भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

जीवनगीत / कुन्ता शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:07, 9 अक्टूबर 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


अस्तित्व स्थापित गर्न
आफ्ना–आफ्ना हतारिएका
असङ्ख्य असङ्ख्य शुक्रकीटहरू
जब झ्वाम्म हाम फाल्छन्
आमाको शरीरमा
ती सबैलाई उछिनेर
ती सबैको विजित योद्धा बनेर
बिस्तारैबिस्तारै चुपचाप चुपचाप
अनि क्रमिक रूपले
समयसँग हातेमालो गर्दै
भ्रूण बनेको मानिस ।
 
त्यहाँ पनि सजिलो कहाँ थियो र ?
न्यानो भए पनि
निष्पट्ट अँध्यारो आमाको त्यस गर्भमा
एकै पोको परेर गुजुल्टिएर
आमाका हृदय–स्पन्दनसँग अन्योन्याश्रित भएर
सङ्क्रमणकालीन नौओटा महिनाहरू
आमाको शरीरमा नै आश्रित भएर
जटिल प्रसव–वेदनाका क्षणहरू पार गरेर
रक्तरञ्जित हुँदै कहालिँदै
यो धरती टेकेको मानिस
निस्पट्ट अँध्यारोबाट जाज्वल्यमान प्रकाशमा
आँखा तिरमिराउँदै
पहिलो पटक श्वास–प्रश्वास लिँदा
निस्सासिँदै कहालिँदै
प्रारम्भ भएको जीवन–यात्रा मानिसको ।

त्यसपछिका दिनहरू पनि
हुँदै भएनन् सोचेजस्तो
जताततै मुख बाएर बसेका मृत्यु–दूतहरू
व्याधिहरू, अत्यासहरू, षड्यन्त्रहरू, धरापहरू
जीवनयापनका सूत्रहरू खोज्नुपर्ने चुनौतीहरू
जीवन–मार्गमा भेटिने दुईखुट्टे ब्वाँसाहरू
छली रचनाकारहरूका प्रपञ्चहरू
समस्याका चक्रव्यूहहरू
हुरीहरू, आँधीहरू र सुनामीहरू
दायित्वबोध र कर्तव्यबोधका गह्रौ“ भारीहरू
सबै नै पार गरेर
अँध्यारो परिवेशमा दियोजस्तो बलेर
जगमगाएको जूनजस्तो
मगमगाएको फूलजस्तो
अमूल्य अनि सुन्दर जीवन मानिसको ।

रक्तपिपासुहरू,
अपराधीहरू, विवेकहीनहरू
स्वार्थका भकारीहरूका लागि
छलीहरूका लागि, विश्वासघातीहरूका लागि
हारेर थाकेर जीवनका जटिल आयामहरूसँग
सृजनाको मुहान सुकाएर
सुन्दर जीवन पत्रपत्र चुँडालेर फालेर
किन लम्पसार पर्छन् मानिसहरू
किन छनोट गर्छन् संवेदनशील मस्तिष्कहरू
हिउँजस्ता चिसा अँगालाहरू मृत्युका ?

मानिस
आफ्नो इच्छाले मात्र अवतरित हुँदैन धरतीमा
के जीवन आफ्नै लागि मात्र हो ?
के सन्तुष्टि आफ्नै मात्र ठूलो हो ?
नदीजस्तो प्रवाहमय जीवन
उर्वर फाँटहरूका लागि हो
सुन्दर सृजनाका लागि हो
एउटा थोपा पनि खेर नजाओस्
जीवन सृष्टिको बिन्दु
बरू उज्यालो मोती बनोस्
सल्कियोस् बरू हुर्हुर्ती
अन्धकारहरू चिर्ने ज्योति बनोस्
जीवन सृष्टिको दिव्य वृष्टि बनोस्
नष्ट नहोस् दुष्टहरूका लागि
सुन्दर पटक्क हुँदैहुँदैनन्
हिउँका जस्ता चिसा तन्नाहरू मृत्युका ।

शालिग्राम बन्छ कसरी एउटा निर्जीव ढुङ्गो ?
ठोक्किँदै गुडुल्किँदै नदीमा भीषण बाढीहरूमा
घोटिँदै, रगडिँदै
यताबाट उता उताबाट यता हुत्तिँदै
तय गर्दै जाँदा एउटा कष्टप्रद यात्रा
भीषण भँगालाहरूमा
यदि कमजोर भयो फुट्यो भने बीचैमा
त्यो ढुङ्गो मात्र हुन्छ, निरीह ढुङ्गो
शालिग्राम रहँदैन, पूजनीय हुँदैन
बत्ती आफैँ नजली उज्यालो छर्दैन
गाह्रो त गाह्रो छ जटिल जीवन–यात्रा
आइलाग्छन् जब जङ्घारहरू भने
मिल्दैमिल्दैन तिघ्रा कमाउन
बिस्तारबिस्तार छिचलिँदै जान्छन् अक्करहरू
पैताला टेक्नमात्र पर्छ दह्रो गरी
भुमरीहरू, छाल र तरङ्गहरू
पछिपछि छुट्दै जान्छन् कठिनाइहरू
सायद यही नै हो जीवन, अनि यात्रा जीवनको
किन बुझ्दैनन् संवेदनशील मस्तिष्कहरू
र मुख्र्याइँ गर्दै रोज्न पुग्छन्
हिउँजस्ता चिसा, डरलाग्दा र
कुरूप तन्नाहरू मृत्युका ।