भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

रवीन्द्र शाह / परिचय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

रवीन्द्र शाह परिचय

     श्रद्धाको फूल चढाई दिनु
     आएर लाशमा
     नपाए फूल भै गयो, तिमी
     रोइदिनु आशमा ।

नारायणगोपालले रवीन्द्र शाहको गीत गाएपछि त्यसबेला नेपाली परिवेशमा यी दुवै स्रष्टाको महिमा बढेको थियो । त्यतिमात्र होइन शाहका शब्दमा नारायणगोपालको स्वर मिस्सिएपछिको भाका त्यसबखतका दुख्खमा रमेका प्रेमीप्रेमिकाको गीता बन्थ्यो । नेपाली गीतियात्रामा हिँड्ने गीतकारहरूमध्येको अग्रपङ्क्तिमा आउने नाउँ हो रवीन्द्र शाह । उनले राष्ट्रिय भावधारामा आवद्ध धेरै गीत लेखे । गीत लेख्ता यिनले आफ्नो मौलिक विचार पनि लेखे । उनका गीति शब्दमा राष्ट्रियताको ध्वनी चहकिलो भएर जनजनका हृदयमा सम्प्रेषित हुन्थ्यो । त्यति मात्र होइन उनका शब्द भन्नुको परिभाषामा प्रेम, जीवन र जगत पर्छन् । यी धारा नै उनीभित्र छताछुल्ल भएर नाच्ने गर्थे । त्यसैले यिनको गीतियात्राका विषयमा यिनका बुबा मवीवि शाहले लेखे- 'रवीन्द्र शाहद्वारा रचित गीतका प्रायः धेरै थुङ्गा मैले टिप्ने अवसर पाएँ । परिश्रमी नेपाली ठिटाहरूको उचित परिश्रमले नेपाली साहित्य फुल्ने छ ।' वास्तवमा त्यस पुस्तामा रवीन्द्रको नेपाली गीतियात्रामा महत्वपूर्ण भूमिका थियो। त्यसैले यी जनजनका हृदयमा गीतकारका रूपमा चम्केका थिए :

     म चरी बनी चुमूँला
     म परी बनी रमूँला
     देशको माटो चुमूँला
     म फूल बनी झुमूँला ।

गीतकार राजा महेन्द्रले किशोर वयमा फक्रेका बेला गीतासँग प्रेम गरे । अनि उनीहरूको वैवाहिक जीवन पनि बाँधियो । त्यस बेलाको राजकाजमा त्यस विवाहलाई औपचारिक दिन मिल्दैन थियो । तर पनि यी दम्पत्तिले १९९६ साल असारमा रवीन्द्र शाह जन्माए ।

रवीन्द्रले आफ्नो पीडा, आफ्नो दुक्ख र आफ्नो विपतलाई पनि गीतमा उने । त्यसैले उनले दुखात्मक गीत धेरै लेखे । गीतैको माध्यमबाट उनले आफ्नी आमाको करुणा पनि लेखे र बुबाको गाथा पनि लेखे । वास्तवमा उनी साँच्चैका कवि थिए । त्यसैले उनले कलात्मक पाराले शास्वत बेहोराका गीत लेखे ।

रवीन्द्र जुन परिवेशमा धर्तीमा जन्मे, उनी त्यही माथीको आकाशमा मन जोडेर बसे । अनि त्यसको सग्लो निस्कर्षा यिनले सानैदेखि गीत लेखे । यिनले जति रचना रचे ती भाकाहरू एकएक गरेर आफ्ना कवि वावुलाई देखाए । त्यसबेला यी बाबु छोरा पनि खुबै मिल्थे । वास्तवमा राजा महेन्द्र बाँचुन्जेल रवीन्द्र शाहको संसार नै फराकिलो, सग्लो र उज्यालो थियो । आफ्नो रगतलाई राजकुमारको पद्वी दिएर रवीन्द्र दरबार बनाई दिने काम पनि महेन्द्रले नै गरे । त्यसपछि समाजमा रवीन्द्रको हैसियतले पनि राम्ररी जरा गाँस्न थाल्यो । तर यिनले आफ्नो जीवनको पृष्ठभूमि साहित्यमा नै केन्द्रित गरे ।

पच्चीस वर्षा भएपछि रवीन्द्रको रचना रेडियो नेपालबाट बजेको थियो । भनौं २०२१ सालमा यिनको पहिलो गीत रेडियोमार्फ जनसमक्ष आएको थियो :

     रानी तलाउ किनारा !

रवीन्द्रका प्रायः गीत नातिकाजीले सङ्गीत गरे । नातिकाजीको सङ्गीत थपिनाले यी झनै चर्चित भए । अनि नारायणगोपालले यिनको गीत गाउन थालेपछि यी झनै जनप्रिय हुन थाले । साथै तारादेवीका स्वरमा पनि यिनका धेरै गीत चम्के । पुष्प नेपाली, प्रेमध्वज प्रधान, ध्रुव केसी र गौरी केसीहरूले पनि यिनका गीत गाएर यिनलाई धुरी चढाएका थिए । अनि यी पनि माथी, माथी र फेरि माथीको बादल छुने खालकै स्रष्टा थिए ।

शिष्टता रवीन्द्रको व्यक्तित्व र कृतित्वको मौलिक शैली थियो । बाँचुन्जेल उनले आफ्नो शैलीलाई हेरफेर गराएनन् । त्यसैले उनलाई दरबारियाले पनि माने र उनका स्रोता र पाठकले पनि त्यतिकै माने । किनभने उनी जनजीवनको लहरमा लहरिंदै पनि गीत लेख्थे । अनि यी स्वतन्त्र विचारक पनि थिए । रवीन्दका सम्धी तेजबहादुर प्रसाईका अनुसार उनी प्रजातन्त्रका कट्टर हिमायती थिए । उनका लागि नेपाली भाषा र नेपाली पहिरन पनि अति नै प्रिय थियो । उनी जति उदार थिए, सहृदय पनि त्यस्तै थिए ।

रवीन्द्रको विवाह जनरल डाजलशमशेर जबरा र जयाराज्यलक्ष्मी राणाकी छोरी चन्दासँग २०२२ सालमा भएको थियो । यी दम्पत्तिबाट जन्मेका दुई छोरी रचना प्रसाई, सृजना थापा र छोरा पवीन्द्रविक्रम शाह आआफ्ना घरगृहस्थीमा आबद्ध छन् । रचना र सृजनाचाहिँ जुम्ल्हा जन्मेका थिए ।

रवीन्द्रले आफूले लेखेका अक्षरलाई समेटेर झरेको फूल, मायाको छाया, पत्रपुष्प, सम्झनाको सौगात र भावनाको लहर गरी पाँचवटा गीतिकविताका कृतिहरू प्रकाशनमा ल्याए । उनी कृतिकार मात्र थिएनन् अब्बल दर्जाका लेखक थिए । त्यसैले उनका कृतिका बारे राष्ट्रकवि माधव घिमिरेले लेखे- 'गीतकार रवीन्द्र शाहमा अन्तर हृदय बोलेको पाइन्छ भने कवि रवीन्द्र शाहमा अन्तदृष्टि खुलेको पाइन्छ ।'

रवीन्द्रलाई धेरै नजिकबाट चिन्ने, जान्ने र बुझने अर्का व्यक्तिको नाउँ हो- पं.श्यामदास वैष्णव । वैष्णवले नै यिनका प्रायः सम्पूर्ण कृतिको अनौपचारिक सम्पादन गरे । त्यतिमात्र होइन यिनका गीतिकविताबारे उनले लेखे पनि- 'शाहभित्र सौन्दर्यको चेत, देशको बखान, जीवनको उद्गार र हृदयको भाका पाइन्छ ।'

रवीन्द्रले त्रिचन्द्र्र कलेजबाट बीए पास गरे । अध्ययनकालमा पनि यिनले गीतै लेखिरहे । लेखनमा नै यी रमाए । यसै परिवेशमा रम्दारम्दै यिनले कति ठाउँ हारे, कति ठाउँ जिते । यसै सिलसिलामा यी कहिले रोए र कहिले हाँसे । तर पनि यिनले गीत लेख्न छाडेनन् :

     यस्तो बाजी हारें मैले
     जीत सारा त्रि्रो भयो
     यस्तो गीत गाएँ मैले
     प्रीत सारा तिम्रो भयो ।

रवीन्द्रले जीवनमा धेरैजसो बिरहकै गीत लेखे । यिनले मायाप्रीतिले गुथिएको गीत लेखे । अनि यिनले सुस्केराको भाकाको सिलमा उनेर धेरै राम्राराम्रा गीत लेखे । तर यिनले सस्तो नाराका गीत भने कहिले लेखेनन् । यसबारे उनैले भनेका पनि थिए, 'मलाई उत्ताउलो र क्षणिक रमाइलो दर्शाउने खालका गीतहरूभन्दा गम्भीर भाव व्यक्त गर्ने सङ्गीत मन पर्छ ।'

नेपाली राष्ट्रियताका पूजारी, संवेदनशील कवि र बौद्धिक चेतका गीतकार रवीन्द्र शाह २०५४ साल असोज २१ गते काठमाडौंको वीरेन्द्र सैनिक अस्पतालमा स्वर्गीय भए ।

स्रोतः नई प्रकाशन - रवीन्द्र शाह २२ नोभेम्वर २०१८