भनुकि भनूँ जुलम ।
अघि जो भयो उत भै गयो तर फेरी मोति नलाउनू ।।


(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)