भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

बुबाको मुख हेर्ने दिनमा / कुन्ता शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


साना तेजिला केही धसेका आँखाहरू
लामालामा रौँ झरेका आखिभौँहरू
ठ्याक्कै मसँग मिल्ने तिम्रो अनुहार
अथवा तिमीसँग हुबहु मिल्ने मेरो अनुहार
मेरो प्यारो बुबा
ऐना हेरेजस्तो लाग्छ तिम्रो तस्बिर हेर्दा ।
संसार नाप्ने तिम्रा खिनौटे पैतालाहरू
प्रथम विश्वयुद्धको गर्जन सुन्ने कान
क्षतविक्षत लासहरू देख्ने आँखा
अनि आफैँलाई घाइते बनाएर
युद्धबाट भाग्ने कायर साथीहरू देखेर
वैराग्यले बन्दुक फ्याँकेर हिँड्ने तिमी
बुबा ! आँखा भरिएर आउँछन्
आजको दिनमा
तस्बिरमा तिम्रो मुख हेर्दा ।
प्रौढ वयमा कसिएको तिम्रो लगनगाँठो
अनि जम्मा भएका हामी लालाबालाहरू
समयले लामो हिँडाइ तय गरे पनि
स्मृतिमा धूमिल नभएको तिम्रो अनुहार
पर डाँडामा बलेको कुनै चहकिलो बत्तीजस्तो
बुबा ! तस्बिरमा तिम्रो मुख हेर्दा ।
प्यारो बुबा !
तिमीले ब्यूँझाएको समय अझै साक्षी छ
तिम्रो हातमा भएको लालटिनले
उज्यालेको सहरका कुनाकानी साक्षी छन्
पीडामा तिमीले पुर्‍याएको राहत
तिमीले गरेको व्यथाहरूको निदान
तिमीप्रति भएको मानिसको कृतज्ञताभाव
बुबा ! एकैपल्ट फक्रन्छन्
श्रद्धाका हजारौँ थुँगा फूलहरू
तस्बिरमा तिम्रो मुख हेर्दा ।

गतिवान् समय रोकिने रहेनछ कहिल्यै
वेगवान् नदीजस्तो अविरल अविरल
तर सम्झनाहरू अझ वेगवान् हुँदै छन्
तिम्रो सम्झना इन्द्रेनीजस्ता भएर
फैलिरहेको छ मनको आँगनमा
अनायासै आँखाहरू अश्रुयुक्त हुनपुग्छन्
बुबा ! तस्बिरमा तिम्रो मुहार हेर्दा ।
 
बुबा ! अतीतको आँगनमा फर्कँदा
भित्री मन चिमोटिएजस्तो लाग्छ बेस्सरी
विह्वल बन्छ कहालिएको मस्तिष्क
बिर्सन नसकिएका बिस्कुनहरू सम्झनाका
अहो कति तीव्र छलाङ लगाइसक्यो समयले
लाग्छ म जड भएर बाँचिरहेको छु
मन असाध्य द्रवित भएर आउँछ
बुबा ! तस्बिरमा तिम्रो मुख हेर्दा ।

सुम्सुम्याउँछु निक्कै बढेका तिम्रा दाढीहरू
लुटुपुटु हुन्छु तिम्रो मायालु काखमा
मगनमस्त हुन्छु तिम्रा भजनका स्वरहरूमा
चलायमान देख्छु तिम्रा जाँगरिला हत्केलाहरू
आर्द्र भएर कहालिन्छ मन
कस्तो हुने थियो होला
एकपल्ट मात्र पनि भेट्न, देख्न पाए तिमीलाई
साह्रै नै तिर्खाएको छ मन तिम्रा लागि
बुबा ! तस्बिरमा तिम्रो मुख हेर्दा ।
 
अहो ! तिम्रो अनुहार
जीवन्त भन्दा जीवन्त भएर
आउँछ मेरो सामु
तिम्रो तस्बिर रङ उडेर धूमिल भएको छ
धूलधुसरित छ
तर तिमीले गरेको रमझम वृष्टि स्नेहको
तिमीले दिएको अमूल्य संस्कार
तिमीले देखाएको अद्वितीय जीवनमार्ग
तिम्रा स्नेहसिक्त दृष्टिहरू
तिमीले फैलाएका आशीर्वादका हत्केलाहरू
अहो ! सम्झनाले मात्र पनि कण्ठ अवरूद्ध हुन्छ
बुबा ! तस्बिरमा तिम्रो मुख हेर्दा ।

बुबा ! मेरै काखमा
समयका निष्ठूर हत्केलाहरूले
मेटाइसकेका छन् सबै सुन्दर चित्रहरू अतीतका
बिहानै प्रवाहित हुने तिम्रा सुमधुर भजनहरू
निस्तब्धता चिर्ने हाते पङ्खाको स्वर
कतै कुनै आडम्बर नभएको तिम्रो चरित्र
अविरल कार्यशील तिम्रा हत्केलाहरू
खलमा घर्षण गरिरहेको बच्चो
रसायनका कदलीहरू
पारो, गन्धक, मुगा, शङ्ख
सुन, फलाम र सङ्खिया भष्म
फँडिरका थुप्राहरू
एकएक गर्दै अगाडि आउँछन्
तिम्रो अथक श्रमशील जिन्दगी
विभिन्न दृश्य–परिदृश्यहरू
चारै दिशामा तिमीलाई नै देख्छु
अश्रुयुक्त आँखाहरू स्थिर हुन्छन्
तिम्रो धूमिल तस्बिरहरूमा
बुबा ! मन व्यथित हुन्छ
आज बुबाको मुख हेर्ने दिनमा
तस्बिरमा तिम्रो मुख हेर्दा ।