भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

कवि ! कसरी कविता लेख्छौ ? / कुन्ता शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:13, 9 अक्टूबर 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


घरी रूँदै घरी कराउँदै
घरी उत्तेजनाले संयम हराउँदै
आफूभित्र आफैँ नअटेर
यताउता पोखिँदै
घरी झोक्किँदै, घरी कोक्किँदै
मनको विकृत भावना पोख्छौ तिमी
कवि कसरी कविता लेख्छौ तिमी ?

फलाक्तै सत्य र निष्ठाका सन्देशहरू
उभिएर स्वार्थको चुचुरामा
कसरी अलाप्छौ तिमी
त्याग र बलिदानका उपदेशहरू,
वस्तुस्थितिलाई कालो पर्दाले छोपेर
सत्यलाई मर्माहत पार्दै
तिखो तीरले रोपेर
मानवताको गीत कसरी गाउँछौ तिमी
कवि कसरी कविता लेख्छौ तिमी ?

पापका गन्हाउने खाडलहरूमा,
घाँटीसम्म डुबेर
सुम्सुम्याउने निहुँमा शरीरलाई
अझ व्यथित र क्लान्त पारेर
मल्हम लगाउने निहुँमा चिथोरेर
घाउलाई रक्ताम्य पारेर
चीरहरण गर्दै नग्न पारेर सृष्टिलाई
भग्न पारेर हृदयलाई
अन्धकारको साम्राज्य फैलाएर
मानवताको गीत कसरी गाउँछौ तिमी ?
कवि कसरी कविता लेख्छौ तिमी ?

कवि म तिमीलाई पढ्छु
तिम्रो कवितालाई पढ्छु
तिम्रो सिद्धान्त र तिम्रो व्यवहारलाई पढ्छु
कवि कति बेग्लाबेग्लै छन् दुवै कुराहरू
सिद्धान्त र व्यवहारमा
उत्तरी धु्रव र दक्षिणी धु्रवजस्तो भएर
कसरी जीवनयापन गर्छौ तिमी ?
कवि कसरी कविता लेख्छौ तिमी ?

दुराचारलाई गम्लङ्ग अँगालो हालेर
अन्यायीलाई काँधमा बोकेर
सम्मोहनका व्यूहहरूमा थुनेर
चिहिलबिहिल पारेर असक्तहरूलाई
न्यायको युद्ध कसरी लड्छौ तिमी
सशक्त भावना कसरी पोख्छौ तिमी
कवि कसरी कविता लेख्छौ तिमी ?

भुँभुँ गर्दै भोगी भँवराजस्तो भएर
भेट्नेबित्तिकै फूलहरूमा सुँड धस्तै
आफ्नो प्रशंसाको हिमाल आफैँ उभ्याएर
आफूलाई अवस्थित गर्ने टाकुरा आफैँ बनाएर
आफ्नो महानताको लहरतरङ्ग
सृजना गर्न आफैँ प्रयत्नरत तिमी
दम्भका दमाहाहरू ठूलो स्वरले बजाउँदै
नम्रताको पगरी कसरी कस्छौ तिमी ?
कवि कसरी कविता लेख्छौ तिमी ?

वासनाका आहालहरूमा चोपिँदै
विवेकको धरातलबाट तल–तल खस्तै
ब्वाँसाहरूको धूर्र्तताले
चिहिलबिहिल पार्दै निर्धाहरूलाई
कुन मुख लिएर हिँड्छौ तिमी
कवि कसरी कविता लेख्छौ तिमी ?

कविता त प्रतिबिम्ब हो,
सरल हृदयको
कविता त अनुभूति हो,
स्वच्छ मस्तिष्कको
हृदय जो स्वच्छ मुहानजस्तो हुनुपर्ने
त्यहीँ नै फोहोरमैला भएपछि
स्वच्छ जल बहाउँछौ कसरी तिमी
कवि कसरी कविता लेख्छौ तिमी ?

कवि ब्वाँसाहरूको अभ्यास छोड
सल्काऊ दियो विवेकको
र सत्यको मुहान बन
संयमको डोरीले कस
तिम्रो चुल्बुले छाडा मनलाई
मस्तिष्कको विकृति पखाल
झल्मलाउनेछ सत्यको घाम
नफाली कपटको अमावस्यालाई
छातीका फाँटहरूबाट
जुनझैँ कसरी फक्रन्छौ तिमी ?
कवि कसरी कविता लेख्छौ तिमी ?

पाप धुरीबाट कराउँछ कराउँछ
सत्य तेजिलो घाम हो
हत्केलाले छेकिन्न
पातलो मलमलले छोप्तैन
सिनोजस्तै गन्हाएपछि
आफूले आफैँलाई तताऊ
प्रायश्चित्तका खलाँतीहरू फुकेर
शरीरभरि दुर्गन्घ लेपेर
सुगन्धित भएको कुरा
कसरी गर्छौ तिमी ?
कवि कसरी कविता लेख्छौ तिमी ?