भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

चन्द्रोदय / सोमनाथ शर्मा सिग्द्याल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:48, 9 जुलाई 2018 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

थियो भव्य शोभा वसन्ती निशाको,
सुगन्धी थियो देह सारा दिशाको ।
सफा कीर्ति जस्तो जुनेली प्रभाले,
सुधा-स्रोत वर्षा गरी भर्न थाले ।।१।।

रसीलो अवस्था थियो दूरसम्म,
भयो शान्ति-पूर्ण प्रभाले अचम्म
पर्योा लोक आलोकमा मस्त गम्म,
रह्यो चित्त आनन्दमा तृप्त डम्म ।।२।।

कता गो कता गो, हरायो अँध्यारो,
यता भो उता भो उज्यालो उधारो ।
उदायो सदा योग आनन्द-कारी,
खुलायो खुला योजना शाति-धारी ।।३।।

वसन्ती निशालाई हीरा जडेको,
सुकीलो उपर्ना र तक्मा मिलेको ।
जयन्ती मनाएर चारै दिशाले,
सफा फूल लावाहरु छर्न थाले ।।४।।

उषाको सुनौला भकुण्डो हरायो,
निशाको रुपौला घुमी फेरि आयो ।
नयाँ खेल आकाशमा खोलिनाले,
निहालेर ताराहरु हेर्न थाले ।।५।।

पहाडी गुफाबाट निस्केर आई,
सुकीलो जटा भार भारी फिजाई ।
द्विजाधीशले शुद्ध पारेर सत्त्य,
फिराए सबै तर्क आनन्द-तत्त्व ।।६।।

भई चन्द्रको ज्योतिले व्योम गम्म,
प्रभाको सुधाले अघाएर डम्म ।
दिशा शैल पृथ्वी समुद्रान्त सम्म,
उज्याली रहेको छ पारी अचम्म ।।७।।

सबै भाग खोली, खुलाई पदार्थ,
भए चन्द्र आचार्य जस्तै यथार्थ ।
यसैले उज्याली सबैको विचार,
नयाँ कौमुदीको गराए प्रचार ।।८।।

सुगन्धी निशा-पुष्पको वासनाले,
सबै तर्फ आमोद चर्को हुनाले ।
निशा-नाथमा मित्रको भावनाले,
दिशा गैह्र आनन्दमा फुल्नथाले ।।९।।

किनारा रँगाई जडाएर मोती,
तुषारो सरी तेजिलो रङ्ग पोती ।
उभ्याई दिशारुप खम्बा, बलीयो,
गरी, टाँगियो चाँदनी चादनी यो ।।१०।।

घुमाएर शुध्याउने गोल इन्दु,
फिंजाएर नाना शयन् फेन-बिन्दु ।
पछारेर धोई नभो निम्नगासा,
बिछ्याई दिएको छ तन्ना धरामा ।।११।।

चकचौंध पार्ने नयाँ रोशनीमा
खुलाई गला, चाल चालेर धीमा ।
सुधा-पान गर्दैं विलासीपनाले,
चकोरीहरु जूनमा नाच्नथाले ।।१२।।

सफा पक्ष पारी, गराई उदेक,
लिई तारकारुप हंसी अनेक ।
रसीला शशी राजहंसानुसार
हिंडे, गर्न आकाशगङ्गा-विहार ।।१३।।

फिंजारीरहेको रुपौला छ सारी,
सितारा भरेको पछ्यौरी छ भारी ।
जडी माथमा फूल हीरा जडाउ,
जुनेली निशाको चल्यो हाउ-भाउ ।।१४।।


(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)