भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

के लेख्नु कविता, के सुनाउनु कविता ? / कुन्ता शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:11, 9 अक्टूबर 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


चोरहरू
चोरीको माल काँधमा हालेर
फेरी बोलेर हिँडिरहेका छन्
डाँकाहरू
सर्वस्व गरेर अर्काको दोकान खोलेर
उँचो बोली बोलिरहेका छन्
सुन्नेहरू सुनिरहेका छन्
रमितेहरू आनन्दपूर्वक हेरिरहेका छन्
केही फरक छैन रछ्यान र ओछ्यानको
हातहरू पीपलका पात हुन् भने
हत्केलाहरूको उपयोगिता
मात्र ताली पिट्नु हो भने
मात्र जम्लाहात गर्नु हो भने
यस्तो विषम परिस्थितिमा
के लेख्नु कविता, के सुनाउनु कविता ?

भिउँसिने बोकाहरू
सच्चरित्रताको वकालत गर्छन्
रगत र मासुका भोकाहरू
अहिंसाको पक्षधर बन्छन्
लुच्चाहरू, ढँटुवाहरू, दुष्कर्मीहरू
सत्यवादी हरिश्चन्द्र बन्छन्
अन्यायीहरू न्यायको दुन्दुभि फुक्छन्
ढुङ्गे मुटु भएकाहरू
संवेदनशीलताको नाटक गर्छन्
यी नायक हुन पुगेका खलनायकहरू
निर्लज्जहरू, नकच्चराहरू
सभाहरूमा माननीय हुन्छन्,
आदरणीय र अनुकरणीय हुन्छन्
खोइ कति सम्झाउँदा पनि
सम्झँदैन यो मन
कति बुझाउँदा पनि बुझ्दैन
यो चित्त
त्यसैले यो अशान्त वातावरणमा
यो क्लान्त मनस्थितिमा
के लेख्नु कविता, के सुनाउनु कविता ?

मीठो बोल्छन् मुसुक्क हाँस्छन्
तर व्यवहारले भुसुक्क पार्छन्
दयालुजस्ता छन् कृपालुजस्ता छन्
तर वास्तविकतामा बेग्लै छन्
यी यस्तै छन्, भोगी भमराजस्तै छन्
फेरिफेरि फूलको रस चुस्तै छन्
मानवतालाई फणा फिँजाएर डस्दै छन्
मौका पाए इदिअमिन हुन्थे कि
साहसले भ्याए हिटलर बन्थे कि
के अझै भ्रमित छ तपाईँको चेतना ?
के अझै त्रसित छ तपाईँको शौर्य ?
तपाईँको सुन्ने शक्ति र दृष्टिको प्रखरता
किन विकलाङ्ग भएको छ यसरी ?
उदेक लाग्छ, अहो साह्रै उदेक लाग्छ
उज्यालो परिवेशमा पनि
तपाईँले सत्य र असत्य नठम्याएको देख्ता
युद्ध हुँदा न्याय र अन्यायको
न्यायको पक्षमा हात नउठाएको देख्ता
अहो क्या संवेदनशील हुनुहुन्छ तपाईँहरू
कसाहीका अहिंसा गीतहरूमा
अहो कति द्रवित हुनुहुन्छ तपाईँहरू
गोहीले चुहाएका आँसुहरूमा
कृपया सतर्क हुनुहोस् सतर्क हुनुहोस्
विष मिसिएको छ सर्वतमा
आत्मीय हुँदै नपिउनुहोस्
यस आन्दोलित मनस्थितिमा
यस असहज परिस्थितिमा
के लेख्नु कविता, के सुनाउनु कविता ?

चटकेहरूमा
सम्मोहन शक्ति रहेकै हुन्छ
चलाखीपूर्ण प्रदर्शनले खेलको
मानिसको मन छोएकै हुन्छ
शरीरको जताततैबाट
गुच्चाहरू निकाल्दा
सातपत्र कपडाले बेरिएको कन्तुरमा
तपाईँको औँलाको औँठी पुर्यातउँदा
सुईले तपाईँको घडीमा
उसकै समय बजाउँदा
कसरी अल्झनुहुन्छ
तपाईँ मोहका व्यूहहरूमा
चटके त आखिर चटके नै हो
गोही त आखिर गोही नै हो
च्यात्नुहोस् असत्यको अँध्यारो पर्दा
जसले छोपेको छ सत्यलाई
जुर्मुराउनु होस्, जुर्मुराउनुहोस्
छलीहरूका विरूद्ध मुर्मुरिनुहोस्
कति सालिक बन्नुहुन्छ तपाईँहरू ?
कति विमूढ रहनुहुन्छ तपाईँहरू ?
स्थिति सधैँ यस्तै रहिरहन्छ भने
नदी दक्षिण होइन
उत्तरतिर बहिदिन्छ भने
यस्तो तीतो परिस्थितिमा
सारै नै असहज मनस्थितिमा
के लेख्नु कविता, के सुनाउनु कविता ?

धस्कँदै छ धरहरा मेरो विश्वासको
म अशान्त हुँदै छु
खस्कँदै शिखर
मेरो आस्थाको म क्लान्त हुँदै छु
बसेर बोल्दा नसुन्ने कसैले
बोलूँ उठेर
हावा बतासले बगाई लग्ने
तापले सन्तापको
मन पाकिसकेको छ
भोगेर विडम्बना वर्तमानको
मन थाकिसकेको छ
विजयी हुँदै जाँदै छ
पलप्रतिपल असत्य
मनभरि लुकाएर आशङ्का
कसरी गाऊँ
“सत्यमेव जयते” भन्दै सत्यको जयगान
प्रत्यक क्षण
चस्कँदै गरेको मुटु बोकेर
छातीभरि–भरि कष्टको शूल भोगेर
अन्यायका कोलहरूमा चेपिँदै, पेलिँदै
अविवेकका काला दुर्गहरूमा निस्सासिएर
कसरी फुकूँ म न्यायको दुन्दुभि
कसरी गरूँ म सत्यको समर्थन
यस्तो तिक्त परिस्थितिमा
साह्रै नै रिक्त मनोस्थितिमा
के लेख्नु कविता ? के सुनाउनु कविता ?

परिवेश उदेकलाग्दो छ
खोइ कहाँ कसरी पुरस्कृत भएका छन्
सज्जन साधुहरू र गरूँ
“परित्राणाय साधुनाम्” को उद्घोष
डण्डित हुँदै नभएका लुच्चाहरू देख्तादेख्तै
कसरी भनूँ “विनाशाय च दुष्कृताम्”
त्यसैले हिजोआज मेरो छाती
असन्तोषको ज्वालामुखी भोगिरहेछ
मेरो चेतना
आक्रोशको लाभा ब्यासाल्ट उगेलिरहेछ
यदि मेरो पिल्सिनुबाट
मेरो सल्कनु र आत्तिनुबाट
मेरो रक्ताम्य हुनुबाट
अलिकति पनि झस्कनुहुन्न
तपाईँहरू भने
मूढोजस्तो संवेदनारहित
बन्नुहुन्छ तपाईँहरू भने
के लाभ व्यर्थमा समय बर्बाद गर्नुको
यदि चौतारी चोरहरूकै हुन्छ भने
साधुलाई शूली तयार पारिन्छ भने
यस्तो उल्टोपाल्टो परिवेशमा
सतीको सरापले पिरेको देशमा
के लेख्नु कविता, के सुनाउनु कविता ?

असत्यको पल्ला भारी छ
सत्य उचालिँदै गएको छ
अत्याचारको स्वर ठूलो छ
न्याय लाचार भएको छ
अदालत लागेकै छ
हातमा तराजु लिएकी न्यायमूर्ति
आँखा झिम्काइरहेकी छ,
मुख चम्काइरहेकी छ
कुवामा लगेर
खसाल्नु खरायोले बाघलाई
अनि दौडमा कछुवा प्रथम हुनु
यी त चित्त बुझाउने
चुटकिला मात्र हुन् सायद
एकातिर बखान हुनु
सिद्धान्तका सुन्दर, सम्भ्रान्त ठेलीहरूको
अर्कोतिर बथान हुनु
विकृत, घृणित व्यवहारहरूको
यदि शक्तिको नै भक्ति हुन्छ भने
न्याय कुनामा पसेर
धुरूधुरू रून्छ भने
यदि होचाको मुखमा नै
घोचो हुन्छ भने
यस्तो पीडादायी परिस्थितिमा,
यस्तो अचम्भित मनस्थितिमा
के लेख्नु कविता, के सुनाउनु कविता ?

के थाहा छ तपाईँहरूलाई ?
कपटी शकुनिहरूले
मान्छे थाप्ने जाल
बनाएका छन् कवितालाई
धोकेबाज ब्वाँसाहरूले
जीवित मान्छे पुर्ने
खाडल बनाएका छन् कवितालाई
कसैले उभो लाग्ने सिँढी अनि
शीतल ताप्ने पिँढी
बनाएका छन् कवितालाई
यसरी नै
फोहोर फाल्ने
आहाल बनाइन्छ भने कवितालाई
शरीरको भोक मेट्ने
शयनागार बनाइन्छ भने कवितालाई
यस्तो विकृत परिवेशमा
के लेख्नु कविता, के सुनाउनु कविता ?