भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

घाइते भूमिका नानीहरूलाई / कुन्ता शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


छोराहरू, छोरीहरू
रामबहादुर हरिमायाहरू
ज्लाताहरू
र अन्य धेरैधेरै नानीहरू
युद्धग्रस्त भूमि तिमीहरूको
क्षतविक्षत भएको
सपना तिमीहरूको
दिनदिनै पड्कने बमका गोलाहरू
दिनदिनै उड्ने बारूदका धुवाँहरू
युद्धको विभीषिका
भोगिरहेको सानो मुटु तिमीहरूको ।

तिम्रो हाँसो
र नृत्यले रमाउनुपर्ने आँगन
कोलाहल र आतङ्कले छोपेको छ
तिम्रा चपल पैतालाहरूले
प्रफुल्लित हुनुपर्ने भूमि
भयभीत भएको छ,
रक्ताम्य भएको छ
त्यहाँ आगो सल्किएको छ युद्धको
र भूमि घाइते भएको छ
त्यहाँ दुन्दुभि बजेको छ युद्धको
र जीवन आहत बनेको छ ।

युद्धले सल्काइरहेछ
गाउँहरू, सहरहरू
युद्धले भत्काइरहेछ
सपनाहरू, रहरहरू
डढेलो दन्कदै जाँदै छ
आगो फैलँदै जाँदै छ
मुटु सल्कँदै छ,
जीवन भत्कँदै छ ।

इतिहासमा यस्ता असङ्ख्य
अनर्थहरू भएका छन्
युद्धको आगोले हिंसाको लप्काले
कति हो कति जीवन
व्यर्थ गएका छन्
कहिल्यै ढलेन
यो कुरूप युद्धवृक्ष
समयक्रममा
झन्–झन् मौलाउँदै गयो
अझ धेरै झ्याङ्गिँदै गयो
सर्वत्र छरिएछन् बीउहरू यसका
जताततै अङ्कुराउँदै गयो,
फस्टाउँदै गयो ।

यी भुराहरू,
यी युद्धसरदारहरू
मानवताको विरूद्ध खनिएका
यी दानवहरू
नानीहरूको मुहारको हाँसो
खोसिरहेका छन्
नानीहरूको चपल चञ्चलता
खोसिरहेका छन्
श्मशान बनाउन चाहन्छन्
धरतीलाई यिनीहरू
मानिसको चिहानमा
साम्राज्य उभ्याउन चाहन्छन् यिनीहरू
कोलाहलको रचना गर्दै
शान्तिगीत गाउँछन् यिनीहरू
फर्कँदैनन् नानीहरूका लागि
दूध र रोटी खोज्न गएकाहरू बाबाहरू
हताहत गरिन्छन्
औषधि किन्न गएका आमाहरू
बिक्रीकेन्द्रहरूमा, चिकित्सालयहरूमा
बाटाहरूमा, दोबाटाहरूमा, घुम्तीहरूमा ।

नानीहरू
म तिमीहरूका निश्छल आँखाहरूबाट
हेरिरहेछु युद्ध सरायेभोको,
युद्ध नामिबियाको
युद्ध सोमालियाको,
युद्ध अफगानिस्तानको
युद्ध इरान अनि इराकको
अरू पनि कति हो कति युद्धले
भताभुङ्ग भएका सहरहरूको
लथालिङ्ग भएका रहरहरूको
विध्वंसहरूको, कोलाहलहरूको
अनि भोगिरहेछु मरणान्त हुँदै
तिम्रो मर्मस्थलका पीडाहरूको
तिम्रो छातीमा उठेका शूलहरूको
लाग्छ म क्षतविक्षत छाती हुँ
युद्धग्रस्त क्षेत्रहरूको
हरेक क्षण प्रत्यक पल निस्कने
दीर्घ निःश्वासहरूको, चिसा उच्छ्वासहरूको ।
 
माफ गर्न योग्य छैनन्
यी युद्धपिपासुहरू
निन्दाको अग्लो पहाडले
किचिन योग्य छन् यिनीहरू
यी दुष्टहरू, यी ब्वाँसाहरू
यी छलीहरू, यी अधमहरू
जसले तिम्रो अमनचैन खोसे
जसले तिम्रो बाल्यकाल र बालसखा खोसे
जसले आमाहरूका काखका नानीहरू खोसे
जसले नानीहरूका न्याना काखहरू खोसे
जसले बुबाका मीठा स्पर्शहरू खोसे
जसले नानीहरूका मनमा
दुःखका सुस्केराहरू छरे
पीडाका सागरहरू भरे
ती पतनका खाडलहरूमा जाकिन योग्य छन्
ती निन्दाका आहालहरूमा अवश्यमेव डुब्नेछन् ।

नानीहरू तिम्रा अश्रुयुक्त आँखाहरू
भोगिरहेका छन् बारूदका धुवाँहरू
त्रसित मनले सुनिरहेका छन्
विस्फोटनका गर्जनहरू
कोलाहलहरू, चित्कारहरू
नानीहरूका ओठहरूमा फुल्नुपर्ने
फूलजस्तो हाँसोका खित्काहरू
नानीहरूका मनहरूमा खेल्नुपर्ने
जूनजस्ता शीतल सपनाहरूमा
आगो सल्किएको छ
डढेलो कुदेको छ
अग्निकुण्ड बनेको छ भूमि र
पिल्सिरहेका छन्
घाइते भूमिका सन्ततिहरू ।

उहिले पहिल्यै
ढले तापनि
मरे तापनि युद्धवृक्ष
तर झारेछ यसले
कति हो कति बीउहरू
तर उमारेछ यसले
कति हो कति बिरूवाहरू
कुनै दिन युद्धका बादलहरूले
छोपिन सक्छ यो धर्ती
रक्ताम्य हुन सक्छ
आहत हुन सक्छ यो धर्ती ।

युद्धहरू हुँदैनन् आफैँ–आफैँ
युद्धहरूको संरचना गरिन्छ
आत्मसम्मानमा प्रहार गरिन्छ,
थिचोमिचो गरिन्छ
युद्धका लागि तम्तयार गरिन्छ
पोलिन्छ, पिल्साइन्छ
अन्यायका र अत्याचारका भट्टीहरूमा
अनि युद्धको श्रीगणेश गरिन्छ
नचाहँदा नचाहँदै पनि धकेलिन्छ युद्धमा
मानिस बाध्य पारिन्छ युद्ध लड्न ।

युद्धसरदारहरू
उखेल्ने निहुँमा अविरल रोप्तै छन्
युद्धका बीउहरू
गोडमेल गर्दै छन्, उकेरा लगाउँदै छन्
युद्धवृक्षहरूलाई
भुइँमा बनेका पर्खाल लडाएर के हुन्छ
जब मन–मनमा उभ्याइन्छन् भने
हिंसा, द्वेष र क्रूरताका पर्खालहरू ।

नानीहरूका मनमा विद्रोह बलिरहेछ
राँकोजस्तो दन्किएर
नानीहरूको छातीमा प्रतिशोध उम्लिरहेछ
ज्वालामुखीजस्तो भएर
तिनीहरूका ओठहरूमा फुल्नुपर्ने फूलजस्ता
हाँसोका खित्काहरू
तिनीहरूको मनको आँगनमा खेल्नुपर्ने
कोमल वसन्ती सपनाहरू
आगो सल्किएको छ, डढेलो कुदेको छ
अग्निकुण्ड बनेको छ भूमि
अनि आहत बनेका छन्
घाइते भूमिका सन्ततिहरू ।

भयभीत भयभीत छु म
नानीहरूको हातमा
कलमको ठाउँ बन्दुकले लिन सक्छ
कूची रङहरूमा होइन
रगतमा चोपिन सक्छ
कोमल सन्ततिका सपनाहरू
युद्धको धुवाँले रङ्गिन सक्छ
फूलजस्ता खुसीहरू
युद्धको भुङ्ग्रामा पोलिन सक्छ ।

कामना गर्दछु
मुटु बलियो बनाएर
चुनौतीहरूको सामना गर्दै
राष्ट्रको रक्षार्थ
इस्पातजस्तो भएर
उभिऊन् घाइते भूमिका नानीहरू
आवश्यकता परे युद्धको जवाफ
युद्धले नै दिन सक्षम र सबल होऊन्
वीर र वीरङ्नाहरूको
ओजपूर्ण इतिहास रच्न तयार होऊन्
निराश नहोऊन्, कमजोर नबनून्
यी घाइते भूमिका नानीहरू ।