भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

नर्बेमाथिको आकाश / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


ईश्वर नामको चित्रकारले युगौँ पहिले बनाएथ्यो एक सुन्दर तस्बिर
र उपहारको रूपमा दिएथ्यो सूर्यलाई कुनै दिन,

तस्बिरमा थिए–सेताम्मेफुलेका हजुरबा पर्वतहरू
दार्शनिकको विचारमग्न आँखाजस्ता शान्त तलाउ
रङ्गीविरङ्गी रूख, पात र बुट्यानहरू
कुनै रिलेदौडमा भाग लिइरहेको धावक नदी
टाउकोमा सिङको सिङ्गै रूख बोकेर कुदिरहेका रेयन डेअर

हिउँको झरीमा नुहाइरहेका बाटा र मोडहरू
नीलो पछ्यौरी ओढेर सुतेको समुद्र
धेरै धेरै तस्वीरहरू थिए तस्बिरमा
र थियो जीवन बाँच्ने कला 

गाउँ, पहाड र खोलाको किनार घुमी हिँड्ने पर्यटक—सूर्य
अचेल प्रत्येक दिन जब निदाउन खोज्छ रातमा
भाग्छ निद्रा र आँखाभरि घुम्छन् उनै मनोहर दृश्यहरू

अनि सबै निदाइसकेपछि
घरक्क खोल्छ झ्याल–नर्बेमाथिको आकाश
क्यामराको फ्ल्यासजस्तो छरिन्छ घाम मध्यरातमा

एकटक हेर्छ सूर्यले उपहारमा पाएको त्यही तस्बिर
अनि निदाउँछ तृप्त भएर
गुटुमुटु अँध्यारोको सिरकले
मुख छोप्दै 