भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

तिनीहरूले लौरो बिर्सिए खोलो तरेपछि / कुन्ता शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:35, 9 अक्टूबर 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


आँखाभरि स्वप्नवत् दृश्य लिएर अतीतका
सम्झँदै उत्ताल तरङ्गहरू वर्तमानका
अहो त्यो वीभत्स आँधी थामियो
जसले थामिनु नै थियो एक दिन
अहो त्यो भयानक बलिवेदीको अन्त भयो
जसको अन्त हुनु नै थियो एक दिन
यातनाशिविरहरूमा थङथिलो पारियौँ हामीहरू
ताता गोलीहरूले क्षतविक्षत पारियौँ हामीहरू ।

मृत्यु एकदमै नजीकबाट गयो
बोध भयो हामीलाई
मृत्युका चिसा हत्केलाहरूको, दमनको
दुखाइ कस्तो हुन्छ,
दनदनाउँदा दावानलहरू
पिउँदै प्रतिरोध गर्ने हामीहरू
क्षतविक्षत छौँ, मरणान्त छौँ
यन्त्रणाको पल्लो किनारामा पुगेर
बाँचेका हामीहरू
वीभत्स निरङ्कुशताले निल्यो साथीहरूलाई
अस्ताए अनायासै अँगालोका न्याना घामहरू
अघि बढ्दा अङ्कुश लगाउन
निरङ्कुश बहुला हात्तीलाई
अहिले आँधी थामियो र बाढी पनि शान्त भयो
अँध्यारो लामो कालरात्रिको अन्त भयो ।

हाम्रा घाइते आँखाहरूमा
तरङ्गित भए मोहक सपनाहरू
हाम्रा चसचसाइरहेका छातीहरूमा
प्रवाहित भए सुन्दर कल्पनाहरू
हामीले बिस्तारै शिर उठाएर पूर्वतिर हेर्‌यौँ
आकाश रक्तिम थियो
न्यानो सूर्योदयको आकाङ्क्षामा
बिर्सियौँ सारा यन्त्रणाहरू
चलमलाउन सकेनन् हाम्रा अवयवहरू
अस्पतालका श®याहरूबाट
चर्किएका हाम्रा मेरूदण्डहरू
भाँचिएर टुक्राटुक्रा भएका हाम्रा हाडहरू
लुलिएर सुक्दै गएका हाम्रा रक्तनलीहरूका
कुनै शीतक्षेत्रको पुष्प, लतिकाझैँ बन्दी बने
असक्तताको व्यूहभित्र ।

पूर्व रातो भयो
न्यानो घाम झुल्कने प्रतीक्षामा
बिर्सेर भयावह कहरहरू
फुल्न लागे मनका कोमल पङ्कजहरू
नयाँ बिहानीको अभिलाषामा
बिर्सेर चिसा छुवाइहरू मृत्युको
पक्कै दण्डित हुनेछन् मृत्युदूतहरू
पक्कै नत–शिर हुनेछन्
हिमालमुनिका हिटलरहरू
घाइते मन सरोवरमा उठ्न लागे
प्रसन्नताका हजार तरङ्गहरू
व्यथित मस्तिष्क–केन्द्रहरूमा खेल्न लागे
मधुर उमङ्गहरू
तर वास्तविकता बेग्लै भयो
घाउहरूमा मलम होइन नून–चुक दलेर गयो
अनायास चल्यो चिसो स्याँठ उपेक्षाको
पत्तै नपाई खस्यो कालो तुवाँलो अवहेलनाको
हामी शून्य द्वीपमा अलपत्र लडिरह्यौँ
न्याना स्पर्शहरूको आशामा
स्नेहयुक्त दृष्टिहरूको प्रतीक्षामा ।

बाहिर उत्सवका स्वरहरू सुनिए
हामी विहड अवस्थामा छटपटाइरह्यौँ
बाहिर चहलपहलका ध्वनिहरू गुन्जिए
हामी मुर्दा शून्यतामा हराइरह्यौँ
बाहिर उत्सवका ध्वनिहरू गुञ्जित भए
विजय मुकुट शोभित भएर हिँड्दै छन् अरे
हाम्रा आह्वानकर्ताहरू
प्रशंसा र अभिनन्दनका यामहरूमा
प्रफुल्लित छन् अरे हाम्रा अगुवाहरू
उनीहरूका पाइतलाहरू पछ्याएर
उत्सर्ग ग¥यौँ हामीले आफूलाई
उनीहरूको आदेश स्विकारेर
अर्पियौँ युद्धमा हामीले आफूलाई
उनीहरू गर्वले हिँडिरहेका छन्
कुनै शक्तिवान् सम्राट्जस्तै
प्रशंसाले हर्षलेविभोर छन्
तालीका गडगडाहट सुन्दै
कुनै बलवान् शासकजस्तै ।

हामी बन्द छौँ उपेक्षाका पिरामिडहरूमा
अहो यो उपेक्षा त कष्टकर छ
यातना–शिविरभन्दा पनि
साँच्चै नै यो अवहेलना भयावह छ
मृत्युभन्दा पनि
गुन्जिँदै जान्छन् उनीहरूका
पदचापहरू एकदमै छेउबाट
सायद शब्द छैन उनीहरूसँग
सहानुभूतिका लागि
हराउँदै जाँदै छन् उनीहरूका आकृतिहरू
सायद बिर्सिए उनीहरूले निकट अतीतलाई
सायद सम्झन चाहेनन् उनीहरू हाम्रा बलिदानलाई
सायद समय छैन उनीहरूसँग
दृष्टिपात गर्न हाम्रा चोटहरूमा ।

हामी लाठीहरू
मात्र उपेक्षित लाठीहरू
उनीहरू भँगालामा अलपत्र थिए
उनीहरू भुमरीमा भयग्रस्त थिए
हाम्रो आधार खोजेर भयमुक्त हुन सके
अहिले आँधी थामियो र बाढी पनि शान्त भयो
उनीहरूले शून्य बगरमा फाले हामीहरूलाई
उनीहरूले तिरस्कारको आहालमा हाले हामीलाई
अहो यो कस्तो विडम्बना
खोलो तर्नु र लौरो बिर्सनु
साँच्चै नै बिर्सिए उनीहरूले हामीलाई
हाम्रो साहसलाई, हाम्रो उत्सर्गलाई
हाम्रो बलिदान र जुझारूपनालाई
भोलि बिर्सनेछन् सत्यलाई, निष्ठालाई
पर्सि बिर्सने छन् जनतालाई, परिवर्तनलाई
उनीहरू आत्मप्रशंसामा लीन छन्
उनीहरू आत्मरतिमा तल्लीन छन्
निश्चय नै बिर्सनेछन् तपाईँ–हामीलाई
गन्तव्यलाई, लक्ष्यलाई
जनताहरूलाई मात्र लिस्नो ठान्नेहरू
माथि पुगेपछि, लक्ष्य प्राप्त भएपछि
बिसर्नेछन् लिस्नाहरूलाई
फेरि पनि आवश्यकता पर्छ
लिस्नाको भन्ने सत्यलाई
फेरि पनि खाँचो पर्छ
लौरो भन्ने यथार्थलाई