भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

हिउँदको प्रथम बर्सात्मा / मोमिला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जिन्दगीको एक मौसम
तिमी पारि
म वारि
वीचमा बगेथ्यो आँसुको समुद्र
हिउँदको प्रथम बर्सात्मा

एक प्रहर
रेलवे स्टेसनबाट छुटेको मन
त्यहीँ भेटिन्छ कि भनी पर्खँदा–पर्खँदै
पात–पातमा मेरा आँसुहरू जमे
हरिया पहाडहरू हिमपहाड बने
केवल यादहरूको न्यानो स्पर्श
आतुर–आतुर पग्लेर आँखा
जता–ततै जलतरङ्ग
हिउँदको प्रथम बर्सात्मा

प्रकृतिको सबैभन्दा सुन्दर दिन
हिउँदको प्रथम बर्सात्मा
माटोको रोमाञ्चक सुगन्ध फैलिएको बेला
पातहरू उमङ्गिएर सङ्गीत बजेको बेला
मैले केवल तिमीलाई नै सम्झेँ
मात्र तिमीलाई नै सम्झेँ
हिउँदको प्रथम बर्सात्मा

प्रतीक्षामै
शनै–शनै हिउँ बर्सियो
बाटो बरफ बन्यो
कताबाट हुर्रिएर पुनः प्रेम बर्सियो
समय नै बरफ बन्यो
सृष्टिको सारा सौन्दर्य
प्रकृतिको ओठमा जम्यो
अँगालोको मदहोसीमा
जवानीको रङ्ग चढ्यो
अङ्ग–अङ्ग तरङ्गिएर
प्रेम नै किनारमा अडेसा लाग्यो
हिउँदको प्रथम बर्सात्मा