भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

मानव / हृदयचन्द्रसिँह प्रधान

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मानव, आशाको पछ्यौरा चारैतिर बिछ्याएर, निर्वस्त्र दीनले शिशिर-ऋतुको विहान सूर्यलाई झैं पर्खेर मैले तेरो हृदय-बाट फूल झर्ने बाटो पर्खिरह्को थिएँ । बाघ-हात्तीलाई पनि इशारामा नचाउन सकेको देखेर, बिजुली आविष्कार गरी जल वायु सूर्यहरुलाई पनि मेख मार्न सकेको देखेर ।

यस्तै हजारौं अरु पनि आश्चर्यजनक तेरा आविश्कार देखेर मानव, तेरो शक्तिको मैले मुक्त कण्ठले तारीफ गरि रहेको थिएँ ।

तर मानव, तँलाई देखेर, संझेर अहिले त मलाई घृणा मात्तै उठ्छ, आगोले भरिएको रिसमात्र उत्पन्न हुन्छ, आँसुमात्र उब्जन्छ ।

मनुलाई पढेर चिताएको भावना, बुद्धलाई पाएर सोचेको कल्पना, ईशालाई थापेर उडेको गौरव, महम्मदलाई अँगालेर ठडयाएको नाक, मार्क्सलाई सोचेर मिलेको संतुष्टि, अनि गान्धीलाई देखेर फुलेको प्रफुल्लता-सबलाई मानव, तैंले डढेला लाइदिइस् ! श्रद्धाको नाउँमा उनीहरुको अगाडि नतमस्तक भईटोपलेर मानव, तैंले उनीहरु सबलाई धोका दिइस् ! हे मानव, तलाइ याद छ ?- तेरो कपटले तेरै सभ्यता र संस्कृति लगडाइ रहेको छ ।

तेरो ज्ञान र विज्ञानले तेरो बुद्धि र शक्तिले, अनि तेरो शिल्प र कलाले, तेरो संसार आज फूलभन्दा पनि हँसिलो हुन सक्छ पुतली भन्दा पनि राम्रो हुन सक्छ, चन्द्रमा भन्दा पनि चहकिलो हुन सक्छ ।

हे मानव, कराउनेहरुलाई कुकुरले टोकाएर तैले शान्ति लिन सक्तैनस् ।

कुकुरको साथ साथ एक दिन तलाई समेत उनीहरुले मार्न बेर छैन, किनभने वेदना नै शक्तिको उपादान तत्व हो ।

त्यसैले हे भानव सुखलाई बाँड, सूर्यले घाम बाँडे झैं, बादलले पानी बाँडे झैं, मानव, तैले पनि सुखलाई दुवै हातले बाँड् ।

तेरो संसारमा एउटा पनि दुःखी नभए पछि हे भानव, तैले चिताउन पनि नसकेको अपूर्व आनन्द पाउनेछस् ।


(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)