भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

विषवृक्ष / कुन्ता शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


एउटा बिरूवा
अस्तित्वहीन भएर
सानो बतासको झोक्कासँग पनि तर्सँदै
लाचार बेवारिस उभिएको थियो
बाटाको किनारामा ।

दुईवटा जाँगरिला र निर्भीक हातहरूले
आफ्नो कोठेबारीमा भित्र्याए उसलाई
मलजल प्रचुर दिए
स्नेहले आत्मीयतापूर्वक सुम्सुम्याए
प्रेमको रमझम वृष्टि गराए
उसका पहेँला पातहरू कोमल र जीवन्त बने
केही समयपछि फस्टाएर ऊ अजङको भयो ।

मैले हजारौँ सपनाहरू पालेकी थिएँ
वर्षामा ओतको
घाममा शीतल छायाको
सरसराउँदै बग्ने स्वच्छ बतासको
नयनाभिरामी फूलहरूको
सुस्वादिष्ट फलहरूको
तर सपनाहरू मात्र सपना रहे
मेरा आकाङ्क्षाहरू पग्लिएर पानी–पानी भए
त्यसका पातहरूको छुवाइ
भतभत पोलिने भयो
पुष्पगन्धले लुलिन थाले
मेरा अङ्गप्रत्यङ्गहरू
त्यो त विषवृक्ष पो रहेछ ।

एउटा बिहान आँगन शून्य थियो
अनायास अन्तर्धान भएछ त्यो मायावी वृक्ष
रोकियो रोकिन त त्रासको चक्रवात
तर कसरी सन्तुलित गरूँ म ?
विषको प्रभावबाट लुलिएका
मेरा अङ्गप्रत्यङ्गहरू
कसरी व्यवस्थित गरूँ म
विषको गन्धले नीला भएका
मेरा आकाङ्क्षा र सपनाहरू ।