भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

भोलिको घाम अस्ताएन / मोमिला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यहाँ…
कैयन् हिमरातहरू
झरीपछिको मृदुल घामझैँ
पहेँलिएर दुख्छ
पोहोर सालका खुसीहरूमा
दुख्दै–दुख्दै रङ्ग चढ्छ
अग्लाइको होड पिउँदै
स्वयम्‌मा छलिएका वर्तमान पहाडहरू
बिरानो आँसु रुन्छ…

लाग्छ, हरेक साँझ हुनुअघि, वर्तमान
प्रतिद्वन्द्वीहीन आत्मप्रेम गर्नचाहन्छ
र… , हरेक बिहान हुनुअघि
स्वर्गको कामनारहित जीवन बाँच्न खोज्छ
तर, यो प्रहर
समयको सुकुमार रहर— वर्तमान
तृप्तिको स्वप्नझरी रुझ्दै
भोलिको कुमारी घाम सिउरेर
एक्लै–एक्लै मुस्कुराइरहेछ…

फेरि वर्तमानका होसभरि आस्थालाई
सङ्गतिका सर्जामहरू घृणा गर्छन्
जीवनका हारहरू
केवल आफ्नै मलामी हिँड्ने तरखरमा हुन्छन्
धरहरा चोइटिएर छरिएका अवशेषहरूलाई
रानीपोखरी चुम्न कुनै छेकबार हुन्न
तर, पुनः धरहराको सपना
सगरमाथाभन्दा अग्लो भइदिन्छ
लाग्छ, सारा सङ्गतिका लहरहरू
किनार नपुग्दैविसङ्गत हुन्छन्…
 
तर… पनि
न्याउली सधैँ किन बिरानो रात रुन्छ ।
सृष्टि किन यहाँ एउटा
अथाह व्यथा बनेर दुख्छ ।
हिँडिएको बाटो पनि
नागबेली पर्दै अजिँगर बन्छ…

खै। यो सपना र बिपनाको सङ्घर्षमा
आफैसँगको कस्तो युद्ध हो जीवन… ।
आफैसँगको कस्तो प्रेम हो जीवन… ।
आफैसँगको कस्तो घृणा हो जीवन… ।
तर क्षितिजपारिको देशमा पनि
सयपत्रीका पत्रदलहरूमा
प्रभाती शीत जिन्दगी खोजिरहेथ्यो…

मृत्यु दुख्दैन हिजोआज
मृत्युपछिको जिन्दगी दुख्छ
झर्ना झर्नुको पीडा
पिउनेलाई नशा चढ्छ
तर, सुन्दरता देख्नु र भोग्नुका दुवै पीडाहरूमा
विसङ्गतिका सर्जामहरू पिरती लाउँछन्
कहिले, सिङ्गो दिन घाम पिएर प्यासी साउन
सिङ्गो रात जूनतारा फुलाउँछन्
कहिले, रातभर चिसो ओढेर आत्मविजयीहरू
भरदिन आफ्नै चिहानको पहरा बस्छन्
तर, युगको आँखामा कहिल्यै
भोलिको घाम अस्ताएन…