भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

रूख / भूपिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सिकर्मी भाइ,
धारिलो आरीले चरचर चिरेर मेरो मेरुदण्ड
मेरो खस्रोपनमा रन्दा लगाएर
यति तन्मयले
तिमी के बनाइरहेछौ ?

दुईसय वर्षदेखि
मैले स्वच्छ हावा दिएँ मानिसलाई
हप्हपी गर्मीमा सितल छायाँ
र वर्खामा ओत दिएँ ।
मैले नै त दिएको हुँ मानिसलाई
चिता जलाउने दाउरा
किताब छाप्ने पाना
र हजारौं मजस्तै
दानी सन्तानहरू ।

जब बुढो भएँ
मालिकको व्यापारिक भवन बनाउँन
लडायौ तिमीले मलाई-
मन्दिर अघि च्वाट्ट छिनेको बलिको बोकाझैं ।
तिमीले मेरा जराहरू समेत उखेल्यौ ।

सिकर्मी भाइ
एउटा जरासम्म छोडिदिएको भए पनि त
म फेरी उठ्थें जुरुक्क हावामा
भत्काउँथें तिम्रो गरिबीलाई गिज्याउने
मालिकको भवनको अटेरी भित्तो
र दिन्थें तिम्रा सन्तानहरूलाई
वर्षौंसम्म जीवन- बुटी ।

ए सिकर्मी भाइ !
तिमीलाई सधैं दास सम्झिने
मालिकको कुरा आज गोली मार
र सुन मेरो अन्तिम पुकारा
मेरा हाँगा र बलियो शरीर ताछेर
स्कुलका नानीहरूलाई कुर्ची बनाऊ
गरीबका झुपडीलाई खाँबो बनाऊ
किसानहरूको लागि हलो बनाऊ
मजदुरका मेसिनहरूको लागि बिँड बनाऊ
बृद्धहरूको लागि लठ्ठी बनाऊ ।
र तिम्रो लागि
एउटा गतिलो हतियार बनाऊ !

तर कदापी मलाई
तिम्रो मालिक बस्ने आसन नबनाऊ ।