भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

तिम्रो र मेरो संसार / कुन्ता शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म मुक्त आकाशमा उड्दै छु
तिमी सुविधायुक्त पिँजडामा बन्द छौ
तिमीले डन्डीका कापहरूबाट
हेर्ने गरेको सानो संसार
मेरा पखेटाहरूले उन्मुक्त उड्दै
छाम्ने गरेको सङ्घर्षको धार
अनन्त उज्यालो आकाश
आऊ हाम्रा सन्ततिहरूलाई
सुनाऔँ आफ्ना–आफ्ना अनुभवहरू
फिँजाऔँ हामीले कमाएका वैभवहरू ।

तिमीले खेप्यौ या खेपिनौ
यन्त्रणाका जँघारहरू
भोगे वा भोगेनन्
तिम्रा फूलजस्ता पाउहरूले
कष्टका सँघारहरू
सुनको पिँजडाभित्रको
तिम्रो सुनौलो संसार
चहकिलो, आकर्षक
र रोमाञ्चक हुन सक्छ
आँधीका तीव्रतम हुँकारहरूको
के अनुभव तिमीलाई ?

सुनको सुन्दर पिँजडाबाट
तिमीले चिहाउने गरेको आकाश निर्विघ्न र विनोदयुक्त हुन सक्छ
आँधीको तीव्रतम झोक्काहरूको
के अनुभव तिमीलाई
दुइटै पखेटाहरू फिँजाएर उड्दा
उन्मुक्त आकाशमा
मृत्युले पछ्याएको पनि त हुन सक्छ
कुटिल हत्केलाहरूले पथहरूमा
षड्यन्त्रको जालो
ओछ्याएको पनि त हुन सक्छ
हामीले जेजे रोज्यौँ अनि जेजे भोग्यौँ
आऊ सुनाऔँ आफ्ना अनुभवहरू
फि“जाऔँ हामीले कमाएका वैभवहरू ।

पिँजडाको सुन्दरताको वर्णन गर्ने
तिम्रो मोहक शैली
मुक्त आकाशको विशालता बारेको
मेरो विराट् अनुभूति
अङ्कित गरौँ समयका सर्गहरूमा
लिपिबद्ध गरौँ युगका अध्यायहरूमा
हामीले जे–जे रोज्यौँ
अनि जे–जे भोग्यौँ
आऊ सुनाऔँ हामी
आफ्ना–आफ्ना अनुभवहरू
फिजाउँ हामीले कमाएका वैभवहरू ।

उड्ने आकाङ्क्षारत हुँदा खुल्ला आकाशमा
आँधीका कति हो कति व्यूह फोरेको छु मैले
पिएर तीता घुड्काहरू विश्वासघातका
अदम्य साहसका कति हो कति
चित्रहरू कोरेको छु मैले
म जस्ता–जस्ता बाटाहरूमा हिँडेँ
ती सुन्दै त्रासले भयकम्पित हुन सक्छ्यौ तिमी
म जस्ता–जस्ता कपटहरूसँग भिडेँ
ती सुन्दै मात्र पनि
सर्मले रातापिरो हुन सक्छ्यौ तिमी
अपमानले लज्जित हुन सक्छ्यौ तिमी
त्यसैले तिमी तिम्रो मोहक संसारको वर्णन गर
म सङ्घर्षका धारहरूको वर्णन गर्छु
आऊ सुनाऔँ हामी हाम्रा सन्ततिहरूलाई
आफ्ना–आफ्ना अनुभवहरू
फिजाऔँ हामीले कमाएका वैभवहरू ।

ए कुलीन कोमलाङ्गी
सहन गर्न सक्छन् वा
सक्तैनन् तिम्रा आँखाहरूले
काँडाघारीका यात्राहरूले
रक्ताम्य पारेका मेरा घाउहरू
असहज र असुरक्षित परिवेशको भोगाइले
छियाछिया हुन पुगेका मेरा पाउहरू
तरङ्गित हुँदै जाँदा
मेरा ऊहापोहहरू, मेरा मौन चित्कारहरू
सक्षम हुन्छन् वा हुँदैनन्
सहन गर्न तिम्रा श्रवणयन्त्रहरू
हेर्दै त्रसित हुन सक्छ्यौ तिमी
मेरो मनभित्र र बाहिर
लागेका असह्य चोटहरू
त्यसैले ए सुन्दरी तिमी तिम्रै
सुन्दर संसारको वर्णन गर
म सङ्घर्षका धारहरूको वर्णन गर्छु
आऊ हामी समयको सँघारमा बसेर
युगको बिहारमा पलेटी कसेर
सुनाऔँ आफ्ना–आफ्ना अनुभवहरू
फिजाऔँ हामीले कमाएका वैभवहरू ।

तिम्रा अघिपछिका पथप्रर्दशकहरू
तिम्रो जीवनमार्गका निर्देशकहरू
स्वतन्त्र छैनन्
तिम्रा ध्वनियन्त्रहरू प्रवाहित गर्न
तिम्रा चाहनाअनुसारका
शब्द अनि वाक्यपुञ्जहरू
तिमीले चाल्नुपर्ने पाइला
कहाँ पर्नुपर्ने हो,
कसरी पर्नुपर्ने हो
तिमीले बोल्नुपर्ने बोली
कहाँ झर्नुपर्ने हो
कसरी झर्नुपर्ने हो
सबै–सबै निर्देशित हुन्छन्
निश्चित नियम–तालिकाभित्र
त्यसैले ए सुन्दरी
रेशमी बन्धनहरूमा सज्जित भएकी
ए सुकोमल–वन्दिनी
रथहरूमा बाँधिएकी ए पट्ठी घोडी
के तुलना तिम्रो साँघुरो परिवेश र
मेरो मुक्त देशको ।

अब तिमी मेरो बारेमा सुन
यो सीमाहीन स्वतन्त्र आकाशमा
धरतीको ओल्लो छेउदेखि पल्लो किनारासम्म
फि“जाएर दुइटै पखेटाहरू
म आफूले चाहेसम्म ऊर्जाले भ्याएसम्म
स्वाधीनतापूर्वक हावासँग कावा खाँदै
गोता मार्न सक्छु
छाम्न सक्छु आकाशको विराट् विस्तारलाई
जहिलेसम्म सफल हुनेछन् मेरा पखेटाहरू
आँधीका व्यूहहरू छिचल्न
थाकेपछि मेरा पखेटाहरू,
आफ्ना सोचाइअनुसारका हाँगाहरूमा
आफ्ना रोजाइअनुसारका बिसाउनीहरूमा
आत्मगौरवका विशाल वृक्षहरूमा
स्वतन्त्र उक्लन सक्छु
स्वतन्त्र ओर्लन सक्छु
के तुलना तिम्रो साँघुरो परिवेश र
मेरो मुक्त देशको
हो नितान्त बेग्लाबेग्लै छन्
हाम्रा सपनाका संसारहरू
छैन कतै कुनै सामञ्जस्य
तिम्रो र मेरो संसारको ।

अतः क्षितिजका नीला अँगालाहरूदेखि
धर्तीका फराकिला पाटाहरूसम्ममा
छैनन् पालना गर्नुपर्ने
निरङ्कुश निर्देशन यन्त्र मेरा लागि
म निर्धक्क उभिएकी छु
युगको दस्तावेज निर्माण गर्ने
निर्माताहरूको पङ्क्तिमा
म साहसपूर्वक अघि बढेकी छु
समयको धुकधुकी छाम्ने
साहसीहरूको लाममा
साँच्चै नै स्थापित कुरूपता फेर्नका लागि
एउटा नयाँ मूल्य स्थापित गर्नका लागि
कतिपय जीवन बलि चढ्नुपर्छ
एउटा अक्करमा बाटो खन्नका लागि
कतिपय वीरहरूले जीवन उत्सर्ग गर्नुपर्छ ।
त्यसैले आऊ ए सुन्दरी
के रोज्लान् कुन्नि हाम्रा सन्ततिहरूले
भयमुक्त, सुविधायुक्त सुनको पिँजडा
या अन्तहीन विराट आकाश
सुनाऔँ हाम्रा अनुभवहरू
फिजाऔँ हामीले कमाएका वैभवहरू ।

सुन ए सुन्दरी
स्वतन्त्रताको स्वादै अर्को हुन्छ
अन्धकारको गहिरो कुवाबाट निस्किएर
उज्यालो प्राङ्गणमा आइपुग्दा
आँखै तिरमिराउन सक्छ
तर उज्यालाको अनुभव अर्कै हुन्छ
ए सुन्दरी शिर निहुराएर भित्रभित्रै छटपटाएर
सुखसयलमा लिप्त हुनु अर्कै कुरा हो
काँडाहरूमा हिँड्नु परे पनि आत्मसम्मानले
हिमालजस्तो शिर गरेर बाँच्नु अर्कै कुरा हो
जे होस् निष्ठूर व्याधाहरूबाट
गहिरो चोट खाए पनि
सम्पूर्ण शरीर थङथिलो र रक्ताम्य भए पनि
हरेस खाएर मृतवत् छैन म
बारम्बार प्वाँख फडफडाउने आकाङ्क्षा
फेरि पनि आकाशको
अतल गहिराइ छाम्दै उड्ने चाहना
मभित्र बाँचिरहेको छ
त्यसैले के तुलना तिम्रो साँघुरो परिवेश
र मेरो मुक्त देशको ?
आऊ सुनाऔँ हाम्रा अनुभवहरू
फिजाऔँ हामीले कमाएका वैभवहरू ।

सुन सुन्दरी
निरङ्कुशहरूको पैताला चाट्न सक्ने भए
मेरो यात्रा पनि हुने थिएन काँडाघारीको
सुन्दर रक्तिम तुलहरूमा गुलाफी मुस्कान छर्दै
वैभवहरूसँग अङ्कमाल गर्दै
सम्पन्नताको चुलीमा वास हुने थियो पक्कै पनि मेरो
कुनै एउटा पात्र आदर्श भएको भए
गन्तव्य केवल अग्लो आसन प्राप्ति भएको भए
जीवन पक्कै पनि जटिल र कष्टप्रद हुने थिएन
तिमी आश्वस्त छौ
तिम्रो शिरमाथि बलियो छानो देखेर
घामपानी र हिमपातले छुन सक्तैन भनेर
आँधी, चक्रवात र वज्रपातले भेट्न सक्तैन भनेर
तर पनि अनुभूति गर्दै छु म
तिमीभित्रका छटपटीहरू, सुँकसुँकीहरू
तिम्रो मुटुमा बढ्ने ढुकढुकीहरू
मेरो आत्मभिमान, मेरो आत्मगौरव
मेरो आत्मविश्वास, मेरो आत्मनिर्णय
कुनै तुलना छैन तिमी र ममा
आऊ सुनाऔँ हाम्रा अनुभवहरू
फिजाऔँ हामीले कमाएका वैभवहरू ।
 
म आफ्ना इच्छाको मालिक आफैँ
म आफ्नो जीवनको निर्णायक आफैँ
अमोघ अस्त्र लिएको छु मुट्ठीहरूमा
म आफ्ना सपनाहरूको संरचनाकार आफैँ
त्यसैले ए कुलीन कोमलाङ्गी
जेजे रोज्लान् हाम्रा सन्ततिहरूले
भयमुक्त अनि सुविधायुक्त
सुनको सुन्दर र सुरक्षित पिँजडा
या चुनौतीयुक्त विराट् आकाश
आऊ सुनाऔँ आफ्नाआफ्ना अनुभवहरू
हामीले कमाएका वैभवहरू
फेरि पनि उन्मुक्त हुँदै भन्छु म
छैन कतै कुनै सामञ्जस्य
तिम्रो र मेरो संस्कारको
तिम्रो र मेरो संसारको ।