भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

कन्याकुमारी / विष्णुप्रसाद धिताल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:07, 9 जुलाई 2018 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


कन्याकुमारी (झ्याउरे)

हिमाल छुने हिन्दुस्थानको समुद्रझैं फाँट
यताउता सागर छुने स्वर्गगाको घाट;
चारु चरा गान भर्छन्, ताल दिन्छन् ताल,
नाचि-नाची घुँघुरिन्छन् सागरका छाल ।
कन्याकुमारीमा मेरो मनको धोको पुग्न पावैन र ? ।।१।।

गण्डकीको डुबुल्कीमा एक जुनीको पाप
जान्छ, गोता मार्छु म ता पानिमहा आज
ब्रह्मापुत्र भागीरथी सिन्धु कालिन्दीको
नर्मदा औ गोदावरी कृष्ण कावेरीको ।
कन्याकुमारी पापी चोला फाली लक्ष्य भैटोइन र ? ।।२।।

सुन-सुनौला अर्बी घोडा यौटी धाई दिन्छन्,
लाखन थरी जुहार गट्टा अर्की धाई खेल्छन्,
हजार हजार खेलौना ली पूर्वी धाई हाँस्छिन्,
पैंतीस करोड भाइ-बहिना अर्की धाई हेर्छिन् ।
कन्याकुमारीको झोलुङ्गोमा हाँसी विश्व हाँकोइन र ? ।।३।।

खोला-नाला डाँडा-काँडा नाघी फाँटै फाँट
यो मेरो मन छिनमा पुग्छ हिमालको फाँट;
कन्दमूल जरी-बुटी खाई चोला फेरुँ ?
कन्याकुमारीमा भन्छु, हिमाल पसी धोको पुग्ला र ? ।।४।।

तरङ्गका गह्रा गह्रा टप्की टप्की कुदूँ !
लहरक उड्किला डिल एकै शासमा फाँदूँ !
ऊ त्यो जहाज उछिन्न के बाँकटे पो हानूँ ?
एकै फालमा उस पारीको दिव्य ज्योति भैंदूँ !
कन्याकुमारीमा भन्छु, पारी पुगी दर्शन मिल्ला र ? ।।५।।

विद्या जोरी बुद्धि कमाई तत्व खोजी खोजी,
चैन-अमन सत्य-सुखको शान्त बाटो रोजी,
रेल-मोटर नाघी नाघी मनको विमान हाकूँ !
यौटै सिंहासनमा बसी सारा धरा हाकूँ ।
कन्याकुमारीको सपना, विपनामा के पो हेला र ? ।।६।।

लहर लहर, लाख सूर्य चन्द्र तारा ताँती-
ताँती लागी सिँगारेको इन्द्रधनुष भाँती
स्वर्गङ्गाको झिलीमिली यो बाटोमा लागूँ-
पल्ला छेउमा यो धराको भार बिसौन पुगूँ !
भन्द मन वारी बसी, पारी जान यस्तै होला र ? ।।७।।

मारुतले मन्द मलय निम्तो यता दिन्छ,
गर्जि-गर्जी लाल फाली सागर उता डाक्छ;
शैल-शिखर हिउँले हाँसी 'आऊ यता' भन्छ,
कृष्णरङ्गी सागर 'यता आऊ' हुकुम दिन्छ ।
दोभानमा-दोधारमा झुल्दै यो मन के पो गर्ला र ? ।।८।।

अरब सागर-हिन्द सागर-वँगोपसागरका
संगमामा झुल्दै झुल्दै कन्याकुमारीका
मैन्हा बिते लामा लामा वर्ष वर्ष बिते-
तपस्याको फल नलागी जुगन जुग बिते ।
कन्याकुमारीमा मेरै लक्ष्य भेट्ने आशा पुग्ला र ? ।।९।।

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)