भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्लान्चेटको टेबल / बैरागी काइँला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आह ! थाकेको छु!

हत्केलभरिको रेखामा
खडा गरी घेरैबाट युद्धविराम रेखाहरु
अब, किनभने युद्धहरु पनि बिसाउने मन गर्छन्, मसित

म, केही बेर ......आराम.....गर्दछु!

भो, उचाल्न सक्तैनन् जिजीविषा
एक कप चियामा !
यी हातहरू !
यत्ति ध्यान देऊ......
मान्छे–मान्छेमा बार हालेर
उठन नपाउन् ती रेखामाथि बर्लिनका पर्खाल !

आहा ! थाकेको छु!
म केही बेर बिसाउन चाहन्छु
कुइनाले थिची वर्तमानलाई टेबलमाथि,
विगत बाँधेर परेलाले आँखामा
अलिकति !
आह ! थाकेको छु !

अनुहारमा टाँसेर खण्डहरू
समेटेर पत्थरहरूमा जिन्दगी
अजन्ताको स्तम्भहरूमा चियाउँछ स्थापत्यबाट–
विवश आँखाहरू !
ढुङ्गामा खाँदिएका आँखाहरु !

निरोह र टीठलाग्दा संघर्षले
इतिहासभरि
फुकाउँछ जिउबाट आवरण
ताडपत्रमा यौटायौटा शताब्दी सुकाएर !
हतास–हतास जिन्दगी !

आत्म–पीडनको सम्मोहनमा उदास महत्वाकांक्षाहरू !
अब पीडित क्लोथोकोवियाबाट
नङ्गयाउँछन् निराशामा आफूलाई
जिग्गुरत र कोणार्कको कोठाभित्र जङ्गलमा !

उफ् ! रनीबास उप्काउँछ तरुणीको आँङबाट सभ्यता

विपत उम्रिरहेछ.......
रोयल काउस्लीपका पोथ्रामा शहर ढाकिरहेछ
गाउँ–गाउँ निलिरहेछ .....
तरबार उचालेर झरिलो ओन्दोङ फूल
चुल्लिएर वीर मसानमा जङ्गलीको अनुहार
हामीले चारकिल्ला बाँधेको रेखा मिच्छ मानचित्रमा
फुक्छ.........उडाउँछ रेखाहरू.....

क्यूरिया ओलिम्पियाको चोकबाट प्रतिध्वनित
जागेका घोडाका टापका आवाजहरू

हामीलाई जित्दछ :

म आएँ !

मैले देखेँ !

मैले जितेँ !

परेलामा नरिवलको बोट वरिपरि
नीलो पोखरीमा
तार्दै गरिरहेको आङमाथि जिन्दगी :
जिउसुद्दु, मनुर लेप्मुहाङ
प्रतिध्वनित सुन्दछौँ बाजेका कानले, हिज

आकाश बाणि

साबधान नाउ खोप्न थाल
साबधान नाउ खेप्न थाल
साबधान नाउ खोप्न थाल

आह ! कता भाग्नलाई तैयार हामीहरू !
यस भूमिबाट –
जहाँ जिन्दगी कुर्कुच्चासम्म उमारेका छौँ !

हामी कायर र निर्धाहरू !
कताका लागि हुन्.....
यी गोरु गाडाहरू !
यी स्लेजहरू !

जिप्सी मानिस !

हामी जिप्सी मानिस !
कुन शताब्दीले प्रश्रय दिन्छ अजायबघरमा
हामी पराजितलाई!
ईँटमा क्यूनिफारम कपेर ।
आह.......! – ह ! ....... !

अब –
जिउसुद्द
मनु, र
लेप्मुहाङ
बसौँ, सशंकित वरिपरि यस क्षणको !
योहत्केलामा–योक्षणः यौटा प्लाञ्चेटको टेबल हो!

बसौँ, यो प्लाञ्चेटको टेबल वरिपरि !
हो, समाधिले बाँधेर आँखाहरू
औँलाहरूले चेपेर पेन्सिलभरि थाक लागेका
इतिहासका पन्नाभरि –
प्रश्नहरू आशंकाहरू

मुट्ठीले निमोठेको सिन्के धूपमा,
कोठामा आगो लाएको सिन्के धूपमा,
हो, लास गन्हाउँछन् सिन्के धूपमा !
आँखामा ओसार्छ मुर्दा सिन्के धूपको गन्धले–––
टुँडिखेलबाट, कोतपर्वबाट,
कन्सन्ट्रेसन क्याम्पका भट्टीबाट
अनि महायुद्धहरूबाट !

जागो! जागो!

मारिएका दिनहरू ! विगतहरू ! आफन्तहरू !
शहीद क्षणका हंसहरू

जागो! जागो!
त्यो संघर्ष जो शिलाखण्डमा टाँसिन्छ !
त्यो स्वतन्त्रता जो ढुङ्गामा कापिन्छ !
त्यो मनुष्यता जो पाप्रा–पाप्रा शताब्दी लुछिन्छ !

जागो! जागो!

विगत मसानघाटबाट ढुङ्गा पल्टाउँदै युगको
मद्दत गर्नु आत्मनिर्णय गर्नुपनि असमर्थलाई!

हामीलाई!
बिचरा हामीलाई !
हामी बिचरालाई !

अहो !
पेन्सिल चल्मलाई रहेछ !
टाइरासियसको चोर औँलाः यो पेन्सिल !
अल्मलिएका आँखाहरूलाई छालमा बोकेर
किनारा लाउनु, इतिहासमा
टाउको चिलाउनेछ कि हत्केलाको यस क्षणबाट !

हाम्रो बाजे!
बूढो टाइरासियस ! बूढो टाइरासियस !

नील नदीदेखि गङ्गाको जलभरि तरङ्गित
फूल–फूलका ओंठमा पौडिदै आएका किरणसित
प्रातःकालीन जल–तरङ्गमा
पर्वत आउँछन् कि त आदिम सङ्गीतका ऋचाहरू !
अहो! संङ्गीतमा फूल उघ्रिन्छ !

अनि फूलमा जिन्दगी !
मानिस फाँटिनेछ कि त फूलहरुमा !

पेन्सित चल्मलाइरहेछ
टाइरासियसको चोर औँला : यो पेन्सिल !
सिलिङमिलिङ अँध्यारो झुत्तिन्छ पर्दामा,
अब, यौटा मान्छेको हातले पन्साउनु पर्छ
पर्दामा अँध्यारो– झ्यालको दईतिर !

मेरो संघर्ष : अन्वरत संघर्ष
दुइटा बिटा अँध्यारोका विरुद्ध त हो!

जिउसुद्दु
मनु र
लेम्पुहाङ

अँध्यारोलाई एकेक हातले थिची दुईतिर
मुण्टोबाट आफू खन्याई झ्यालबाट, हेर–

जिन्दगीले जुनेलीमा पग्लिएर पँधेरोमा पर्खिरहेछ !
आफुबाट पोख्खिनु पर्दछ–बाहिर
स्वतन्त्रता कर्कलाको पातमाथि थाप्दछ !

अब, मानचित्रमा विजय पर्दैन !

अब, अर्को युद्धको शंखघोष गरौँ–
नातिलाई, गिलगमेशलाई सुनाउनु
कोक्रोमा, डोरीले हल्लाएर रातभरि !

म, अर्को युद्ध प्ररम्भ गर्दछु अब–
भावनामा अनि बुद्धिमा,
अनि समयमा,
बस, समयमा !

अब पिठ्यूँदेखि कुममाथि भरिसम्म
सानासाना ज्यामितिमा थापेर
गलिसकेका अँजुलिमा कमाण्डलुको जल
पिएर,
पुनः एकपल्ट–
गङ्गोत्रीको शिरबाट
कोखिलामा चेपेर इतिहास
म, हत्केलाको यस क्षणको कुइनेटोबाट–
हाम्फाल्दछुः

बुद्धिमा !

म !

बुद्धिमा आक्रमण गर्दछु