भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

दुश्मन / मनु मन्जिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मेरो एउटा दुश्मन छ
जो मलाइ फोहर जत्तिकै घृणा गर्छ
तर म उसलाई फुल जत्तिकै मन पराउँछु

उ मेरो अनुहारमा घाम नउदाउनु भन्छ
मेरो बगैंचामा बसन्त नआउनु भन्छ
मेरो घरका झ्याल ढोकाबाट हावा नपस्नु भन्छ
मेरो आँगनका फुलले नमगमगाउनु भन्छ
मेरा बालबचेराले उसले सुन्ने गरि नकराउनु भन्छ
उसलाइ दुख्ने गरि नरमाउनु भन्छ

उ आफ्नो घरको बार्दलिमा बस्छ
र, पर बाट बाटो हिंड्ने जो कोहिलाइ
मनमनै मेरो घर नपस्नु भन्छ
कोसेलि वा उपहार बोकेका कोहि नपसुन भन्छ
मन्दिरबाट आशिर्बाद लिएर फर्केका बुढा बुढिलाइ
मेरो घर अघाडिको चौतारामा नबसुन भन्छ

उसलाइ मेरो घरमाथि चरा बसेको मन पर्दैन
जुन मेरो छानामाथि बसेको
मेरा खेतबारिमा भाग्य लहलह झुलेको
आँपका रुखमा आशाका फुलहरु फुलेको
कुलाका पानि मेरो गैर्हि खेतमा डुलेको
उसलाइ केहि मन पर्दैन

यो बर्षात किन मेरो घरको छानो भत्काउँदैन
पल्लो गाँउको खोलो किन मेरो घरको बाटो आँउदैन
आगो किन यसरि अँगेनामा चुपचाप छ
किन झिल्को जुनकिरि जस्तो माथि माथि उड्दैन
किन केहि जलाँउदैन ?

उ मेरो सपनामा मरुभुमि पसोस् भन्छ
मेरो घरमा आँधि आएर बसोस् भन्छ
राति चोर आएर भकारिमा घुसोस्
मेरा ओठबाट मुस्कान उडेर बालुवामा गइ खसोस् भन्छ
तर म उसलाई फुल जत्तिकै मन पराउँछु
यत्रो दुनियामा उ बाहेकको अरु
मेरो साथि, सगोत्रि
आफ्नो, अर्को
ठुलो, सानो
परिचित, अपरिचित
एउटै कतै कोहि छैन
जसले आफ्नै रहर र सपना भुलेर
घाम, पानि, फुल, जुन र चराहरु भुलेर
घर, धर्ति र आकास भुलेर
म बारे यति बिघ्न सोचोस्
मलाइ यति बिघ्न सम्झोस्
दुश्मन नहुनु भनेको त
आफु तिर हरदम फर्कि रहने
जिवनको एउटा रमाइलो पाटै नहुनु हो रहेछ

म उसलाई फुल जत्तिकै मन पराउँछु !