भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

तीन भारी बोकेकी दाउरेनी र यात्रीको बातचीत / माधवप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



यात्रीः
पीठमहाँ त्यो जङ्गी भारी छ दाउराको बोकेको ।
छातीको त्यो झोलुङ्गामा दूधे बालक बोकेको ।।

जेठमासको मध्यान्दिनमा घाम टण्टलापूर कति ।
भत्‌भत पोल्ने ठाडो बाटो धुलो उडेको बुङ्बुङ्गी ।।

पसिना अथवा श्वेतरगत त्यो चिउँडाद्खिन् तप्केको ।
श्वास-खंलाती खूब वेगले बढ्दा पेट छ हप्केको ।।

बाफिन जाँदा बालक उरको उकुसमुकुस भइ तड्पेको ।
जननीको पनि स्निग्ध हृदयमा शीतल भाव नपाएको ।।

गिरि-चुचुराको* हाट पुर्यानई बेची मोल मिलेकाले ।
बेसाई लगि आँटोपीठो बल्ल जोरिने हात मुख ।।

झुत्रो मैलो गुनियुँ र चोलो अति मलिनो मुख लाएकी ।
दरिद्रताकी जीवित मूर्ति दारुवाहिनी हे बहिनी !

विधिले भारी बोक्ने जीवनदिई पठाएथ्यो त पनि ।
यौटा भारी बोके पुग्ने बोक्नु परेको किन तीन ?

घरमा शिशुको रक्षक नभए दुइ भारी त हुने नै भो ।
भारी माथी तेस्रो भारी छ दाउराकै, त्यो किन हो ?

दाउरेनीः-
के गरुँ दाई ! ठाडो भारी ‘आटोपीठी’ गर्ने हो ।
तेर्सो सानो ‘चुरट-तमाखु’ लाई बोक्नै पर्ने भो ।।

यात्रीः-
भोक नहर्ने रोग नहर्ने धूवाँ तान्ने नगरे ता ।
भारी माथी भारी बोक्ने दुःख हराउन जाँदो हो ।।

दाउरेनीः-
सङ्गतले यो अम्मल खाने सानै देखिन् बानी भो ।
छोड्न नशकिने, उति उतिमाहाँ ‘तलतल’ लाग्ने गर्ने ।।

यात्रीः- (मनमनै )
अहहह ! यस्ता दीनहरुकन पनि जकडेको अम्मलले !
तन, मन धनको शोषक यसको यस्तो घोर प्रचार अहो !

( प्रकाश गरी )
‘तलतल’ लाग्दा ‘तलतल‘ लाग्यो यै त खराब भयो बहिनी !
कति नै दुःख गरेर कमाऊ, लाग्ने भइनौ हाय उँभो !

(मनमनै )
आफ्नो केही खूबी छ भने जन-हित-गर्वी सरकार !
जनको शोषक धूम्र-पानको गरिहाल् झट्ट बहिष्कार ! !



(*)तानसेन जस्तो उच्च प्रदेशस्थ बजारलाई लक्ष गरी लेखिएको ।

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)