भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

के सिकाऊँ साना नानीहरूलाई / कुन्ता शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:12, 9 अक्टूबर 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


ताते गर्दै
तोते बोल्दै
सानासाना नानीहरूले
आरम्भ गर्दै छन् यात्रा जीवनको
जटिल अनि कठिन हिँडाइको
वसन्त गृष्म र शिशिरको
आँधी, चक्रवात र असिनापातको
साना अबोध र निश्छल नानीहरू
चञ्चल, सुन्दर र कोमल नानीहरू
उफ्र“दै, रमाउँदै थालनी गरिसकेका छन्
यात्रा उबडखाबड र कष्टयुक्त परिवेशको ।

द्विविधामा छु
के सिकाऊँ म यिनीहरूलाई ?
सहज प्रस्तर राजमार्गको यात्रा
या चुनौतीयुक्त गन्तव्यको रोजाइ
सुन्दर सुरक्षित गुँडमा बन्द हुने
रेशमी कीराजस्तो
या अथाह असुरक्षित आकाशमा
उडान भर्ने बाजजस्तो
खाली कागजजस्ता सफा
र कञ्चन यिनीहरूलाई
के सिकाऊँ म साना नानीहरूलाई ?

असमञ्जसमा छु
के लेखूँ म यी सादा पानाहरूमा
कुन चित्र कोरूँ कुन रङ भरूँ
सत्य, इमान्दारिता, साहस, निर्भिकता
स्वार्थरहितता, त्याग, संवेदनशीलता
आत्मसम्मान, अनि आत्मबलिदान
छटपटीमा छु, अन्योलग्रस्ततामा छु
के सिकाऊँ म साना नानीहरूलाई ?
कुन मार्ग निर्देश गरूँ म यिनीहरूलाई ?
अत्यन्त सहज जीवनमार्गको छनोट
चाटुकारिता, स्वार्थान्धता, पदलोलुपता
आत्मश्लाघा, कायरता, विवेकहीनता
अहो दिनरात द्रुततर गतिमा
जीवनमार्गमा पैताला चालिरहेका
जीवनका रहस्यहरूमा जिज्ञासु हुँदै गएका
यी सानासाना नानीहरूलाई
के बताऊँ म यिनीहरूलाई
के सिकाऊँ म साना नानीहरूलाई ?

साँच्चै नै सोचमग्न छु
के लेखूँ यी सादा पानाहरूमा
सुकरात लेखूँ, ज्योदार्नो ब्रुनो लेखूँ
सीता लेखूँ, द्रौपदी लेखूँ
अनि लेखूँ योद्धा लक्ष्मीबाई
किंकर्तव्यविमूढ छु
कस्ता रङले रँगाऊ म यिनीहरूलाई ?
के सिकाऊँ म साना नानीहरूलाई ?
 
अनन्त इच्छाका स्वामिनीहरू यिनीहरू
सुन्दर नाना र खेलौनाको चाहना
स्वादिष्ट खानाहरूको चाहना
पाखुरा फिँजाएर आकाश छुने रहर
त्रसित–त्रसित हुन्छु म
परिवेशसँग देश, काल र परिस्थितिसँग
अशान्ति, असुरक्षा र डण्डविहीनतासँग
फुल्न पाउने हुन् वा होइनन्
यी कोपिलाहरू निर्बाध फूल भएर
चिन्तित–चिन्तित भएर सोचिरहेछु
कुन संस्कारले सम्पन्न गरूँ यिनीहरूलाई ?
के सिकाऊँ म साना नानीहरूलार्ई ?
 
हरेक पल
नयाँनयाँ ज्ञान आर्जन गरिरहेछन्
यी सुकुमारी स्वप्नदर्शीहरू
फराकिलो आँगन रोजिरहेछन्
उज्यालो परिवेश खोजिरहेछन्
आह्लादित हुँदै वात्सल्यमा यिनीहरूको
चिन्तित हुँदै भविष्यमा यिनीहरूको
सोचिरहेछु कुन दिशानिर्देश गरूँ यिनीहरूलाई ?
के सिकाऊँ म साना नानीहरूलाई ?
  
त्रसित–त्रसित छु
भनिन्छ बाल्यकालको भोगाइले
निर्धारण गर्छ भविष्य मानिसको
कोलाहलमा, असुरक्षामा, अशान्तिमा
नपरून् यी नानीहरू
गरिबीमा, अनिकालमा, अभावमा
नहुर्किऊन् यी नानीहरू
मस्तिष्कमा काई परेको असन्तुष्टिले
सखारै आइलागेको भोकले, अशान्तिले
विकृत बनाउँछ मानिसलाई
भोकले शोकले नछोओस् यिनीहरूलाई
स्वस्थ होऊन्, सुन्दर होऊन्
सकारात्मक सोचले सम्पन्न होऊन्
वीरता दौडियोस् रक्तप्रवाहमा यिनीहरूको
अदम्य साहस र ऊर्जाका धनी होऊन्
केकस्तो मार्ग प्रस्तर गरूँ म यिनीहरूलाई ?
के सिकाऊँ म साना नानीहरूलाई ?

विडम्बनायुक्त वर्तमान विश्व छ
अस्तव्यस्तता छ, असुरक्षा छ
मान्यता मासिँदै गएको छ
सभ्यता उदाङ्गिँदै गएको छ
विषमता छ अन्योलग्रस्तता छ
हत्या र हिंसाको ज्वाला दन्किएको छ
जातीय दङ्गा, धर्मभीरूहरूको अन्धवेग
महङ्खवाकाङ्क्षीहरूले फोहोर बनाएको परिवेशमा
विकृतिले धराप बनाएको स्थितिमा
मात्र शरीरमा योनि हुनुको कारणले
जेनेटिक सेन्टरको क्रूर पन्जाबाट
टुक्राटुक्रा भएर
फोहोर खाल्डामा फ्याँकिनबाट बचेका
सुन्दर सपनाका स्वामिनीहरू
सृष्टिका धरोहर यी अबोधहरूलाई
के सिकाऊँ म साना नानीहरूलाई ?

सुरक्षित छैन
अझै पनि भविष्य यिनीहरूको
जताततै थापिएका धरापहरू छन्
करूणाविहीन यन्त्रमानवहरू छन्
मानिसको व्यापार गर्ने
हत्यारा द्रव्यपिशाचहरू छन्
सोच्दै छु सृष्टिका यी सुन्दर फूलहरू
इस्पातजस्तै बनून्
पहाडको शिखरमा उभिएका
दृढ सतिसालजस्तै बनून्
विकृति विसङ्गति बगाएर लैजाने
बेगवान् नदीजस्तै बनून्
चुनौतीयुक्त गन्तव्य रोज्ने
बहादुर योद्धा बनून्
सङ्घर्षको राँको बोक्ने
अद्वितीय वीराङ्गना बनून्
ब्रह्माण्डमा हाम फाल्ने
कुशल अन्वेषक बनून्
मानवप्रति करूणाले ओतप्रोत बनून्
शरदाकाशजस्तो निर्मलहृदयी बनून्
मनमा उर्लिरहेछन् प्रश्नका छालहरू
कुन दिशा इङ्कित गरूँ यिनीहरूलाई ?
के सिकाऊँ म साना नानीहरूलाई ?