भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

बुद्धमूर्तिअगाडि उभिएर / कुन्ता शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:58, 9 अक्टूबर 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


तिमी शान्त छौ,
मेरो मन
अशान्तिको आँधीमा अल्झिरहेको छ,
तिमी मौन छौ,
मेरो मन
कोलाहलको भुमरीमा हल्लिरहेको छ,
लामो समयदेखि
अपलक नियालिरहेकी छु म तिमीलाई ।
मेरो स्मृतिभरि छरिँदै–फैलिँदै
एउटा इतिहास ब्यूँझन लाग्छ बिस्तार–बिस्तारै
त्यहाँ एउटा सुन्दर राज्य खडा हुन्छ
भव्य राजभवनको दृश्य खडा हुन्छ
विलासिताको यथेष्ट सामग्री
अनि छताछुल्ल वैभव खडा हुन्छ
जहाँ प्रकृति निदाएकी हुन्छे
सूर्यलाई छातीमा टाँसेर
मुटुमा अनेकन् गाँठाहरू
कसिँदै फुस्कँदै गर्छन्
एकातिर मोह
छाती पिटीपिटी रोएको हुन्छ
अर्कोतिर सत्यको भोकले
आकाश छोएको हुन्छ
हो, शान्तिको कल्पतरू प्राप्तिका लागि
हिंसा र असत्यको समाप्तिका लागि
रात्रिको निस्तब्धतामा हलौँ पदचापहरूले
राजभवनका विशाल द्वारहरू नाघ्दै
यन्त्रवत् अघि बढ्छौ तिमी तपोवनतिर
सम्पूर्ण ध्यानलाई केन्द्रित गर्दै
पुनः नियाल्न लाग्छु म
योगनिद्रामा लीन तिम्रो मूर्तिलाई ।

तिमी अखण्ड शान्तिले आलोकित छौ
म अशान्तिको आँधीमा अल्झिरहेको छु
तिमी नभत्कने मौनतामा जडित छौ
म कोलाहलको भुमरीमा हल्लिरहेको छु
लामो समयदेखि अनवरत
घचघच्याइरहेको छु म तिमीलाई
प्रश्नैप्रश्नका छालहरू बोकेर
कचकचाइरहेको छु म तिमीलाई ।

खोइ कहाँ छ शान्ति ?
जताततै हिंसाको ज्वाला भड्किरहेको छ
छातीको निसाना लगाउँदै मानिसको
गल्ली–गल्लीमा बन्दुक पड्किरहेको छ
जन्डिसले आक्रान्त वसुदैव कुटुम्बकम्
दिनदिनै पहेलिँदै गएको छ
मानिस खोक्रो छ
अझ खोक्रँदै गएको छ
बाहिर बाक्लो बोक्रो छ
जो कृत्रिम रूपले टल्किरहेको छ ।

खोइ कहाँ छ शान्ति ?
शान्ति त भ्रान्तिको कुहिरामा हराएको छ
पर्चा, नारा र भाषणहरूमा
दिनदिनै विभाजित भएर
प्रस्ताव र समर्थनहरूमा
हरेक पल पराजित भएर
अस्तित्वहीन हुँदै गएको छ शान्ति
विस्मृतिमा लीन हुँदै गएको छ शान्ति ।

खोइ कहाँ छ शान्ति
मानिस निर्ममतापूर्वक
पेलिरहेको छ मानिसलाई
पतनका खाडलहरूमा
हालिरहेको छ मानिसलाई
निकृष्ट अहम् तुष्टिका लागि
दानवी सन्तुष्टिका लागि
मानिसको पसिनामा
पौडिरहेको छ मानिस
फूलजस्तो सपनामा
दौडिरहेको छ मानिस
मानव क्रन्दनमा
आनन्दित भइरहेछ मानिस
मानव संहारमा
प्रफुल्लित भइरहेछ मानिस ।

खोइ कहाँ छ शान्ति ?
म त खैलाबैलाको महासमर भोगिरहेकी छु
कहाँ बग्दै छ सुन्दर सरोवर सृजनाको ?
म त विध्वंसको पैरो खेपिरहेकी छु
हृदय जर्जर हुँदै भत्कँदै छ
आस्था सालाना उँधोतिर खस्कँदै छ
तिमी शान्ति भन्छौ
परिवेश सिंहजस्तो गर्जिरहेको छ
तिमी सृजना भन्छौ
परिस्थिति खण्डहर हुँदै गएको छ।

खोइ कहाँ छ शान्ति ?
कतै भोकले नीलो भएको छ मानिस
कतै ऐश्वर्यले पहेँलो भएको छ मानिस
मानिस–मानिसबीचको दूरी
अझ फैलँदै गएको छ
वैमनस्यताको विषम धुरी
अझ अग्लँदै गएको छ
मानिसको रगतले
प्यास मेटाउँदै छ मानिस
लतारेर जीवनलाई
बैठकमा नरकङ्काल सजाउँदै छ मानिस
उघारेर थुप्रै–थुप्रै शिरका ओतहरू
वातानुकूलित महलहरूमा
निदाउँदै छ मानिस
मानिस मानिसको प्रेम फुल्ने उर्वर भूमिमा
दिनदिनै रोडा ओछ्याउँदै छ मानिस ।

खोइ कहाँ छ शान्ति ?
उन्मत्तभैरव मानव–संहारमा
नाङ्गो खुँडा नचाउँदै छ
धरतीका कोमल–कोमल फाँटहरूमा
रगतको आहाल जमाउँदै छ
दूरदर्शन यन्त्रबाट सम्पन्न देश
अनिकालको विनाश नृत्य देख्ता आनन्दित हुँदै
सागरमा अन्न भण्डार खन्याउँदै छ
‘सर्वे भवन्तु सुखिनः’
पैतालामुनि थिचिएको छ
‘सर्वे सन्तु निरामया’
ठूलो ढुङ्गामुनि किचिएको छ
स्वार्थका नगरीहरूमा
निस्वार्थका पदचापहरूले टेक्तै
मानवतालाई अग्लो चुलीबाट खस्नदेखि रोक्तै
फुकालेर पद्मासनहरू
फेरि पनि ब्यूँझनुपर्छ एकपल्ट तिमीले
पुनः कर्मक्षेत्रमा उत्रनुपर्छ तिमीले ।

खोइ कहाँ छ शान्ति ?
स्थिति विषाक्त हुँदै गएको छ
मानिसलाई हिलो छ्याप्न उतर्सिन्छ मानिस
मानिस देख्ता झसङ्ग तर्सिन्छ मानिस
मानिस कतै आगोजस्तो भर्भराइरहेको छ
मानिस कतै आँधीजस्तो हुनहुनाइरहेको छ
चोटहरूले थङथिलो भएपछि
यन्त्रणाले कालोनीलो भएपछि
यन्त्रवत् शान्तिगीत
कसरी गाउन सक्छ मानिस
विश्रान्तिको मीठो निद
कसरी पाउन सक्छ मानिस
खोइ कहाँ छ शान्ति ?

म बारम्बार आफ्ना स्वरहरू चर्काउँदै छु
मौन घण्टहरू बजाएर तिम्रो स्तूप थर्काउँदै छु
ब्यूँझ तिमी पुनः एकपल्ट ब्यूँझ
नाङ्गो झुप्रोमा होस् या भव्य महलमा ब्यूँझ
असमानता र बर्बरताको विरोध गर्दै
‘बहुजनहिताय’ को संरक्षणमा ब्यूँझ
मानिस–मानिसलाई अलग्याउने
पापी ढिस्को फोर्नलाई ब्यूँझ
शीतलहरले कक्रँदै गरेको मानिसका लागि
प्रज्वलित अग्निकुण्डहरू लिएर ब्यूँझ
ब्यूँझ सङ्घर्षका यामहरूमा ब्यूँझ
जुझारूका लामहरूमा ब्यूँझ ।