भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

दागबत्ती !!! / भीमनिधि तिवारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:01, 9 जुलाई 2018 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


म सात वर्षको थिएँ, अबोध बालकै थिएँ,
कुनै कुरा थिएन थाह, मस्त नींदमा थिएँ,
मलाइ घच्घच्याउंदै, उठाउँदै, ‘ल हिंड्, भने
अघोर मध्य रातमा धुरु धुरु रुँदै गएँ
(१)
यता लगे, उता लगे, कता कता कता लगे,
जता तता छ अन्धकार, अन्धकारमा लगे,
रुवाउँदै, फकाउदै, फुल्याउँदै लगे लगे
खुरुक्क आर्यघाटको महामसानमा लगे !
(२ )
चिता थियो, प्रशस्त दाउरा बिछान झै थियो,
उ माथि एक लम्ब लाश लम्पसारमा थियो,
सफेद वस्त्र ओढनी, सिरान केशको थियो,
(त्यही पवित्र मूर्तिमा अनन्त कामना थियो )
(३ )
जसै पर्यो मसानको अदृष्य दृष्य दृष्टिमा
हवास होश क्यै रती रहेन अन्तयमा ममा
नसाहरु लुला भए, समस्त चेतना सुते,
सुषुप्त पूर्वजन्मका अनेक वेदना उठे
(४)
पहाडबाट रत्न झैं गर्भबाट निस्किएँ,
पिएर दूध तीन चार वर्षसम्म हुर्किएँ,
उही शरीरलाइ हाथ ! मै जलाउने भएँ ?
म खुम्चिएँ ! म आत्तिए ! म झस्किएँ ! म तर्सिएँ !
(५ )
सबै जना बडा थिए, म सूक्ष्म कीट झैं थिएँ
न बोल्न सक्दथें त्यहाँ न जोड चल्दथ्यो तयहाँ
बनाइ नग्न, मुण्ड औ दिए प्रदीप हातमा
त्यही लिएर घाटमा चिता वरीपरी घुमें
(६ )
बति सिर्सिराउँथ्यो, म चाहिं लुग्लुगाउँथें,
त्यहीं नजीक बाग्मती बहेर कुल्कुलाउँथिन्,
सुदूर फाँटमा बथान स्यालकमा कराउँथे,
खगोलमा अनेक तारकादि जग्मगाउँथे
(७ )
मसान-घाटमा यताउती जती जना थिए
कुनै त सुँक्क गदथे, कुनै त घुँक्क गदथे,
कुनै भने कठोर दैवलाइ नै सराप्दथे
सबै जना म माथि नै सहानुभूति गर्दथे
(८)
(जसै म शान्त चित्तले द्विन्त्र बन्द गर्दछु
समग्र दृष्य ती अगाडि फन्न फन्न घुम्दछन् )
म को थिएँ ! कहाँ थिएँ ! कठै !! अचेत झैं भए
तथापि दागदीप त्यो स्वयं दिनै पर्योब दिएँ !!!
( ९)
असार मासको कुवा, तलाउ झैं टमाटम
भरिन्छ मातृ-मोहको समुद्रले जसै मन
नयाँ नयाँ अनेक चिन्तना, विषाद आउँछन्
कवित्वबाट शीघ्र नै जडत्वमा पुर्याेउँछन्
(१० )
अनिष्ट सामना गरी अपत्यलाइ ओथरी
कठैबरी ! उ गौंथली चरी अकालमै मरी !!
कुनै दिनान्त-पान्थ चक्रपातमा पर सरि
निसासिएर, आत्तिएर रुन्छ बाल बेसरी
(११)
प्रवाह रक्तको उही र मांस, धर्म जो उही
अवाज, रुप यी उही र भावना सबै उही
अहो !! म ता सवाक नवीन चित्र ता छंदैछु नि
यही विचार अन्त्यमा मलाइ दिन्छ सान्तवना
(१२ )
(कविता-‘नन्द’ बाट )

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)