भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

वसन्त ऋतु / सोमनाथ शर्मा सिग्द्याल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

उदय भो अब सन्त वसन्तको,
प्रकटभो छवि, चित्र-विचित्रको
कम भयो बल शीतल शीतको,
रुचिर भो अनि सर्ग निसर्गको ।।१।।
सब हिमाल हिमालयका खुले,
नव सरोज सरोजलमा फुले ।
अब पलाश पलाशमहाँ चढे,
तब अशोक अशोक भई बढे ।।२।।
न अब शीतल शीत लटक्क छन्,
न खर आतप आँत पगाल्दछन् ।
दमनमा मनमाफिक फूलले
बकुलका कुलका खुस चालले ।
भुवनमा बनमा सुषमा भयो,
शिशिरको सिरको पर भैगयो ।।४।।
मधु भए सहका सहकारमा,
अलि घुमे दलका दल काममा ।
अधिक आदरका दरकारमा,
मह भरे भलका भल कालमा ।।५।।
खर तुषार-तुषाग्नि विलाउँदा,
सय लता बल तागतमा हुँदा ।
हुनगयो नग यो जन-रन्जन,
दर मिलेर मिले वन नन्दन ।।६।।
कदर आदर आदि वसन्तको,
खुप, गरी पगरी दिइ पुष्पको ।
मुकुलका फुल काननमा फुले,
वन-लता नल ताल सबै खुले ।।७।।
अब रसाल रसालस देखिए,
सब मुना नमुना नव शोभीए ।
पिक जमात जमा तरुमा थिए,
स्वर-सुधा सुधा-रसले लिए ।।८।।
तुहिनको दबि ढङ्ग बिढङ्ग भो,
कुसुमको छवि रङ्ग, बिरङ्ग भो ।
चहकिलो नव हाल बहाल भो,
भ्रमरको पनि हाल निहाल भो ।।९।।
न कुसुमाकरका करकापले,
न कमलाकरका कर-काण्डले ।
बरु दिवाकरका कर-कार्यले,
सब हिमाकरका करका गले ।।१०।।
गजब भो, जब भो ऋतु-राज यो,
समयको मयको तुलना भयो ।
प्रकृतिको कृतिको महिमा बढ्यो,
निसिपको सिपको सुषमा चढ्यो ।।११।।

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)