भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

बहादुरशाहको आखिरी तरङ्ग / नयराज पन्त

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कुन तवर त आफ्ना भूपको देश बढ्ला
सकल निज प्रजामा सौख्यले वास गर्ला ।
यति दिन तक सोझो चित्तले ज्यान फाली
हरघडि म त लिन्थे चिन्तना यत्ति खालि ।। १

प्रतिदिन सय छोडी गेहको सौख्य-वास
हरघडि म रहन्थें भूपकै आसपास ।
विविध विषय खोली चार विद्याहरुको
उनकन मत गर्थे शिक्षण जो बुझेको ।। २

शिशु सुतकन छोडी देश पारी निराश
अमरझट भएथ्यो दाइको स्वर्गवास ।
जतनसँग सबै यो राज्यमारा सह्यारी
यति दिनतक मैले नै दिएँथें चलाई ।। ३

निज मतिबलले नै जान्हवीसम्मका ती
मुलुक पनि बढाएँ देशमा शान्ति राखी ।
अब सितिमिति कोही खोज्न सक्तैन जोरी
दिनहुँ सब हुँदाछन् मित्रझैं पूर्व वैरी ।। ४

बलजफत गरी यो देश हाम्रो उखाड्न
भरसक त गरेथ्यो चीनले खूब यत्न ।
मिलीमिलि खुकुरीको हेर्न हाम्रो नसक्ता
अब त उ पनि लाग्यो गर्न मैत्री-व्यवस्था ।। ५

अलिक अलिक सर्दैं प्रौढ साम्राज्य बन्न
यस विधिसंग गर्थ्यो धीर नेपाल यत्न ।
तर हतविधिले हा ! खेल खेल्यो विभिन्न
अब त कठिन पर्ला जो भएको त थाम्न ।। ६

अपठित शठको नै दोस्त खासा बनेर
नव नव रमणीका नेत्रमा लोभिएर ।
नरपति जति हिंड्छन् उत्ति यो लोक रुन्छ
प्रतिविपल यसैले छाति मेरो चिरिन्छ ।। ७

निशि दिन त बुबाले कष्टमै जेलिएर
तल अझ तल भित्री नीतिमा नै डुबेर ।
जिउ निफर गराई देश पारी बलीयो
तन मन धनले यो राज्य जोड्नै भएथ्यो ।। ८

कुलततिर नलागून् भुप औ भारदार
अनि मिहिनत जाने छैन मेरो त खेर ।
जिउ असक हुँदाको तातको यो कुराले
अझ पनि मुटुमा लौ छेड्छ तीखो सियाले ।। ९

बलजफत गरी यो व्यर्थ अन्याय घोर
नृपति मकन दिन्छन् दुःख जो बार बार ।
प्रतिफल उसका यै जन्ममा वा पछाडि
उनकन नपरास् है भोग्नलाई कदापि ।। १०

वरिपरि अब मेरो छैन कोही सहारा
पशुपति अब तिम्रो पाउ नै भो सहारा ।
जनी गर यति मेरा भूपको बुद्धि सप्रवस्
अति प्रबल भई यो देशले फुल्न पाओस् ।। ११

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)