भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

तिम्रो आँगनमा शान्ति / अभि सुवेदी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:35, 5 मई 2016 का अवतरण ('<poem> भेटेभेटे जस्तो हुने समाउँन खोज्दा घामको झुल्क...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

भेटेभेटे जस्तो हुने
समाउँन खोज्दा
घामको झुल्को मुठीभित्र राख्न खोजेजस्तै
त्यसै हराउँने,
हराएको मायाँको झस्काजस्तो
मनमा एकै पटक आएर बसेको
अनि गएको एउटा बेलाजस्तो,
क्वाँक्वाँ रोएर बोलाए पनि नहुने
हाँसेर आव्हान गरेपनि नभेटिने
अति नजिकै भएको बेला
हृदयको ढुक्ढुकीमा कतिपटक
ताल मिलाएर गाएको भए पनि
सधैं अलिक पर बस्ने घामछायाँ,
पहिले पहिले लय नमिलाई सिकेको बाँसुरीबाट
मैले निकालेको बेसुरा धृ्नमा
बरु केही छिन बसेको सम्झना त्यो,
टाढाको पाठशाला जाँदा थाकेर नानीहरु
एकैछिन बाटाको चौतारोमा बसेर हाँसेजस्तो त्यो
अक्षरहरु पढ्दैजाँदा शब्द र उच्चारणका कुइनेटामा
यसै अर्थ नलाग्ने तर सारङ्गीजस्तो र्याइँर्याइँ रोइबसेको
अमुक आनन्दको कुनै क्षणजस्तो त्यो,
वुध्दको विशाल मन्दिरमुनिको
फ्फृल, माला, खादा र प्रसादहरु अनि
भर्खर बालेका बत्तीको गन्ध उडेको परिवेशमा
छेउबाट अकिञ्चन हेरिबस्ने एउटा घरहीन
भोजनहीनका आँखामा तरङ्गित आकाशजस्तो त्यो।
 
हरेक दिन खबर र दृश्यमा आइबस्ने
मानिसका विनासका कथापछाडि
मैले यी सबै बिम्बका पछिल्तिर राखेको
आशाको एउटा शान्त आकाशको कल्पना जस्तो रहेछ कि त
हामीले खोजेको शान्ति
कत्ति खोजेपनि झन् टाडा बन्दै गएको
मानिसका प्रकम्पित सपनाको एउटा रचना
जति पढे पनि दुस्वप्न जस्तै
इतिहासका पानाभरि पोतिएको अराजक चित्र
थाकेर कहीं बिसाउँदा जीवन नचल्ने
बोकिरहँदा त्यसै खसेर जाने
नित्य चिप्लिने समयको कथा रहेछ कि त्यो।
 
आजकल म शान्ति भन्नुभन्दा
अर्ध्दमुदित आँखा भएका गुरु र सन्तका बोलीमाभन्दा
तिम्रो आँगनमा ...
 
अलिक पछिल्तिर बसेर
भोकानाङ्गा अनि युध्दले
नित्य पीडा भोगिरहेका
पत्रकार र शान्तिका हतियारधारी अग्रदृ्तहरुलाई
आशातीत भोला आँखाले हेर्ने बालकका अनुहारमा
शरणार्थी सिबिरहरुमा इतिहास, तानाशाह
कसैको बारेमा केही थाहा नपाई
डोरी नाग्ने खेलिरहेका नानीहरुका खुसीमा
खस्किदै जाने क्षणहरुमा शान्ति देख्न थालेको छु।
 
आगन्तुक उत्तरी चराहरुका स्वरमा
शान्ति एकाएक छेउको गोब्रेसल्लाको रुखमा बोलेको सुनेर
तिमीले हिजो कसैले थाहा नपाई केवल
वोधगयाको अमुक पिपलका
पात सररर पट्पट् सुनिने
सुनसानमा उज्यालो भेटेको क्षण सम्झेर
म केही भेटेको खुसीयालीले उफ्रिन्छु
अनि एकैछिन आँखा चिम्लेर
दुर्दान्त समय दौडेको कल्पना गरेर
फेरि तिम्रै वोलीहरुमा समाहित हुँदै
आँधीपछि अलमस्त सुनसान, सुकिलो फाँटमा
अक्षर, आशा र मायाँका क्षणहरु कुदेको देख्छु
फर्किन्छु, अक्षर तिनै छन्
मायाँ गर्न कम्पित ओठ तिनै छन्
पहिलो बाँसुरीमा जन्मेको चेतना उही छ
आकाश आँखामा बोकेर बसेका छिछिमिरा उनै छन्
पहिलो उज्यालो समाउँदा चिप्लेर गएको सक्सक् त्यही छ
क्रन्दनहरु तिनै छन्
तिम्रा अर्ध्दमुदित नयनहरु तिनै छन्,
यो स्वयम्भृ् थुम्कोमा तिम्रा समाधिमुनि बसेर
मोजार्टका एकाध भायोलिन सोनाटा बजाउँने
सङ्गीतकार पर्यटक त्यही छ
यो साल पनि तिम्रो जन्मदिन त्यसरी नै आएको छ
फरक यत्ति छ, हामी खोज्नेका अलमल झन् गहिरिंदै छन्
हाम्रा समयहरु त्यसै चिप्लिएर गइरहेछन्,
तर म यो क्षणलाई समातेर जीवनका आँगनभरि हुर्र्याउँदै
त्यसैसँग नानीहरु खेलेको हेरेर
फेरि एकपटक तिम्रो जन्मदिन मनाउँन
तिमीले महाभिनिष्क्रमणमा छोडेर
फेरि फर्केको त्यही आँगनमा आइपुगको छु।