भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

मनको गीत / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:16, 10 मई 2019 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

 
 
फुटूँ म आफूबाट
टुक्रियूँ मेरो सम्पूर्णताका एकएक अवयवहरूमा

बाँचूँ सबै टुक्रामा पूर्णताले।
 
यावत टुक्रा जोडिएर बनेको
यो मले
बाँच्न सकेन कुनै भाग पनि
धक फुकाएर।
 
आफूबाट फुकालेर आफ्ना निर्मितिहरू
देखाइदिऊँ विनिर्माणको एउटा साक्षात् नमूना
डेरिडालाई।
मबाट भत्किएको एक अंश, एउटा मान्छे
हिँडिरहोस् सडकमा लम्र्याङ्लउम्य्राङ्‍,
बोलिरहोस् अज्ञानले भरिपूर्ण भएर सभाहरूमा,
दुनियाँका तमाम खबरहरू हालेर मथिङ्गलमा
समीक्षा गरिरहोस् र कराइरहोस् भीडहरू माझ,
निमग्न रहोस् आफ्नो लघुताको पूर्णतामा।
 
अर्को घोरिइरहोस्
व्यापारका हिसाबकिताब र
कर्मचारीका व्यक्तिगत फाइलहरूमा।
एउटा पढिरहोस्
एउटा केटाकेटी खेलाइरहोस्
एउटा प्रेममा पौडिरहोस् आजीवन।
 
मलाई मन नपरेको एउटा टुक्रो म
कतै कोठाभित्र थुन्निइरहोस्।
 
एउटा चोइटो
घरका भित्री आवरण सिँगार्न र
आवश्यकताका भोक मेटाउन लागोस्।
भ्याउँदैन भने टुक्र्‌याओस् आफूलाई अझै
तरकारी, मसलन्द, लत्ताकपडा
इन्धन र अरू लठिबज्र हेर्ने
ठेकेदार मान्छेहरूमा।
एउटा भाग
मबाटै टुक्रिएको भन्नेसमेत बिर्सेर
हाकिमका हरेक मुर्ख्याईँमा थपडी बजाइरहोस्
हल्लाइरहोस् टाउको र
व्यस्त रहोस् कठपुतली चालहरूमा।
 
एउटाले जिम्मा लेओस्
टेलिभिजन, रेडियो र अखवारहरू।
 
आफन्त र परिचितहरूका हालखबर घोकेर बसोस् एउटा
सन्चोबिसन्चोका औपचारिकता पुर्‍याइरहोस्
कहाँ?, के?, कसो?का चासोहरूमा रुमल्लिरहोस्
सोर्होसंस्कार र जन्मदिनहरूमा सहभागिता जनाइरहोस्।
 
अर्को
आफ्ना गतिहीनताका अ-खबरहरू भट्याइरहोस्।
गोष्ठि, जमघट र केजातिहुँधो धाइरहोस्।
 
एक साँझ
भेला गरेर सबै आफूहरूलाई
एउटा समानुपातिक सम्मेलन गराऊँ।
अरूलाई छाडिराखेर गन्जागोलको निरर्थक बहसमा,
निस्कूँ
कविलाई लिएर।
मेरो कवि
सम्पूर्णतामा कवि नै रहोस्
नटाँसियोस् अभावले भरिएको मेरो गृहस्थसँग।
अलग रहोस्
स्वाभिमान बेचेको मेरो जागिरेसँग।
छुट्टियोस्
मस्तिष्कले थिचिराखेको मेरो जीवबाट।
 
कविलाई हालेर आफूभित्र सम्पूर्णतामा

कविताको पत्रबाट
समयको खोल झिकेर फ्याँकूँ
उक्काऊँ भूगोलका डिलहरू।
फुटाऊँ चेतनाका झ्यालढोका
भत्काऊँ विपनाका खण्डहरहरू र
निस्कूँ सपनाको उज्यालातिर।
 
जीवन आफ्नै अँगालामा लठ्ठिइरहोस्
प्रेमको नदी आफ्नै काखबाट बगिरहोस्
वेदना मेरो प्रेमगीत गाएर मात्तिइरहोस्
पीरको लास फूलको सिरानीमा निदाइरहोस्।
 
ज्ञानको जालोबाट फुत्किऊँ
भागूँ यो विचारहरूको जङ्गलबाट
समयको यस आँख्लामा टेकेर
भ्रमको पहाडबाट फालहानूँ मनको वेगमा।
तमाम आविस्कारहरूलाई बोरामा कसी
लुकाइदिऊँ आइन्सटाइनहरूका मस्तिष्कका कुनाहरूमा।
 
सँधै थिचिरहने आफ्नै छातीबाट निस्किऊँ
मगजलाई देउरालीमा फुसर्तले थिचिराखेर
पसूँ कल्पनाको बगैँचामा।
 
लाजको आवरण सीमाना मै फुकाली
आडम्वरको थाङ्‍ग्रामा टाँगिराखेर
घामका किरण पहिरिएर दौडिऊँ।
 
बादल बटुलेर मैदान बनाऊँ
इन्द्रेणी टाँगेर सिगारूँ।
 
हावाको भकुण्डो खेल्दै
नहिँडेको बाटाको पल्लो छेऊ पुगी
रोबर्ट फ्रोस्टलार्इ हात समातेर बोलाऊँ र
दुनियाँतिर फर्किएर प्रलाप सुनाउन आग्रह गरूँ
गिन्सबर्गलाई।
 
प्रभूको वर पाएर
निमग्न उग्राइरहेका देवकोटासित
तिमी महाकवि हौ भनी
बाजी थापूँ र
जितूँ एक झोला ताराहरू।
बौलाहाको सपनाजस्तै यस घर्तीको भविष्यसँग
साटूँ इलियटको बाँझो भूमि र
रहरको कलमले जोतेर
एक बाली कविताको खेती गरूँ।
 
यावत् टुक्रा मिसिएर बनेको
यो मले
गर्न सकेन कुनै उपलब्धि।
 
फूटूँ म आफूबाट र
केवल
कविलाई लिएर बाँचूँ।