भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

डढेलो / कुन्ता शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


ज्वालाहरू उठेर माथि–माथि
चिटचिटाइरहेका असङ्ख्य झिल्काहरू
ह्वाइँ–ह्वाइँ गुन्जिएको भयावहता
विनाशको नगरा बजाउँदै
सल्काउँदै सल्किँदै ज्वाला उराल्दै
डढेलो कुदिरहेछ यत्रतत्र सर्वत्र ।

बीजारोपण सूक्ष्मतर झिल्काबाट हुनेगर्छ
जहिले पनि डढेलाको
फालीजस्तो भएर निस्कन्छ निस्के तापनि
सुरूवात सियोजस्तो भएर हुने गर्छ
जहिले पनि डढेलाको
सुन्दर वन–उपवनहरू स्वाहा पार्छ
प्रसन्नताले पुलकित मनहरू स्वाहा पार्छ
डढेलो चिन्दैन अमूल्य कलाकृतिहरू
कोमल सन्ततिहरू, ऊर्जायुक्त पाखुरीहरू
डढेलो केही जान्दैन
आफ्नो र बिरानो चिन्दैन
सबै–सबै सल्काएर,
खरानी बनाउँदै मिल्काएर
अन्धो हात्तीजस्तो
जथाभावी टेकेर डुलिरहन्छ डढेलो ।

सृष्टिको सुरूआतदेखि नै
डढेलोबाट आक्रान्त छ विश्व
घरी यता घरी उता सल्कँदा
पिल्सिनुको छटपटीले अशान्त छ विश्व
मुटुहरूमा गाँठो पार्दै, भक्कानो फुटाउँदै
समाप्त पार्दै ऊर्जा–भण्डारहरू
बहुला कुकुरझैँ
विवेकशून्य भएर दौडिरहन्छ डढेलो ।

कुनै दिन डढेलो दन्केर
खरानीको थुप्रो हुने हो कि यो सृष्टि
मानवशून्य निर्जन हुने हो कि यो धरती
निमिट्यान्न हुने हुन् कि मानवका
कठिन त्यागतपस्याका उपलब्धिहरू
बलिदान र उत्सर्गका अध्यायहरू
सबैसबै हराउने हुन् कि
वीभत्स पैतालाहरूले डढेलोको
केही नराखी डढाउने हुन् कि ?
खोइ कहिले नाश हुन्छ यो डढेलो ?
कसरी कुन समयमा
परैदेखि उपहास हुन्छ यो डढेलो ?
डढेलो नजिक हुनुको त्रासदीले छोप्तै छ
हिजोआज मलाई पनि
रापले पिल्सिनुको भयानुभूतिले पोल्दै छ
हिजोआज मलाई पनि ।