भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

नयाँ सपना / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म त्यहीँ थिएँ
एकदम त्यहीँ –तिम्रो आसपास
टोलाइरहेको –उदास एक्लो र निरीह
भव्य महलछेउ जोडिएको छाप्रोजस्तो
ठूलो रूखमुनि
तप्केनी सहेर नसप्रेको बिरुवाजस्तो
म त्यहीँ थिएँ– बत्तीमुनि अँध्यारोजस्तो

म त्यहीँ थिएँ
कुनै दन्त्यकथाको श्रापित पत्थरजस्तै
वषौँदेखिमलाई प्रतीक्षा थियो तिम्रो स्पर्शको
अनेकजीवन बिताएँ हुँला
म व्युझिने तिर्सना बोकेर यहां
तिम्रोछेउ
तर, तिमीबाटै छेकिँदै तिमीबाट हेपिँदै

त्यसरी बिर्सिन्छन् मानिसहरू मलाई
जसरी सम्झना हुँदैन
घर पुगेपछि बाटोमा बास बसेको पाटी
यात्रामा बिसाएका कैयन् ढुङगे चौतारी
प्यास मेटेको सङ्लो जरुवा
वा बाटोमा छोडिएका पाइलाका डोबहरू

म त्यहीँ थिएँ तिम्रै वरिपरि
कैयन् जुनी भौतारिँदै हिडेहुँला नभेटेको प्रेम खोज्दै
अतृप्त, अशान्त र असहाय
बयरका काँडामा अल्झेर रगतपच्छे भएँहुँला, अल्झेहुँला साँझहरूमा
कहिले बाटो भुलेर थाकेहुँला बगरहरूमा

भत्किँदै गएको देवलजस्तो मलाई सम्भार गर !
म अनन्त सम्भावनाहरूको उज्यालो ढोका
कुनै सुनौलो चाबी लिएर प्रवेश गर मेरो हृदयमा !

वर्षौँदेखि कुनै कुनामा थन्क्याइएको
धूलै–धूलोको
पत्रले छोपिएको म एउटा सारङ्गी
मलाई सुम्सुम्याऊ र निकाल एउटा प्रिय धून !