भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

बहिनी विद्रोह बोल्छे / कुन्ता शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


असन्तुष्टि डढेलोजस्तो हुर्किरहेको छ
पानीले प्रज्वलनशील पदार्थको काम गर्छ
घाँसपातहरू सुकेको खरजस्तो सल्कँदै छन्
बन्दी स्वरहरू, उन्मुक्त हुने रहरमा छन्
सम्पूर्ण अहङ्कारहरूका विरूद्ध बहिनी
एउटा युद्धजस्तो हुँकार गरिरहेकी छ ।

असङ्ख्य बहिनीहरूको
सुन्दर सपनाहरूको चिहानमा
बहिनी रातो गुराँसजस्तो फक्रिएकी छ
फूलका पत्रदलजस्ता
उसका कोमल ओठहरू
आगाका लप्का उगेलिरहेका छन्
स्मित मुस्कान भुमरी भएर मडारिँदै छ
खोइ केके भत्कने हुन्
अनि केके धराशयी हुने हुन्
बहिनी निःशब्द परिवेशमा
आँधीजस्तो हुँकार भरिरहेकी छ ।

हेर्छे नाडीहरू, छाम्छे पाखुरीहरू
भेट्छे अद्यावधि
मासुसँगै एकाकार भएका
हत्कडीका नीलडामहरू
असङ्ख्य–असङ्ख्य बहिनीहरू
उपेक्षित भएर बाँचेको देखेकी छ
तिरस्कृत भएर मरेको जानेकी छ
विगत र वर्तमान देखेर सुनेर
कष्ट र झञ्झाबातहरू भोगेर
कुरूप चिन्तनहरूका विरूद्ध
विकृत विषेषणहरूका विरूद्ध
बहिनी उत्तेजित हुन लागेकी छ
पीडा र अपमानको रौरवहरूको विरूद्ध
बहिनी विद्रोह बोल्न लागेकी छ ।

कुलकुलाएर बग्ने खोलाजस्ती
कोमल र शान्त मेरी बहिनी
हिजोआज अशान्त भएकी छ
बखायामको नदीका झैँ
उत्तेजना छर्दै गएकी छ
धेरैधेरै बहिनीहरू
सुन्दर सपनालाई थाती राखेर
मोहक जीवनलाई
परिवर्तनको बलिवेदीमा होमेर गए
कति हो कति बहिनीहरू
जीवनलाई तिलाञ्जली दिएर
अवचेतनाको निद्रामा लट्ठ
परिवेशलाई झक्झकाउँदै गए
यही शृङ्खलालाई कायम राख्तै
कुरूप चिन्तनको विरूद्ध
विकृत विशेषणको विरूद्ध
अदृश्य बन्धनहरूको विरूद्ध
बहिनी द्वन्द्वको संयोजन गर्छे
बहिनी युद्धको उद्घोष गर्छे ।

आँखाहरूले सपना देख्न पाउनुपर्छ
भाषाहरूले स्वर उराल्न पाउनुपर्छ
बन्दी हुनुहुँदैन आकाङ्क्षाहरू
छेकिनुहुँदैन, थुनिनुहुँदैन प्रवाहहरू
उराल्नुपर्छ विद्रोह, उमाल्नुपर्छ आक्रोश
फेरि पनि अग्निदाह हुने हुन् कि
छोरी, नातिनी र पनातिनीहरू
फेरि बन्दी हुने हुन् कि स्वतन्त्र अभिव्यक्तिहरू
फेरि पुनरावृत्ति हुने हुन् कि
कुरूप मान्यताहरू
खबरदार गर्दै हिँड्छे बहिनी
असहजतासँग भिड्दै हिँड्छे बहिनी ।

बहिनी चिच्याउँदै भन्छे
मस्तिष्कमा षड्यन्त्र
अझै बाँचिरहेको छ
मनमा कलुषित भावना
अझै लुकिरहेको छ
युद्ध रोकिन हुँदैन एकछिन पनि
गति थामिन हुँदैन एक निमेष पनि
सम्भावना
कुनै पनि बेला यथार्थमा फेरिन सक्छ
शिशिरजस्तो नबनोस् जिन्दगी
बहिनी झसङ्ग, तर्सन्छे
कुरूपतामाथि नराम्ररी बर्सन्छे
स्नेहसिक्त आँखाहरूबाट बर्साउँदै
आगाका लप्काहरू
बहिनी आँधीको हुँकार गर्छे
डढेलाको चित्कार गर्छे
चुँडाउँदै दासताका फलामे साङ्लाहरू
बहिनी नयाँ युग निर्माणको
शङ्खघोष गर्छे
बहिनी नयाँ गन्तव्यको
शुभारम्भ गर्छे ।

बहिनी अझ प्रज्वलनशील बन्छे
झन्झन् उद्वेलित स्वरमा आक्रोश पोख्छे
“आऊ ! हामी आफैँ विवेचना गरौँ
कष्टकर अतीत र चुनौतीपूर्ण वर्तमानको
छाया होइनौँ हामी कसैको देहको
लाचार लत्रने लहरा पनि होइनौँ
धरतीजस्तो सहनशील भएर
असमानताका क्षार समुद्रहरू पिउँदै
अपमानका पहाडहरू छातीभरि बोकेर
समयका अन्तहीन हिँडाइहरूमा
सधैँसधैँ झञ्झाबात र पीडाहरू भोगेर
“कति बाँच्ने सधैँसधैँ लाचार भएर
कति रहने हरेक समय पददलित भएर
सबै शिखरहरू होचा हुन सक्छन्
दृढ पैतालाहरूका सामु
बिलौनाका हतियारले असमानताका
पहाडहरू ढल्दैनन्
बलिन्द्र धाराले
युगीन समस्याहरू पखाल्दैनन् ।”
धक्का दिन्छु भन्दै पाषाण पहाडहरूलाई
बहिनी चक्रवातले जस्तै हुङ्कार गर्छे
बहिनी ज्वालामुखीजस्तो आगो उगेल्छे ।

बहिनीले विगत पढेकी छे,
वर्तमान पढेकी छे
रगतले कटकटिएको
इतिहासका पाना पढेकी छे
षड्यन्त्रका कथा पढेकी छे
अत्याचारका अध्याय पढेकी छे
ऊ आक्रोशित हुँदै भन्छे–
“दुख्ने मन सबैको हुन्छ
चस्चसाउने आहत हुने मुटु सबैको हुन्छ
मीठा सपना सबैका आँखाहरूले देख्छन्
आत्मीय भाषा सबैको चेतनाले खोज्छन्
तर भएन, अब नचलमलाई भएन
युगको विकार यसै–यसै गएन
दुत्कार गरौँ, विद्रोह गरौँ
लडाउनैपर्छ
चिसा अनि काला पहाडहरू
उज्याल्नैपर्छ
खोँच अनि सेप्यानहरू
उठौँ, अब उठौँ
अब अदम्य साहस लिएर उठौँ
आफ्नो भविष्यको निर्माण
आफैँ गर्न जुटौँ
आफ्नो जीवनमार्गको चयन
आफैँ गर्न उठौँ
आक्रोशित हुँदै आँखाहरूबाट
झिल्का उडाउँदै
सम्पूर्ण अर्कमण्यताहरूको विरूद्ध
बहिनी तीव्र गर्जन गर्छे
बहिनी विद्रोह बोल्छे ।