भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

बौवाजी मिश्र कविता लेख्न चाहँदैनन् / कुन्ता शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:54, 9 अक्टूबर 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


बौवाजी मिश्र
विद्यालयका साधारण शिक्षक
‘क’ देखि ‘ज्ञ’ भन्दाभन्दै
अङ्क र दुनाई गुन्दागुन्दै
आधा उमेर हराइसकेका छन्
आतङ्कित छन् त्यसैले
आफ्नो भाव व्यक्त गर्न चाहँदैनन्
बौवाजी मिश्र कविता लेख्न चाहँदैनन् ।

त्यसो त उनी दिक्क छन्
यता हेर्योी यतै नमिलेको
उता हेर्योी उतै नमिलेको
समस्याहरूले मानिसलाई निलेको
चिन्ताले अरिँगालजस्तो भएर चिलेको
चिन्तित छन्, उद्वेलित छन्
कलम उठाउँछन्
शब्द र वाक्यहरूको माला गुथ्छन्
सुन्दर कविता लेख्छन्
अनि फेरि सन्त्रासको बादलले घेरिन्छन्
त्रसित–त्रसित हुन्छन्
कतै फुत्किहाल्ला कविता
र सल्केला जीवनको चिता
त्यसैले भावनामा प्वाख जड्न चाहँदैनन्
बौवाजी मिश्र कविता लेख्न चाहँदैनन् ।

उनी असन्तुलित हुँदै गएका छन्
भोगेर विकटता परिस्थितिको
विचलित हुँदै गएका छन्
छटपटाइरहेका छन्, लटपटिइरहेका छन्
लामोलामो सास फेर्छन्
चारैतिर सशङ्कित भएर हेर्छन्
चित्त नबुझे पनि पित्त पोख्न जान्दैनन्
बौवाजी मिश्र कविता लेख्न चाहँदैनन् ।

चक धुलिएजस्तो धुलिँदै छन्
डस्टर खिइएजस्तो खिइँदै छन्
पग्लँदै चुहिँदै यौवन झरिसक्यो
साहसले शिर नुहाउँदै लाचार बनिसक्यो
परिस्थितिका विकटताहरू
चडकनजस्ता भएर बर्सँदै छन्
आफ्नो अनुभूतिसँग आफैँ तर्सँदै छन्
मन लाग्दालाग्दै पनि साँचो बोल्न चाहँदैनन्
बौवाजी मिश्र कविता लेख्न चाहँदैनन् ।

शिल्प सुन्दर छ
सशक्त छ उडान भावनाको
अभिव्यक्ति गहन छ
तर पनि हप्काइ खाँदा छन्, दप्काइ सुन्दा छन्
गह रसाउँछ, मुटुमा भक्कानो पर्दछ
चुपचाप–चुपचाप केही गुन्दा छन्
“नचुँडियोस् जीवन–चङ्गा” यही सोचले
चिन्ताको गङ्गामा डुब्दा छन्
मनको भाव अभिव्यक्त गर्न चाहँदैनन्
बौवाजी मिश्र कविता लेख्न चाहँदैनन् ।

उनी यन्त्र भइसकेका छन्
थिचिएर त्रासको ठूलो ढुङ्गाले
परतन्त्र भइसकेका छन्
नचिनेर आफूभित्रको शक्ति
कान्तिहीन भइसकेका छन्
पिल्सिँदै छन्, अशान्त हुँदै छन्
आफ्नो कवितासँग आफैँ डराउने गर्छन्
लेख्छन् सशक्त कविता तर धुल्याउने गर्छन्
थाहा नपाओस् आफ्नो असन्तुष्टि कसैले
यस्तै सोच्ने गर्छन्
फेरि लेख्छन् अनि फेरि पढ्छन्
फेरि च्यातेर कविता
रद्दीको टोकरीतिर बढ्छन्
मनको भावना देखाउन चाहँदैनन्
बौवाजी मिश्र कविता लेख्न चाहँदैनन् ।