भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

चिहाउँछन्‌ किताबहरू / गुलजार / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

किताबहरू चिहाउँछन्‌ बन्द दराजका शिशा पारीबाट
बडो उत्कण्ठाका साथ हेर्छन्‌।
अचेल महिनौँसम्म कुराकानी हुँदैन।
तिनीहरूसँगको सहवासमा कट्ने साँझहरू
कम्प्यूटरका स्क्रिनमा बित्दछन्‌ धेरजसो अचेल।
छट्पटिरहन्छन्‌ किताबहरू।
हिजोआज तिनलाई निद्रामा हिँड्ने बानी लागेको छ।
 
तिनले सुनाउने गरेका गजलका पछ्यौरा कहिल्यै खुस्कँदैन थिए
तिनले चिनाउने गरेका सबै नाताहरू अहिले धुजाधुजा भएका छन्‌
सुस्केरा निस्कन्छ पन्ना पल्टाउने बित्तिकै
झरेर बिलाइसके कयौँ शब्दका अर्थहरू
पात बिनाका सुकेका ठुटाझैँ देखिन्छन् सबै अक्षरहरू
कुनै अर्थ पलाउन सक्दैनन् तिनमा अब।
 
स्वाद आउँथ्यो पन्ना पल्टाउँदा जिब्रोमा
अचेल केवल एकपल्ट आँखा झिम्कन्छन्‌ औँला क्लिक गर्दा
तहतह खुल्दै जान्छन्‌ धेरै चिजहरू स्क्रिनमै
चुँडिएझैँ भएको छ किताबसँगको आत्मियता।
कहिले छातीमा राखेर ढल्किइन्थ्यो
कहिले काखमा बोकिन्थ्यो।
आफ्ना घुँडाको टेको लगाएर
ढोग्दै, उँग्दै पढिन्थ्यो
छोइन्थ्यो निधारले कहिले।
 
पाई नै रहिनेछ
यावत ती ज्ञान त अझै पनि।
तर ती किताबहरूमा भेटिने
सुकेका फूल र मगमगाउँदा चिरकटाहरू

किताब माग्ने, हातबाट झर्ने र तिनलाई उठाउने निहूँमा
बन्ने गर्दथे जुन सम्बन्धहरू
ती अब के हुन्छन्‌...!