भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

नाटक हेरेर घर फर्किरहेको एउटा दर्शक / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:53, 16 मार्च 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


कति कारुणिक छ यो अन्तिम दृश्य
झमझम झरिरहेछ झरी
टाउको हल्लाएर पानी झार्दैछन् चराहरू गुँडमा
घरछेउ ओत लागेका छन् हिँड्दाहिँड्दैका बटुवाहरू
टाढा अबिरवृष्टि भएको छ इन्द्रेनीको
तर बादलको कानेटोपी लाएर
उदास र खिन्न छन् नीला पहाडहरू
यस्तो बेला छुट्टिदैछन् नायक नायिकाहरू
नाटकको अन्तिम दृश्यमा

नाटक हेर्दाहेर्दै कतिखेर
रुपान्तरित भइसकेको थिएँ म दर्शकबाट नायकमा
मानौं यो मेरो आफ्नै जीवनकथा हो
पहाडमुन्तिर उपहारको एउटा साङ्केतिक परेवा आफूसँग राखेर
अर्कोचाहिँ नायकलाई दिदै भन्दैथिई नायिका–
हाम्रो प्रेम सत्य रहेछभने
भेट्नेछन् यी परेवाहरू एकदिन !

भीडमा पनि आँखै आँखामा गरिरहेथेँ इसारा उनीहरू
साटिरहेथे कागजका स–साना नोटहरू
हातमा हात राखेर कहिले बसको यात्रा
कहिले झरीको सावरमा नुहाउँदै सँगसँगै
उनीहरूको सपनाको कुरा, जीवनको कुरा
अर्को जुनी सँगै जिउने कुरा
यी यावत् तासको घरजस्ता नाजुक कुराहरूलाई भत्काउन
काफी थियो हिंस्रक समयको एउटा सानो थप्पड
र सुम्सुम्याउँदै एक अर्काको अनुहार र पुछ्दै आँसु
विछोडिएका थिए उनीहरू ।

मानिसहरू प्रेम गर्छन् हृदयले र विछोडिन्छन् मस्तिष्कले
तर जति नै पुरानो भए पनि शब्द
संसारमा बाँकी रहनेछ प्रेम अनेकौँ शताब्दीसम्म
मात्र फेरिनेछन् प्रेमीहरू

एकपछि अर्को पदचिन्ह मेटिदै गए पनि
कोही न कोही हिँडिरहेकै हुनेछ यो प्रेमको बाटो
जुन भुँइमा खसेको थियो तिम्रो हाम्रो मनतातो आँसु
त्यही उभिएर रुनेछन् फेरि प्रेमीहरू कुनै दिन !

छुटेपछि सर्वथा उदास र मौन छ नायक
प्रत्येक सुन्दर र असल कुराले
झरीले वा साँझको घामले
तीजकी स्वास्नीमानिसले
छड्के पारेर लगाएका रातोपोतेजस्ता पहाडका गोरेटाले
सम्झना गराउँथ्यो उसलाई आफ्नो प्रेमको अनुहार
हासूँ ऊ होली विरहमा
रोऊँभने पोल्छ मेरो आँसुले उसलाई
जीवन कहिले एउटा लामो सजायजस्तो भोगेर
टोलाइरहन्थ्यो ऊ टाढाको क्षितिज हेर्दै

एउटा तीन घण्टाको नाटक वा चलचित्र बन्न नसक्ने
जीवन पनि के जीवन !

कतै एकान्त कुनामा खेल्दै आफ्ना पूर्वस्मृतिसँग
पिउँदै नोस्टाल्जियाको मद
हराउँदै आफ्नै एकालापमा बसिरहेछ नायक
यस्तोबेला खस्छ हरियो पर्दा रङ्गमञ्चमा
पृष्ठभूमिमा बज्छ मधुर सङ्गीत र सकिन्छ नाटक
थाहा छैन भेट्छन् कि भेट्दैनन् ती जोडी फेरि जीवनमा !
म ओर्लिन्छु नायकको मानस भूमिकाबाट
र फर्किन्छु दर्शकदीर्घाको आफ्नै सिटमा

अहो ! कसरी डुबेछु म नाटकका एक एक दृश्यमा
बाहिर अँध्यारो भइसकेछ
हिँड्छु गुन्गुनाउँदै बाटोको किनारै किनार
आँखाअघि नाचिरहेकै छन् नाटकका उनै दृश्यहरु
त्यहाँ समाहित थियो मैले गर्न बाँकी माया
र भोग्न बाँकी जिन्दगी
कसैलाई सुनाउन बाँकी कथा र रुन बाँकी आँसु

झस्काएर जान्छन् साइरनका नमीठा आवाजहरू
फेरि कहाँ फुट्यो बम वा मारिए निर्दोष नागरिकहरू
यो कस्तो सहरमा छु म – अचानक हत्या भयोभने नायकको
खबरसम्म हुनेछैन उसकी टाढाकी प्रेमिकालाई

पुनः दृश्यहरू जोडिन्छन् भर्खर हेरेको नाटकमै गएर
आफ्नैलागि परचक्री भइसकेको म
रातको सडकमा हिँड्दै सोचिरहेको छु
अर्कैले लेखेको नाटकमा संयोगान्त संलाप

तर भरिएको छ जीवन अनेक ट्रेजेडीहरूले !