भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

कलम चलेन / बदरीनाथ भट्टराई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


उठी दुई हजार अठ सालको उठानमा
म मित्रवर्गलाई लेख्न खोज्दथें सुकामना ।।
परन्तु संझिए कुरा अतीत सात सालका
म व्यग्र झन भएँ सुझेर दृष्य चैत तीसका ।।१।।

झलक्क संझियो अधैर्यपूर्ण एउटा दल
गरेर झ्यालखान-भङ्ग जो पुग्यो निकै तल ।।
सुझ्यो तुरुन्त फेरि छिन्न भिन्न पाहुनाघर
अहो ! जहाँ वह्यो असाध्य उष्ण रक्तको भल ।।२।।

अपार क्षोभ त्यो विभिन्न नाद त्यो उदेकको
फराल गोलिको निनाद फेरि कानमा गुँज्यो ।।
हरे ! कुद्यो कता पुग्यो कता विचित्र त्यो दल
घनिष्ट अन्धकारमा फल्यो अनर्थको फल ।।३।।

थरी थरी क्रया प्रतिक्रया बडो भयानक
असह्य जोश लोकको अघोर त्यो पिटापिट ।।
प्रहार त्यो गुहार त्यो दुवै ति सैनिक
भएँ म सन्न संझदा समस्त त्यो क्रमैसित ।।४।।

पछाडि टूँडिखेलपारि नष्टभ्रष्ट मोटर
झलक्क चित्तभित्र देखियो चढाउँदै डर ।।
जहाँतहीं विपत् अशान्ति कष्ट दुःख देखिए
भविष्यतर्फ दृष्टि दी म थर्कमान नै भएँ ।।५।।

त्यही पला त गूँडबाट निस्किएर गौंगली
उडे कल्याङ् बल्याङ् कल्याङ् बल्याङ् गरी यताउति ।।
हुँदा हुँदै कुनै सुकामना सुझेन क्यै पनि
भएर दिक्क छाडि नै दिएँ तुरुन्त लेखनी ।।६।।

('पद्य-संग्रह' बाट)