भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

गाऊले एक बालक सम्झेर / मनु मन्जिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म चाहन्छु–
भेटिँदा बालकसँगै भेटियोस् मुस्कान
भेटिँदा फूलसँगै भेटियोस् वसन्त
मानौँ सोधियो कि उसका बाबु कहाँ छन्
बालकले सानो औँलाले देखाओस्
चौताराभरि बसेर हाँसिरहेका मानिस
र भनोस् त्यहाँको यौटा हाँसो उसको घरको हो ।
मानौँ सोधियो कि उसकी आमा कहाँ छिन्
बालकले सानो औँलाले देखाओस्
पाखाभरिको गुराँस
र भनोस् त्यहाँको यौटा रङ उसको आफ्नो हो ।

बरु भनोस् कि उसका बाबु मरुभूमिबाट बर्सेनि
चिट्ठी लेख्छन्
अथवा भनोस् आमा सहरमा साग बेच्छिन्
र हरेक महिना उसको स्कुल जाने बाटो किन्छिन् ।
बरु भनोस् उसको बाबु जुवाघरबाट
फर्कनेछ भोलि र ल्याउनेछ सहरबाट पोहोरको झैँ अर्को
रमाइलो पुस्तक
वा भनोस् उसकी आमा घर फिर्छे हरेक बिहान
र उसका लागि यौटा घाम लिएर आउँछे ।
उसले औँलाले देखाओस् नाम नजानेको देश वा प्रदेश
बाबु­आमाको ठेगाना सोध्दा
वा देखाओस् करेसाबारी, खेत, खलिहान
भेडीखर्क, नागी, गौचरन वा साहुकै आँगन

तर कसै गरी बिन्ती ! बालकले
नदेखाओस् आफ्नै आँखाको आँसु
नदेखाओस् औँलाले टाढाको रित्तो क्षितिज
वा भर्खरै जून अस्ताएको डाँडो
बाबूआमाको ठेगाना भनेर।