भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

घर / कुन्ता शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:05, 9 अक्टूबर 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


पुराना खाँबाहरू गाँसेर
त्यस्तै नै निदाल र दलिनहरू बटुलेर
मैले एउटा पुरानो–पुरानो देखिने
नयाँ घर बनाएँ ।

बटमहरू ठाउँठाउँ जोडेर
पुट–इनले टालेर चुहिने टिनहरू छाना लगाएँ
कतै जोडेर कतै टालेर
घामपानीबाट ओतिने
एउटा सानोसानो घर बनाएँ ।

वर्षौँवर्ष
आँधी र हुरीहरू बोकेर
त्यो घर एक्लैएक्लै उभिइरह्यो
विभिन्न जिम्मेवारीका कुम्लाकुटुराहरू बोकेर
म कताकता हराइरहेँ
म कताकता भौँतारिइरहेँ
सायद घर एक्लिइरह्यो
सायद घर नियास्रिइरह्यो ।

कस्सिएर आँधी आउँदा
मेरै स्मरण गर्योद सायद घरले
मुसलधारे वर्षाले ठाउँठाउँ रूझाउँदा
मलाई खाजिरह्यो सायद घरले
ठूलाठूला चक्रवातसँग मच्चिँदै
घरले आफ्नो अस्तित्व जोगाइरह्यो
मेरो अनुपस्थितिमा नियास्रिएर
मेरो आगमनको प्रतीक्षामा
आतुर आँखाहरू बाटो हेर्दै
निश्चल उभिइरह्यो मेरो घर ।

उपद्र्याहा मुसाहरूले निर्धक्क
उफ्रँदै सुरूङ खनिरहे जताततै
उत्पाती धमिराहरूले कुटुकुटु खाँदै
धोद्रा पारिरहे जताततै
कतै अरिँगालले गोलो बनाए
कतै गौथलीले गुँड लगाए
साँझ परेपछि
जताततै चमेराले गोता लगाए
नजिकैको सिमालीघारीबाट
झ्याउँकीरीहरूले कर्कश स्वरमा गीत सुनाए
मौन सुनिरह्यो मेरो घर
अविचल उभिइरह्यो मेरो घर ।

वर्षौँवर्ष चराझैँ पखेटा फिँजाएर
नयाँनयाँ क्षितिजहरू अँगालो मार्दै
नौलानौला भूगोलका पाटाहरू चहार्दै
हराइरहेँ हराइरहेँ म
हरेक क्षण नियास्रो ओढेर,
प्रत्यक पल शून्यता ओछ्याएर
मेरै प्रतीक्षा गरिरह्यो घर
मेरै बाटो हेरिरह्यो घर ।

हिजोआज उदेक भएको छ
थाहा छैन कोनि के हुँदै गएको छ
अचम्भित छु, रणभुल्ल छु
म एकछिन पनि अलग्ग हुन सक्तिनँ यस घरबाट
एक निमेष पनि पर हुन सक्तिनँ यस घरबाट
सुम्सुम्याउँछु आत्मीयतापूर्वक यसलाई
टाल्दछु मुसाले पारेका भ्वाङहरू
भत्काउँछु माकुराले थापेका धरापहरू
आनन्दित हुन्छु गौँथलीका चिरिबिरीहरूसँग
वर्तमान समयमा
यही प्राप्त हुन्छ
आनन्दको सर्वोच्चता मलाई
यही नै अनुभूति हुन्छ
राहतको उच्चता मलाई ।