भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

मात्र एउटा हाँगा काटे नि ! / मोमिला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

प्रिय पुरुष !

तिमीले—
तिमीलाई नै प्रेम गर्ने
नारीवृक्षको मात्र एउटा हाँगा काटे नि
एउटा हाँगा मात्र होइन
सयौँ फूलहरू निष्प्राण हुने छन्
हजारौँ पातहरूका सहारा टुट्ने छन्
लाखौँ करोडौँ वीजहरू अवशानमा पुग्ने छन्
एउटा हाँगा काट्दा
तिमीले सोचेभन्दा नि के–के हुने छन् ! के–के हुने छन् !!

एउटा हाँगा काट्दा—
निष्प्राण फूलसँगै ओठका रङ्गहरू उड्ने छन्
रङ्गसँगै सपनाहरू बेरङ्ग हुने छन्
फूलसँगै जीवनका सुगन्धहरू बिलाउने छन्
सुगन्धसँगै उमङ्गहरू रित्तिने छन्
एउटा हाँगा काट्दा
तिमीले सोचेभन्दा नि के–के हुने छन्, हुने छन् !!

एउटा हाँगा काट्दा—
बेसहारा पातहरूसँगै हरिया विश्वासहरू झर्ने छन्
विश्वाससँगै सम्बन्धहरूले आत्महत्या गर्ने छन्
सम्बन्धसँगै हिमालको श्वेत गहन शान्ति,
पहाडको रोमाञ्चक हरियो उकाली ओराली र
परमान्दमा बयेली खेल्दै गरेको तराईको पहेँलपुर प्रेम
सारा सारा गुनासाबिना नै तिम्रो अहम्को पर्खाल नाघेर
पर्खालबाहिर बसाइँ सर्ने छन्
र तिम्रा लागि डस्टबिनमा
पुरुषत्वका धिक्कार प्रश्नहरू छाडिएका हुने छन्
एउटा हाँगा काट्दा
तिमीले सोचेभन्दा नि के–के हुने छन्, हुने छन् !!

एउटा हाँगा काट्दा
करोडौँ वीजहरूको अवशानसँगै
ढुङ्गाका काप–कापबाट लस्कर–लस्कर निस्केर
सृष्टिको अराजक जुलुसले तिमीलाई घेर्ने छन्
चौतर्फी कालो कालो भएर आकाश
तिम्रो स्वघोषित शक्तिशाली बस्तीमा खस्ने छन्
दृश्यमा तिम्रो सर्वोपरिता
तिम्रै आँखाका डिलबाट भेलका भेल बग्ने छन्
अन्ततः तिम्रो बाढीग्रस्त अहम्
आफ्नै जलमग्न संवेदनाबाट परास्त हुने छन्
र नारीका पाउमा छाँद हालेर
अन्तिम पटक प्रेमको भीख माग्दै क्वाँ क्वाँ रुने छन्
एउटा हाँगा काट्दा
तिमीले सोचेभन्दा नि के–के हुने छन्, हुने छन् !!

बुझ्यौ प्रिय !
झन् हाँगामै बसेर हाँगा काट्दा
हाँगासँगै तिमी पनि
जीवनबाट जरुर बिमुख हुने छौ
बेरङ्ग...बेढङ्ग आफ्नै गुँडको
शिथिल...शिथिल निस्तो आँखाको बार्दलीबाट खसेर आँगनमा
नउड्दै पखेटा भाँचिन अभिषप्त
सृष्टिको प्रलय नै सोचिरहेको त्रसित कलिलो बचेरा झैँ
सुगन्धहीन...तरङ्गहीन, विरूप...विरूप बन्ने छौ
र चुपचाप...चुपचाप खरानीको थुप्रोबाट उडेर
आँखामा अट्न नसकेको धुलाम्य सपना तिमी
ब्रह्माण्डको शून्यमा भौँतारिने छौ
जहाँ तिम्रा लागि पे्रमको कुनै अडेसा हुने छैन !
आखिर, चुराको आवाजहीन तिम्रो बस्तीमा
पाउजेबको झङ्कारहीन तिम्रो बस्तीमा
केवल तिम्रै क्रूर निशानाहरू बाँकी रहने छन्
हाँगामै बसेर हाँगा काट्दा त झन्
तिमीले सोचेभन्दा नि अझ के–के हुने छन्, के–के हुने छन् !!

प्रिय !
यसरी तिमीले—
तिमीलाई नै प्रेम गर्ने
नारीवृक्षको मात्र एउटा हाँगा काटे नि
एउटा हाँगा मात्र होइन
सयौँ फूलहरू निष्प्राण हुने छन्
हजारौँ पातहरूका सहारा टुट्ने छन्
लाखौँ करोडौँ वीजहरू अवशानमा पुग्ने छन्
हाँगामै बसेर हाँगा काट्दा त झन्
नारी उच्छ्वासको हावा तिम्रो उच्छ्वाससँगै एकमुष्ट आँधी बनेर
तिम्रै कथित सर्वोपरि बस्तीमा अनाधिकृत प्रवेश गर्ने छन्
अनि ताण्डब मच्चाएर आँधी फर्केपछिको अस्तव्यस्त अवशेषमा
तिमीलाई नयाँ प्रेमिल बस्तीको कल्पनामा छाडेर जाने छन्
तिमीलाई कल्पनैमा छाडेर जाने छन्
.........................................
र केवल सपनामा—
निद्रा हराम गर्ने सारा अहङ्कार सिरानीले थिचेर
निदाइरहेको तिम्रो अबोध अनुहार हेरी हेरी
तिम्रो निधार चुम्ने पुतलीको आत्मामा
तिमीलाई नै प्रेम गर्ने
उही नारीको स्वत्व समाहित भएको हुने छन्
मात्र एउटा हाँगा काटे नि
तिमीले सोचेभन्दा अझ के–के हुने छन् ! के–के हुने छन् !!