भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

तपस्वी / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


त्यसो त एक्लो बसेर पनि
कहिल्यै एक्लो हुँदैन मान्छे

वरिपरि हुन्छन् सुनौला सम्झनाहरू
बतासको कानेखुशीमा
बजिरहन्छ कुनै अलौकिक धुन,
र चलिरहन्छ विचारहरूको ओहोरदोहोर एकान्तमा

वर्षौदैखि म छु यो पहाडको खोचमा
यिनै दृश्यहरु हुन् मेरा एकान्तका मित्रहरु
यो कुल्कुल् बग्ने खोली र उसको आध्यात्मिक प्रवचन
यो ध्यान मुद्रामा बसेको बूढो पहाड र उसको अलिखित दर्शन
डाडाकाँडा छलाङ मार्दै हिँड्नै रापिलो सूर्य
र उसका शान्त गोधूलीहरु –यी सबको बीचमा
कुनै तेजिलो चक्रजस्तो भएर घुमिरहन्छन् प्रश्नहरू

के हो जीवन बाँच्नुको सार्थकता ?
कस्तो हुन्छ सम्बन्ध शरीर र आत्माको ?
प्रकृति र जीवनको ?
ईश्वर र मान्छेको ??

म बनाउछु तेलचित्र करुणा, प्रेम र अहिंसाको
र टाँगिदिन्छु यी कुटीका भित्ताहरुमा
टाढाबाट आएका गाउँलेहरू जब ओठमा सिउरेर खुशी
लाग्छन् उकालो
म देख्छु मेरो परमपिता मुस्कुराएको

म मुक्ति खोज्छु कामनाहरूबाट
जाग्रत, स्वप्न वा सुषुप्त जे हुँ म
ओढिरहन्छु बैजनी बर्को वैराग्यको

रूखमा पात हल्लिरहन्छ
खोलामा पानी बगिरहन्छ
भईरहन्छ साँझ बिहान ,घुमिरहन्छ ऋतु परिवर्तन
फेरिन्छ समय पलपलमा
तर स्थितप्रज्ञ म निरन्तर डुबिरहन्छु
उज्याला किरणहरूको पोखरीमा
निरन्तर .......................!