भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

म मेरो वजनजति मेरो धरतीलाई भार भएको छु / बैरागी काइँला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


बिना सासका जिउँदा लासहरू
जिभ्रो काटिदिइएका मानिसहरू
म्युनिसिप्यालिटीका धारामा थुप्रिएका
रित्ता टिन र बाल्टीका खापैखापको लाइनजस्तो
आफ्नो रिक्तता भर्न पनि नसकेर
लजाउँदै लजाउँदै आकाशतिर हेरेर के के मागे झैँ
हाम्रा घरघरमा, चुलाचुलामा, कोठाकोठामा
मानिसहरू चुपचाप बस्छन् ।

एकअर्काप्रति आतङ्कको प्रश्नचिह्नजस्तो
यी हाम्रा गल्लीहरू
यी हाम्रा पिचरोडहरू
अकर्मण्यताले अलकत्रा झैँ कालो भएका छन्
मलाई मानिस भएकामा ग्लानी हुन्छ अनि -
म मेरो वजनजति मेरो धरतीलाई भार भएको हुन्छु ।

बिना आसका जिउँदा लासहरू
जिभ्रो काटिदिएका मानिसहरू
घरघरमा सजाइएका चिनिँया माटोको
सजावटका कप र प्लेटहरू झैँ
घरघरमा नानीहरूले चाबी लगाएर दौडाउने
प्लाष्टिकका दगुर्ने मोटर झैँ
जीवनका सडकमा, गल्लीगल्लीमा
बोली खोसिएका मानिस चुपचाप डुल्छन् ।

गल्लीको भित्ताले जनताको माग टाँगेको पोस्टर
आफ्नो छात्तीमा टाँसेको हुन्छ
तर मानिस चुपचाप हिँड्छन्...
दम दिएर टेबलमाथि राखेको घडी झैँ ।

मलाई मानिस भएकोमा ग्लानी हुन्छ अनि -
म मेरो वजनजति मेरो धरतीलाई भार भएको हुन्छु ।