भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हाट भर्ने मानिस / बैरागी काइँला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आकाश ढाक्ने सलहरूका झुण्डले
भर्खरै चाटेर छोडेका नाङ्गा डाँडाहरू
धसि्रएका अनि पिल्सिएका छात्तीभरि बोकेर,
मिक्जिरीका फूल शताब्दीको छात्तीभरि सुर्केर,
तुनामा,
कोटमाथि बटनहोलमा
 
बजारको बाँधिएको आयतनभित्र
बगरिहेका भ्यात्त घोप्टिएर
असङ्ख्य छायाहरूका भीडभित्र
हुस्सेमा महायुद्धहरूका बारुदको
कावा खाइरहेका...
आँधीमा
आँखाहरू...
 
शून्यमा,
जिन्दगी भाँच्चिएर फर्कर्ेेको प्रारम्भमा, फेरि !
 
हो, यौटा-यौटा शून्य
अनि बस, ठूलो शून्य
बस, ठूलो पोखरी शून्यको,
आँखाभरि !
 
झोँक चल्दछ,
तर बस, झोँक चल्दछ :
च्यातेर मञ्जुश्रीका तरवारका तीखा औँलाहरूले
यो शून्यको पोखरीलाई, चोभारमा,
 
प्रत्येक दौडिरहेका क्षणको,
बाली फलाऊँ लहलह !
जिन्दगी !
बाग्मतीको पानीले भिजाएर !
 
तर झोँक चल्दछ !
बस, झोँक चल्दछ !
 
इतिहास घिसार्दछ
कमीज च्यातिउञ्जेल इतिहासको पन्नाभित्र
आङमा नङग्याएर कोतरिएको मानचित्र
रगतपच्छे.....
हिरोसिमाको !
पराजयको साइनबोर्ड !
 
मठारेको दुवै टुप्पा गिलिलित्त सोतो कालोको
कर्णको मृत्यु थाह पाएर
षड्यन्त्रले !
 
सङ्गीन बोकी यताउता गर्ने
आस्थाका पालेहरूका आँखा झुक्याएर, मूलढोकामा
फिका हाँसो जर्ला राखेर
चिम्लिएका दृष्टि वरिपरि बुद्धको,
मिहीरयामको मुखभित्र.......
 
हत्तारिएर असङ्ख्य गर्धनहरू उछिनेर
पर्सिहिँडेको आफैँ.....म ....लाई
 
मलाई...........
 
मलाई झण्डै छोएर जाने
पर.... पुगिसकेको कालो मोटरसित
मृत्यु, आज जिन्दागीको छेवैनिर भएर गयो !
सानो दुर्घटनाको खुद्रा पैसाले पनि नकिनेर,
यो जिन्दागी
मृत्यु, आज बजारबाट खाली हात गयो !
 
कुहुन लागेका आलुहरूमा
रगत बेचेर नजिकैको ब्लड-ब्याँङ्कमा, पैसाले
टुक्राटुक्रा जिजीविषा बटुलिरहेका
अस्तित्व लपटेर कात्रोको झोलाभित्र
यी हाट भर्ने मानिसहरूलाई
तर थाहा नै त भएन !
 
मृत्युले त आज
जीवनको बजारको भाउ बुझेर, गयो !
 
उफ ! मृन्यु आज बजारबाट खाली हात गयो !
उफ ! मृत्यु आज बजारबाट खाली हात गयो !
उफ ! मृत्यु आज बजारबाट खाली हात गयो !
 
मलाई झण्डै छोएर जाने .....
पर पुगिसकेको कालो मोटरसित
मृत्यु, आज .....जिन्दगीको छेवैनिर भएर गयो !
 
मेरो हत्केलामा
थोपा रगतको-यौटा क्षण, यो !
समयको यस घुम्तीमा यौटा ढुङगा, बगरमा !
फेदाङ्माले भविष्यको चल्ला मन्साएर छर्केको, बोकेर......
कट्कटिएको रगत !
निधारमा !
दुईचार थोपा.......
शहीदको !
(हो, मृत्यु त सम्मान हो ! )
 
यौटा पोथ्रा हारियो-को
यो-यौटा ओएसिस !
उमि्रएको बालुवासित, फगत
प्रतिबिम्बित उज्यालो पिएर !
तर लत्याइएको बेवारिस वातावरणमा
फुक्का ! स्वाधीन ! निरुद्देश्य !
सुख्खा समयको मरुभूमिमा !
 
फर्माभरि टाँगिएका औँलाहरूमा, झ्यालमा,
अनि दैलोमाथि दलिनतिर
आफ्नै क्षितिजबाट फोइएका माकुराका जालहरू !
 
उफ् ! कति उदास उदास बाँच्दछन् !
उफ् ! मुक्ति पनि यस्तरी खल्लो र उदास हुन्छ?
 
उफ् ! यो निरुद्देश्य स्वतन्त्रता,
यो एक्लो स्वतन्त्रता,
भत्किसकेका आकाङ्क्षाहरूका सङ्घर्षको
आफ्नै ! व्यर्थताभित्र कैद हुन्छ !
उफ् ! मुक्ति पनि यस्तरी खल्लो र उदास हुन्छ !
 
भित्ताभित्ता ठोक्किनु
आकाशसम्म उचालिएका यी आँखाहरू,
कतै आकाश नभेटेर
असन्तुष्ट र अपमानित यी आँखाहरू
बीच बाटोमै खसिदिन्छन्......
 
........थाकेर !
शून्यको अँध्यारो खाडीभित्र,
फेरि अर्को अनिश्चयको शताब्दीभित्र !
अनि हो ......
काँधमाथि-गिद्ध बोकेर मुटु लुछाउनु
तर पीडाको स्वाभाविक अनुभूतिबाट वञ्चित
प्रमेथ्यूको मुठीमा.....
खुम्चिएका छालाहरूका खापैखापभित्र
नजरबन्द छ :
 
मभित्र :
यौटा शिर ढलिसकेकेा विद्रोह !
 
यौटा शिर ढलिसकेकेा विद्रोह !
यौटा शिर ढलिसकेकेा विद्रोह !
यौटा शिर ढलिसकेकेा विद्रोह !
 
आफूलाई
यद्यपि आफूलाई युद्धमा पठाउँछु,
अन्तर्द्वन्द्वमा
(तर, फगत अन्तर्द्वन्द्वमा )
पड्काउँछु भिसुभिएस र बाली
लागोको लपलपाउँदो बाढीमा होमिदिनु
ज्वरो फुटाउने
रिङटा चलाउने
धृष्टताका समानान्तर रेखाहरू असह्य
मानचित्रमा जिन्दगीको
अनि रिस उठाउने फिकापन नपुंषकताको
यी हाट भर्ने मानिसका आँखाभित्र
यी कैलाकैला आँखाहरूका सागरभित्र......
 
सुकाउँछन् नील नदी हत्केलामा
समय जमाउँछन् अनस्तित्वको ढिकाभित्र
हिमस्पर्शले यी श्रापित आँखाहरू !
 
यी श्रापित आँखाहरू
यी असंख्य आँखाहरूको सागरलाई
झोँक चल्दछ
(तर, बस् झोँक चन्दछ)
 
लहर-लहरमा भाँचेर
चोइटा-चोइटा लहरको समीधामाथि
डढेलो लगाउन आगोमा,
आगो ! आगो ! आगो ! वडवानल !
जीवनको होम : जिन्दगीको आह्वानमा,
 
फेरि, एकपल्ट अझै !
बस, एकपल्ट अझै !
 
जिन्दगीमा !
जिन्दगीमा !
जिन्दगीमा !
 
तर यस चोकमा
गीलो छायाँमा भास्सिएका अपराधीहरूलाई
सम्झौताले बाँधेर पैताला
आँखाहरू घोप्ट्याएर पैतालाको छापभित्र
पोखाइसकेर जिन्दगी
नयाँ सडकको दुवैतिर
यताउता अल्मलिइरहेका रित्ता गाग्रीहरू गतिहीन
यी हाट भर्ने मानिसहरूलाई
 
च्याप्प समातेर आँखामा,
निहूँ खोज्नु अनि पिटिदिनु
झापट झापटले गीताको !
यस चोकमा ......
एकछिन रोकेर सूर्यलाई
क्यानभासको पल्लो छेउमा, कुरुक्षेत्रमा, जिन्दगीमा !
 
तर आक्रमण गर्नु प्रत्येक उपत्यकाभित्र
अनि उखेलिदिनु प्रत्येक आँखामा
मलाई निर्वासित गर्ने उदासीनताका सीमास्तम्भ
आँट नआएर खुकुरीको धार मेट्दैछु खियाको परतले
इन्द्रीयहरू मारिरहेछु उमारेर झ्याउहरू मृत्युको !
उफ् ! कति साधारण मृत्यु !
 
गोली नभेट्टाएर गान्धीको छातीको
खरीको बोट नभेट्टाएर टुँडिखेलमा
काँटी नभेट्टाएर जेरुसलमका गल्लीहरूमा
फेरि भौँतारिन्छ आत्महत्यामा -
यो तक्षक !
 
मठारेको दुवै टुप्पा गिलिलित्त सोतो कालोको
कर्णको मृत्यु थाह पाएर
षड्यन्त्रले !
 
 
सङ्गीन बोकी यताउता गर्ने
आस्थाका पालेहरूका आँखा झुक्याएर, मूलढोकामा
फिका हाँसो जलाइराखेर
चिम्लिएका दृष्टि वरिपरि बुद्धको,
मिहीरयामको मुखभित्र.......
 
हत्तारिएर असङ्ख्य गर्धनहरू उछिनेर
पसि्रहिँडेको आफैँ.....म ....लाई
 
मलाई...........
 
मलाई झण्डै छोएर जाने
पर.... पुगिसकेको कालो मोटरसित
मृत्यु, आज जिन्दगीको छेवैनिर भएर गयो !
सानो दुर्घटनाको खुद्रा पैसाले पनि नकिनेर,
यो जिन्दगी
मृत्यु, आज बजारबाट खाली हात गयो !
 
कुहुन लागेका आलुहरूमा
रगत बेचेर नजिकैको ब्लड-ब्याँङ्कमा, पैसाले
टुक्राटुक्रा जिजीविषा बटुलीरहेका
अस्तित्व लपेटेर कात्रोको झोलाभित्र
यी हाट भर्ने मानिसहरूलाई
तर थाहा नै त भएन !
 
मृत्युले त आज
जीवनको बजारको भाउ बुझेर, गयो !
 
उफ ! मृन्यु आज बजारबाट खाली हात गयो !
उफ ! मृत्यु आज बजारबाट खाली हात गयो !
उफ ! मृत्यु आज बजारबाट खाली हात गयो !
 
मलाई झण्डै छोएर जाने .....
पर पुगिसकेको कालो मोटरसित
मृत्यु, आज .....जिन्दगीको छेवैनिर भएर गयो !