भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

नदीकिनाराको रूख / कुन्ता शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


दिनहरू धेरै बिते
महिनाहरू धेरै बिते
वर्षहरू धेरै बिते
मवरपरका सबै रूखहरू,
कलिला स–साना बिरूवाहरू
माटाका मलिला पत्रहरू
यस निर्दयी बाढीले बगाइसक्यो
सबैसबै नै रित्याइसक्यो ।
म पनि बग्न सक्छु
मेरा हरिया हाँगाहरू बग्न सक्छन्
मेरा कोमल पातहरू बग्न सक्छन्
सबैसबै नै अस्तित्वहीन हुन सक्छन्
विस्मृतिको गर्भमा लीन हुन सक्छन् ।
धरती छेडेर तलतल पुगेका मेरा जराहरू
अग्लँदै आकाशलाई अँगालो मार्ने
मेरा हाँगाहरू
कुनै पनि दिन कुनै पनि समय
यस निर्दयी बाढीले बगाउन सक्छ
धरतीको सुन्दर क्यानभासबाट
मेरो चित्र मेटाउन सक्छ ।
आहा त्यतिबेला पनि
जब म बाढीहरूमा बग्दै जानेछु
जब मेरो स्मृति क्षीण हुँदै जानेछ
जब मेरो अस्तित्व लोप हुँदै जानेछ
म ती प्रलयकारी आँधीहरू सम्झनेछु
म ती मुसलधारे वर्षाहरू सम्झनेछु
गडगडाउँदै आउने भयानक बाढीहरू सम्झनेछु
तिनीहरूसँग जुझेका सङ्घर्षले भिजेका
क्षणहरू सम्झनेछु ।
म मरे पनि
बाढीहरू मलाई बगाउन सफल भए पनि
यो धरती कहिल्यै–कहिल्यै रित्तिने छैन
तुफानीभन्दा तुफानी नदीका किनाराहरूमा पनि
पहिरोले ताछेका विकट भीर र पहराहरूमा पनि
तमाम दुःख र कष्ट झेल्न तयार भएर
परिस्थितिका आँधीहरूमा खेल्न तयार भएर
हरेक साल हरेक वसन्तमा
बीउहरू झर्दै जानेछन्
बिरूवाहरू उम्रँदै जानेछन्
रूखहरू बढ्दै जानेछन्
रूखहरू झ्याङ्गिदै जानेछन् ।