भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

जीवन-जुवा / चक्रपाणि चालिसे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

लामो खाल, विशाल विश्व छ, खुला खानी खजाना अरु
विद्ध्या खेति किसानि कौशल कला वाणिज्य धन्दाहरु ।।
थापिन्छन जितहार हुन्छ यिनमा जित्नेहरु हाँस्तछन्
हार्ने छाति पिटेर रुन्छ बिचका टोलाउँदै हेर्दछन् ।।१।।

पन्जा कोही जमाउँछन् कति तिया पारी मजा लुट्तछन्
चोकैमा कति मस्तछन् अझ कुनै छक्का छ की आफुछन् ।।
च्याँखेकै घत लाग्छ खूब कहिले खालेहरु टाट भै
खौलिन्छन् कतिसम्म उठ्न नसकी बुड्छन् विपत्ता हुँदै ।।२।।

खाले नै कहिले जमेर उनको लुटछन् तंडीतुम्बडी
मार्छन् कै थपडी जुधेर उनको निस्कन्छ आन्द्रा भुँडी ।।
आशाको शतरंजिमा नसिवका पासाहरु बेसरी
लड्छन् ढुन्मुनिएर अम्मलिसरी घोप्टो र ठाडो परी ।।३।।

गिन्ती छैन अपार हार जितको टुट्टा नफा के भयो
ख्यालै छैन न यादनै छ दिन हो या रात हो साँझ हो ।।
खेलाडीहरु खेलमा हरघडी छन् मस्त धर्ना कसी
खेल्दो छु म पनी बडो यति बनी यै खालमा नै बसी ।।४।।

लाग्ला दाउ अवश्यमेव कहिले भन्न् भरोसा धरी
खेले यो विषयप्रपंचक जुवा प्यारो हुनाले गरी
खेलेको कति वर्ष भो तर पनी अएन पालो हरे !
कस्तो खेलमहाँ फसेंछु नबुझी मैले अहो ! के गरेँ ।।५।।

भन्ने ताप पनी हुँदोछ तर हा छुट्तैन लाग्यो लत
उम्की सक्नु कसै भएन यसले मेरो लियो हुर्मत ।।
हेर्छू कोही सहाय मिल्छ कि भनी सर्वत्र संसारमा
कोही देख्तिनँ जोगि भोगि सब ती छन् मस्त यै खेलमा ।।६।।

यस्तो अद्भुत दिव्य जीवनजुवा जारी छ सारा दिन
कैल्है बन्द हुँदैन खेल्छ दुनियाँ कत्ती नथाकीकन ।।
यो मागी पनि फेरी ती अरु जुवा फर्मायसी फुक्तछन्
बर्सिन्छन् उसमा असर्फि रुपियाँ कौडी सरी जुटतछन् ।।७।।

देख्ता लाग्छ अचम्म भारी मनमा कर्तव्य के हो भनी
घोरिन्छू तर हा !! उपाय रसिलो सुझ्दैन केही पनि
तस्मात् दिक्क भएर भन्छु सबमा यस्तो जुवाडे लग
लाग्नेले मनमा विचारि बहुतं हेरुन् नहार्ने घत ।।८।।

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)