भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

त्यो माग्ने / सानुमति राई

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:25, 9 जुलाई 2018 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


"बाजे ! कहाँ बस्छौ तिमी ! "
यही थियो जिज्ञासा मेरो बृद्ध मागने प्रति,
जसका दुःखी निधार र अनुहारमा
दुःखै-दुखैका अगणित रेखांकनले दिइरहेथे सूचना
निकट-भावी मृत्युको !

"भिखारीको पनि" भन्न थाल्यो त्यो, "घर हुन्छ, नानी !
जसका आँगनमा रात बित्दो छ, त्यही मेरो घर,
जसको ढोकामा उभ्छु, त्यही हुन्छ मेरो द्वार,
सुत्छु राती तारा गन्दै खुला आँगनमा अर्काको आफ्नै घर ठानी
उभिन्छु यो पैट भर्नाखातिर आर्काकाो ढोकामा
आफ्नै घरको ढोका मानी !"

"के शान्ति छ तिमीलाई त्यस्ता घरमा ?"

"शान्ति  ? छ अवश्य सन्तोष ! आफ्नो औकात-अनुहार !
राती-सुन्छु कहिले फटकार, अनि
बनको बिरालो भई उठेर जान्छु अरुतिर !
दिउसो-कहिले खान्छु हप्काइ; तैपनि,
सहृदय बृद्ध भै छोड्छु आशीष दिई त्यसलाई ।"

"आफ्नो त्यस्तो अवस्था प्रति के कहिल्यै
उठ्दैन तिम्रो मनमा दया ?"

भन्यो त्यसले सुस्केरासित, "दया ?"
दया गर्छ अरूले,
गर्दैन माग्नेले माग्नेलाई !
गर्दो हो माग्नेले दया माग्नेलाई त
जान्थ्यो किन अरुका द्वार ?"

"केही सम्पत्ति छ -?"

"छन् सम्पत्ति मेरा हुनुपर्छ जत्ति माग्नेको ।
एउटा ठूलो छ थैलो आशाको,
छ एउटा लठ्ठी बुढेस्कालको,
र यो जीर्ण काया र रहेको शेष प्राण ।"

धृष्टता थियो यो तै पनि मैले सोधेँ
"कसरी भयौ तिमी माग्ने, बाजे ?"

"जब काल-गतिले भकुर्‍यो र हान्यो लात दुर्दिनको,
भत्क्यो बाटो जुराई खाने मुखमा !
दरिद्रताको छाती र कंगालपनाको काखमा
जब रोएँ, कराएँ, पछारिएर
अनि दुर्दिनको लात बज्‌र्‍यो ममाथि अझ जोडको ।
उठ्न सकिनँ, तर पछि उठेछु घस्री-घस्री अनि बनेँ म माग्ने ।
छट्पटाएँ म निश्चय, रोएँ, कराएँ म अवश्य,
दुःख नै रोयो दुःख देखेर मेरो, तर पग्लेन, नानी,
भाग्यमा लेखिएका अक्षर ती ढुङ्गाका !"

"लागेन लाज माग्न जाँदा ?"

"लाज ! लाग्यो लाज अवश्य !!
तर जब पेटको ज्वालाले लाज मान्न बिर्स्यो,
जब शरीरका अंग-प्रत्यंगले लाजै मान्न छाड्यो,
अनि लाज आफैँ पच्यो !!
.म जान्नँ मग्न अरूका ढोका-ढोका
बोलाउँछन् ती द्वार आफैँ मलाई ।
अनि भोक जगाई सार्छु म पाइला डराई-डराई"

"छैनन् तिम्रा कोही आफ्ना परिवार, कुटुम्ब, सन्तान?"

"यो माग्नेको?"
प्रियदर्शासिवाय छैन कोही यो संसारमा ।
आफ्नो भन्नु छु म नै केवल अभागीमध्ये हजारको ।
टोकेँ सबैलाई पहिले नै केवल यो दिन देख्नलाई
केवल टोकिनँ आफैँलाई आफ्ने देखाउन यो दिन अरूलाई !
जहान मरी घरको दियो निभाई
बसेँ दुई छोरासित अन्धकारमा आफैं अन्धकार भै !
तर छोडे ती दुईले पनि मलाई
अनि आँखा नै धमिलिए, पर्‍यो लोती आँखामनि
अनुहार सबै चाउरियो, चल्न छाडे अंगले,
निराशामा माग्ने बनायो आशाले !
अनि बोलाएँ भगवान्‌लाई !!
अब केवल नजिक छ एउटै कुटुम्ब,
साइनो छ मृत्यु भनेर त्योसित !
बोलाइरहेछु उसलाई केवल, लैजाओस् उसैले यो सागर तारेर !"

भिक्षा-प्राप्तिमा, अनि त्यसको अन्तरबाटे निस्क्यो,
"भलो होस् तिम्रो ! "

त्यो उडेर हिँड्यो ।
त्यसको अन्तिम वाक्य पनि
ढुङ्गा खसेको पानीको छाल भई अकासिंँदै विलीन भयो !
अनि फेरि मैले पुनः मौनभाषामा सोधेँ,
"बाजे, कहाँ जान्छौ तिमी ? "


(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)