भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

मेरो देशको ऐनाभित्र / नोर्देन रुम्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

चर्किएका हातहरूले
फुटेका औँलाहरूले/नङहरूले
मैले छाम्न खोजे“, मैले स्पर्श गर्न खोजे“
मेरो देश कतै छ कि भनेर, यो हो कि त्यो हो कि भनेर
तर कहाँ छ मेरो देश ।
गुराँसका फूलहरू हेर्छु कहिले, मधेसका घामहरू हेर्छु कहिले
कुखुरा बास्दै गरेको, पहाडका बस्तीहरूमा हेर्छु
सुसाउँदै गरेको साँझको बाँसघारीमा हेर्छु
कि परको उदाउन लागेको कि डुब्न लागेको रातो घाममा हेर्छु
यो देश कतै मेरो हो कि भनेर, मेरो देश कतै मेरो इच्छा कि भनेर

मेरो नरम कि गरम, मेरा सेता कि राता कि ताता आँखाहरूले
मैले हेर्न खोजेको होइन
मैले चिन्न खोजेको होइन
गरिबहरूको पाइतालामा, बेसहाराहरूको अँगालोमा
मैले देख्न नखोजेको होइन
कतै नपुगेका बाटाहरूमा कुखुराका चल्लाहरूमा
मैले निर्दोष–निर्दोष मेरो देशलाई
प्यारो गर्न नखोजेको होइन
तर खै किन यो देश हाँस्दैन
धरोधर्म कहिलेकाहीँ लाग्छ, मेरो देश नै छ कि ?
कि म देशहीन भइसकेँ ?
 
सुकुम्बासीहरूको छाती माटो भइसक्यो
त्यहाँ कतैतिर म मेरो देश हेर्छु
मेरै बाबु–बराजुको छाती र करङ माटो भइसक्यो
त्यहाँ म मेरो देश हेर्छु
कोहीबेला सुकिसकेका चियाका बोटहरूमा

कोहीबेला भोकाएका नीला ओठहरूमा
कोहीबेला पहाड र भन्ज्याङका खोपीहरूमा
कोहीबेला चिनारीहरूले लाएका भादगाउँले टोपीहरूमा
म खोज्छु मेरो देश तर ?
रेलका लिगहरूमा धर्मको नाम गरेर
तरबार उठाउने मान्छेहरू
झन्डा बोकेर रातो, खुकुरी बोकेर धरमराउने मान्छेहरू
हामीलाई गरम नै मन पर्छ भन्ने मान्छेहरू
हामीलाई जाडो नै मन पर्छ भन्ने मान्छेहरू
हामीलाईत अँध्यारोमा बस्नेबानी भइसक्यो भन्ने मान्छेहरू
बिजुलीबत्ती हामीले अहिलेसम्म पाउन सकेनौँ भन्नेमान्छेहरू
हामीलाई साँझ मीठो चाहिन्छ भन्ने मान्छेहरू
हामीलाई बिहान चाहिन्छ चिसो, रमाइलो भन्ने मान्छेहरू
मेरो देश होकि ?

मेरा आँसुहरू बिरामी भइसके
किन मलाई थाहा छैन, ती आँसुहरूलाई पनि थाहा छैन
कहाँ भिज्नुपर्छ, कहाँ सुक्नुपर्छ
त्यो बाटो, त्यो डाँडो, त्यो भीर, त्यो पाखा
त्यो चाँप, त्यो गुराँस, त्यो काले मान्छे, त्यो अग्लो घर
मेरा देश त्यही हो?
आज कता–कता सोच्दैछु
न यो बिहान हो, न साँझ हो
मलाई एउटा देश चाहिन्छ
मेरो छोरालाई एउटा देश चाहिन्छ
तर खै त ?