भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

शब्दचित्रमा सिद्धिचरण / मोमिला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बादल लागेको बेला
शीतलमा मानिसहरू उत्सव मनाइरहेका थिए
झरी पर्यो
सब तितर बितर भए
तर, सिद्धिचरण तिनै झरीसँग इन्द्रेणी मागिरहेका थिए ।

घाम लागेको बेला
मानिसहरू घामको पूजा गरिरहेका थिए
अचानक घामै हरायो
अँध्यारोमा सब निरर्थक भए
तर, सिद्धिचरण त्यही अँध्यारोसँग बिहानी मागिरहेका थिए ।

जति हिँडे पनि पुगेजस्तो नलाग्ने जीवन
पानी बगेजस्तै नसोचेरै बगिरहन्छ
तर, सिद्धिचरण सागरमै पुग्छु भनेर बगिरहेका थिए ।

जति बुझूँ भन्दा पनि बुझेजस्तो नलाग्ने जीवन
फूल फुलेजस्तै नसोचेरै फुलिरहन्छ
तर, सिद्धिचरण सुवास छर्छु भनेरै फुलिरहेका थिए ।

हिउँ परेको जुनेली रात
प्रेमी प्रेमिकाहरू हिउँको सौन्दर्यमा मुग्ध थिए
तर, सिद्धिचरण हिउँको आगो सोचिरहेका थिए
        हिउँको पानी सोचिरहेका थिए
        हिउँको हीरा सोचिरहेका थिए
किनकि सिद्धिचरणलाई थाहा थियो—
        हिउँको साम्राज्यमा हिउँकै हुकुम चल्छ ।