भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

वनबालाबाट / भवदेव पन्त

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


हा ! झमक्क पर्योन साँझ गए दूर दिवाकर
औंसीको रजनीमा यो आउँथे के सुधाकर

अनन्ताकाशमा हाय अन्धकार अपार छ
दशै दिशा भरी कालो मेघको अधिकार छ

देखिन्नन् नभमा कत्ति ग्रह तारा कुनै पनि
डढेलो मात्र देखिन्छ पर शैलशिखा मनि

बाटामा पिल्‌पिले बत्ति बाली जुन्किरी उड्दछन् ।
बटुवा त्यै उज्यालामा बाटो खोजेर हिंड्दछन्

खोलाबाट बहेको छ हुरी चीसो भयङ्कर
पातपात उडेको छ फैली सारा दिशा भर

झिलिक्क बिजुली चम्की कहिले बज्र पर्दछ
बज्रले भाँचिदा वृक्ष घोर आवाज गर्दछ

गड्याङ् गुडुङ् गरी पानी मेघले झार्न खोज्दछन्
हुरीका जोरले किन्तु पानीका बूँद उड्छन्

वारी पारी घना झाडी काला काला भयङ्कर
बीचमा खुला रेती फैलिएको सविस्तर

छेउमा त्यस रेतीको तीव्र धारा चलाउँदै
बह्नछ खहरे खोला शिलामा गड्गडाउँदै

त्यही बगरमा एक समदर्शी श्मशान छ
जहाँ पानी र पुण्यात्मा राजा रङ्क समान छन्

धूवाँ हुन्छ विलासीको जहाँ उल्लास वैभव
स्वाहा हुन्छ जहाँ सारा धनिको गर्व गौरव

सन्तापबाट संतापी दूर हुन्छन् जहाँ सब
जगत् आई जहाँ गर्छ आखिरी जीवनोत्सव

त्यही श्मशानमा हेर ! कालो कालो भयङ्कर
धूवैं धूवाँ उडेको छ ज्वाला माथि निरन्तर

जवालामहाँ हा ! जलेकव छ एक रम्य कलेवर
कलेवर उडी हाय ! बालाको स्वर्णमन्दिर

अथवा रुप लावण्य शील साथ मनोरमा
भयो आहुति बालाकी चिताको यज्ञकुण्डमा

बालाको मुरली फूल वनमाला उनैसित
साथ जान्छन् चितामाथि जली राजी खुशी शीत

जलेको लास बालाको देखेर दुइ नेत्रले
नक्कली नरचोलाको बाटो चिह्री विवेकले

कुनै कुनै मलामीले गरे यो पङ्ती भाषण
“पछि हाम्रो पनि होला चितामाथि पदार्पण”

चिताकी क्रूर ज्वालामा त्यो हिस्सी मुखको मिल्यो
चिताको लालिमा त्यो थालाको लालिमा मिल्यो

मृगलोचनको ज्योति चिताको ज्योतिमा मिल्यो
स्वर्णमन्दिर बालाकी चिताको भस्ममा मिल्यो

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)